आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

८ जिल्लामा काँग्रेसको नयाँ कार्यसमिति : देउवा र पौडेल बराबर

पौडेलले २ र सिटौलाले १ जिल्लामा गुमाए नेतृत्व
सोमबार, १८ असोज २०७८, १२ : ५७
सोमबार, १८ असोज २०७८

नेपाली काँग्रेसका १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनको मत परिणाम आउने क्रम जारी छ । असोज १५ गतेदेखि हिमाली जिल्लाहरुमा सुरु भएको जिल्ला अधिवेशनको परिणाम आइरहेको छ । हिमाली २१ मध्ये १९ जिल्लामा दसैँअघि नै जिल्ला अधिवेशन सक्ने काँग्रेसको तयारी छ । सोही अनुसार अहिलेसम्म ८ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ ।

जसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ४–४ जिल्लामा नेतृत्व हात पारेको छ । ८ वटा जिल्लाको परिणाम आउँदा पौडेल पक्षले १३ औं महाधिवेशनताका जितेका दुई जिल्ला गुमाएको छ । ताप्लेजुङ र रामेछापमा यसपटक देउवा पक्षले जितेको हो ।

यद्यपि १३ औं महाधिवेशनपछि सिटौला समूहमा पुगेका कालिकोटमा पौडेल पक्षको नेतृत्व आएको छ ।

देउवा समूह निर्वाचित जिल्ला

ताप्लेजुङ

काँग्रेस ताप्लेजुङको सभापतिमा देउवा पक्षका गजेन्द्रप्रसाद तुम्याहाङ निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनबाट तुम्याहाङ जिल्लाको नेतृत्वमा पुगेका हुन् । तुम्याहाङले पार्टीका पूर्वसचिवसमेत रहेका छविलाल गुरुङलाई पराजित गरेका थिए । यसअघि ताप्लेजुङको सभापतिमा पौडेल पक्षकी लीला बोखिम सभापति थिइन् ।

मनाङ

काँग्रेस मनाङको सभापतिमा देउवा पक्षका शंकर गुरुङ निर्वाचित भएका छन् । दुई कार्यकाल मनाङको नेतृत्व सम्हालेका देउवा निकट टेकबहादुर गुरुङ जिल्ला राजनीतिबाट रिङआउट भएका छन् । तेस्रो पटक सभापति हुन पार्टी विधानले रोकेपछि शंकर सर्वसम्मत सभापति बनेका छन् ।

हुम्ला

हुम्लामा देउवा समूहमा मोहनविक्रम सिंह जिल्ला सभापति चयन भएका छन् । देउवा  निकट  सभापति जयपति रोकाया पनि जिल्ला राजनीतिबाट बाहिरिएपछि सिंह नेतृत्वमा आएका हुन् ।

रामेछाप

काँग्रेस रामेछापको सभापतिमा पूर्णबहादुर (कान्छाराम) तामाङ निर्वाचित भएका छन् । पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएका तामाङलाई दोस्रो मत ल्याएका लवश्री न्यौपानेले समर्थन गरेपछि उनी सभापति बनेका छन् । तामाङले पौडेल पक्ष निकट वर्तमान पार्टी सभापति लवश्री न्यौपानबाट जिल्लाको नेतृत्व देउवा समूहमा पुर्याएका छन् ।

पौडेल समूह निर्वाचित जिल्ला

कालीकोट

नेपाली कालिकोटको जिल्ला सभापतिमा अम्मबहादुर शाही सर्वसम्मत चयन भएका छन् ।  सिटौला निकट हर्षबहादुर बमलाई विस्थापित गरी पौडेल समूहका शाही जिल्लाको नेतृत्वमा पुगेका हुन् ।

मुस्ताङ

नेपाली काँग्रेस मुस्ताङको सभापतिमा रोमी गौचन थकाली सर्वसम्मत निर्वाचित भएका छन् । मुस्ताङमा काँग्रेस सभापति याङजिङ विष्टको ठाउँमा थकाली आएका छन् । उनीहरु दुबै जना पौडेल निकट हुन् ।

रुकुम पूर्व

नेपाली काँग्रेस रुकुम पूर्वको सभापतिमा पौडेल पक्षका केशरमान रोका दोहोरिएका छन् । राज्य पुनर्संरचना अनुसार रुकुम पूर्व र पश्चिममा विभाजित भएपछि रोका रुकुम पूर्वको सभापति बनेका थिए ।

संखुवासभा

काँग्रेस संखुवासभाको सभापतिमा दिपक खड्का निर्वाचित भएका छन् । खड्काले देउवा निकट राईमान राईलाई भारी मतान्तरले पराजित गराएका थिए । यसअघि पौडेल पक्षका दीपनकुमार श्रेष्ठ संखुवासभाको सभापति थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप