आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशले एकाएक किन लिए गजेन्द्र हमालको नाम ?

नातेदार गजेन्द्र हमाल बन्लान् त मन्त्री ?
सोमबार, १८ असोज २०७८, १६ : ४५
सोमबार, १८ असोज २०७८

आइतबार साँझ एकाएक एउटा समाचार बाहिरियो, ‘प्रधानन्यायाधीशले मन्त्रीमा कोटा खोजे ।’ मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशले पनि भाग खोजेको र त्यसका लागि दुईजनाको नाम सिफारिस गरेको सूचना उच्च राजनीतिक नेतृत्वबाटै सञ्चार माध्यमलाई चुहाइयो । मन्त्रीका लागि सिफारिस गरिएका पात्र प्रधानन्यायाधीशसँग निकट सम्बन्ध रहेका दीपक तिमिल्सिना मन्त्री बन्न लागेको समाचार बाहिर आयो, जुन समाचारको सर्वोच्च अदालतले खण्डन गरेको छ ।

संसद विघटनको निर्णय उल्टाउँदै परमादेशबाट सरकार गठन गर्ने आदेश दिएको बदलामा प्रधानन्यायाधीशले मन्त्रीको कोटा मागेको समाचार बाहिरिएसँगै सोमबार प्रकाशित अधिकांश दैनिक पत्रिकाले पनि सोही विषयको समाचार प्रकाशन गरे । शक्ति पृथकीकरणको सिद्धान्त विपरीत न्यायपालिका प्रमुखले मन्त्रिपरिषद्मा पनि हिस्सा खोजेको चर्चा चुलिएसँगै सोमबार बिहानै सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीशलाई भेटे ।

समाचारमा बाहिर आएको विषय के हो ? तपाइँले पनि हिस्सा खोज्नुभएको हो ? कसैलाई सिफारिस गर्नुभएको हो भन्दै वकिलहरूले प्रधानन्यायाधीशलाई र्‌याखर्‌याखती पारे । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारी सम्मिलित टोलीले र्‌याखर्‌याखती पारेपछि प्रधानन्यायाधीशले भने, ‘म शक्ति पृथकीकरणको सिद्धान्तमा प्रतिवद्ध छु, कसैलाई सिफारिस गर्ने कुरा पनि भएन र गरेको पनि छैन ।’

समाचारको खण्डन गर्नुहुन्छ कि गर्नुहुँदैन भन्ने पदाधिकारीको जिज्ञासामा प्रधानन्यायाधीशले समाचारको खण्डन गर्ने प्रतिवद्धता जनाए । तर, अचम्मको कुरा, भावी मन्त्रीका रुपमा सर्वोच्चमा आइटी विज्ञका रुपमा चिनिएका दीपक तिमल्सिनाको मात्रै नाम बाहिर आइरहेका बेला प्रधानन्यायाधीशले एकाएक अर्का पात्रको पनि नाम लिए । ती पात्र थिए– बाँकेका गजेन्द्र हमाल ।

सर्वोच्च बारका पदाधिकारीसँग प्रधानन्यायाधीशले भनेका थिए, ‘दीपकको त नाम आयो नै । त्यसबाहेक अर्को गजेन्द्र हमालको पनि नाम आयो । गजेन्द्र भन्या त शेरबहादुर सरहको काँग्रेसको नेता हो नि । उसको नामसँग मलाई जोड्नुपर्छ र ? उसलाई मैले मन्त्री बनाउनुपर्छ र ? मैले बनाएर कोही मन्त्री बन्छ र ?’

नेपाली काँग्रेस बाँकेका नेता हमाल यतिबेला संघीय सांसदसमेत छैनन् । तर, एकाएक मन्त्रीका रुपमा हमालको हल्ला चलेको विषय प्रधानन्यायाधीश आफैले निकाले । जतिबेलासम्म हमालको चर्चा कहीँ कतै थिएन । तर, प्रधानन्यायाधीश आफैले गजेन्द्र हमालको नाम लिएपछि सर्वोच्च बारका पदाधिकारी पनि एकछिन अलमलमा परे । प्रधानन्यायाधीश आफैले हमालको नाम किन लिए भनेर मुखामुख गरे ।

प्रधानन्यायाधीश र हमालबीच यस्तो छ नाता

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र बाँकेका काँग्रेस नेता गजेन्द्र हमालबीच पारिवारिक नातासम्बन्ध पनि रहेको पाइएको छ । प्रधानन्यायाधीश जबरा र हमालबीच ज्वाईँ–जेठानको सम्बन्ध रहेको हमालको पारिवारिक स्रोतले रातोपाटीलाई बतायो । स्रोतका अनुसार प्रधानन्यायाधीशले नाम लिएका गजेन्द्र हमाल नाताले चोलेन्द्र शमशेर जबराका जेठान हुन् । जबराले गजेन्द्रकी बहिनीसँग पहिलो विवाह गरेका थिए । उनको निधनपछि जबराले दोस्रो विवाह गरेका थिए ।

हमालसँग प्रधानमन्त्री शेरबहादुर देउवाको पनि ससुरालीतर्फको नाता जोडिएको छ ।

गजेन्द्र भन्छन्– ‘मन्त्री बन्न प्रधानन्यायाधीशको सिफारिस चाहिँदैन’

प्रधानन्यायाधीशले एकाएक गजेन्द्र हमालको नाम लिएपछि हामीले हमालसँग सम्पर्क गर्ने कोशिस ग¥यौँ । तर, हमालले बिरामी भएका कारण घरमै सुतिरहेको बताए । हमालसँग प्रत्यक्ष कुराकानी हुन नसके पनि हमालकै आफन्तलाई हामीले ‘प्रधानन्यायाधीशले हमाललाई मन्त्रीका रुपमा सिफारिस गर्नुभएको चर्चा चल्यो के हो’ भनेर सोधेका थियौँ । जवाफमा उनले आफूलाई मन्त्री बन्न प्रधानन्यायाधीशको सिफारिस नचाहिने भन्दै चाहेमा मन्त्री बन्न कुनै कठिनाई नभएको बताए ।

हमालको भनाइ उद्धृत गर्दै उनका आफन्तले भने, ‘उहाँ नेपाली काँग्रेस बाँकेको दुईपटक सभापति भइसक्नुभएको व्यक्ति हो । नेविसंघमा पनि उहाँ महामन्त्री भई लामो समय काँग्रेसको राजनीति गर्नुभएको व्यक्ति हुनुहुन्छ । शेरबहादुर देउवाले काँग्रेस पार्टी फुटाउँदा बाँकेमा देउवालाई साथ दिनुभएको व्यक्ति हो । त्यसकारण उहाँको सम्बन्ध प्रधानमन्त्रीसँग राम्रो छ । उहाँले मन्त्री बन्न चाहेमा सोझै प्रधानमन्त्रीलाई भन्नुहुन्छ, प्रधानन्यायाधीशमार्फत जानुपर्दैन ।’

पारिवारिक सम्बन्धका विषयमा कुरा गर्दा एउटै समाज, देशमा बसेपछि पारिवारिक सम्बन्ध गाँसिने भन्दै पारिवारिक सम्बन्ध र हल्ला वा चर्चाको विषय जोड्नु उपयुक्त नहुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप