आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

संखुवासभा सामूहिक हत्या प्रकरण: ४ जना पुर्पक्षका लागि जेल चलान, नाबालकलाई सुधारगृह पठाइयो

सोमबार, १८ असोज २०७८, २२ : २३
सोमबार, १८ असोज २०७८

संखुवासभाको मादी नगरपालिका–१, उम्लिङमा भदौ २१ गते भएको सामूहिक हत्याकाण्डका अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । संखुवासभा जिल्ला अदालतले ५ जना अभियुक्तमध्ये ४ जनालाई जेल चलान तथा एक नाबालकलाई सुधारगृह पठाउने आदेश दिएको हो ।

गत भदौ २१ गते उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जना सदस्यको हत्या भएको थियो । सुरुमा हत्यामा संलग्न भन्दै भतिजा लोकबहादुर कार्की पक्राउ परेका थिए । पछि कार्कीले अन्य अभियुक्तलाई पनि पोलेपछि हत्यामा अन्य व्यक्तिको पनि संलग्नता खुलेको थियो ।

संखुवासभा प्रहरीले करिब २० दिन अनुसन्धान गरी असोज १५ गते जिल्ला सरकारी वकिल कार्यालयमार्फत संखुवासभा जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो । त्यसपछि सुरु भएको थुनछेक बहस सोमबार सकिएपछि अभियुक्तमध्ये लोकबहादुर कार्की, खड्गबहादुर कार्की, हस्तबहादुर कार्की र रणबहादुर कार्कीलाई पुर्पक्षका लागि जेलमा पठाउने आदेश भएको हो । घटनामा संलग्न अर्का अभियुक्तको उमेर भने १७ वर्ष मात्रै भएको कारण उनलाई भने बाल सुधार गृहमै राखेर मुद्दाको पुर्पक्ष गरिने भएको छ ।

संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीका अनुसार अभियुक्तहरूले प्रहरी र अधिकारप्राप्त अधिकारीसमक्ष आफ्नो अपराध स्वीकार गरी एकै मिलानको बयान दिएका थिए । तत्काल प्राप्त प्रमाणबाट उनीहरु कसूरदार देखिएको भन्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश भएको डिएसपी सुवेदीले रातोपाटीलाई बताए ।

भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, आठ वर्षका नाति विपिन कार्की र पाँच वर्षीया नातिनी गोमा कार्कीको चिर्पट तथा चक्कु प्रहार गरी हत्या भएको थियो । घटनाको मुख्य योजनाकार स्थानीय खड्गबहादुर कार्की रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप