बालसंसार

नीतिकथा : धुन्धुकारीले नरकमा समेत बास नपाउनुको कारण

person explore access_timeअसोज १८, २०७८ chat_bubble_outline0

​धुन्धुकारीको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ, जो अत्यन्त खलपात्रको रूपमा चिनिन्छन् । अहिले पनि कुनै दुर्जन व्यक्तिको उदाहरण दिनुप¥यो भने उनकै नाम लिने गरिन्छ तर उनी को थिए र कसरी त्यति ठूलो दुर्जन बन्न पुगे भन्ने कुरा भने थाहा नहुन सक्छ । त्यसैले यहाँ उनकै कथा प्रस्तुत गरिएको छ । कथा निकै पुरानो हो । अघि कुनै समयमा एउटा गाउँमा आत्मदेव नामका सज्जन बस्थे । उनकी पत्नीको नाम धुन्धुली थियो । आत्मदेव सज्जन थिए, ज्ञानी, गुणी र विवेकी त्यत्तिकै तर धुन्धुली भने त्यसको ठीक विपरीतमा पर्थिन् । उनी स्वभावकी थिइन् । चाहिने काम नगर्ने नचाहिने काममा तीन बित्ता अगाडि पुग्ने । दिनभर गाउँ डुलेर अरुको कुरा काट्ने र एउटाको कुरा अर्कोलाई लगाएर झगडा पार्नु उनको विशेषता थियो ।

लामो समयसम्म पनि सन्तान नभएकाले आत्मदेव निकै चिन्तित थिए । सन्तानका लागि तीर्थ, व्रत, यज्ञ अनुष्ठान पनि गरे । वैद्य, कविराज, धामी, झाँक्री, जान्नेसुन्नेलाई पनि देखाए । तैपनि सन्तान भएनन् । घरकी जहान खराब थिइन् भने सन्तान एउटै थिएनन् । त्यसैले विरक्तिएर एकदिन आत्मदेव घर छाडेर हिँडे । निकै दिनको हिँडाइपछि एउटा चौतारोमा बसेर सुस्ताइरहेको बेला एउटा सन्यासीले आएर सोधे–

‘आत्मदेव ! निकै चिन्तित देखिन्छौ नि ? के प-यो त्यस्तो ?’

बिरानो स्थानमा नाम लिएर बोलाएको सुन्दा आत्मदेवलाई आश्चर्य लाग्यो । टाउको उठाएर हेरे । अगाडि लठ्ठी टेकेर उभिएका वृद्ध सन्यासी रहेछन् । त्यसपछि उनले मलीन स्वरमा भने–

‘हो महाशय ! चिन्तित छु, चिन्ताकै कारण घरबास छाडेर हिँडेको हुँ ।’

‘घरबास छाड्दैमा चिन्ताले छाड्ने हो र ?’ आत्मदेवको आशय बुझ्ने प्रयास गर्दै सन्यासीले भने–

‘चिन्ताले चाडै नै चितामा पु¥याउने बाहेक केही गर्दैन बुझ्यौ ? कसरी भन्न सक्छौ कि समस्या घरबासकै हो भनेर ? लौ मानौँ एकछिन समस्या घरबासमै रहेछ रे । त्यसो हो भने त झन् समाधान पनि घरबासमै खोज्नुपर्ने हुन्छ एकातिरको समस्याको समाधान अर्कोतिर खोज्नु भनेको भित्र हराएको सियो बाहिर खोज्नुजस्तै हो भन्ने थाहा छ कि छैन ?’

कुरा सुन्दा सन्यासी निकै माथिल्लो स्तरका जस्ता लागेकाले आशावादी हुँदै आत्मदेवले भने–

‘होला महाशय ! नभए पनि तपाईँले भन्नुभएपछि हो तर के गर्ने समस्या नै त्यस्तै छ । अहिलेसम्म एउटै सन्तान भएका छैनन् । न छोरा छन् न छोरी, जसले गर्दा मलाई देवता र पितृले समेत मन पराउँदैनन् । निःसन्तान भन्छन् परपर हुन्छन् । त्यसैले विरक्तिएर हिँडेको हुँ । तपाईँलाई भेटेपछि ढुङ्गो खोज्दा देवता मिलेजस्तो लाग्यो । जसरी पनि एउटा सन्तान हुने उपाय बताइदिनुप¥यो ।’

आत्मदेवको दुःख बुझेर सन्यासीले एउटा फल दिँदै भने–

‘तिम्रो भाग्यमा कुनै सन्तान लेखिएको छ जस्तो त लाग्दैन । यो फल लगेर जहानलाई खान दिनु तैपनि कुनै उपाय लाग्छ कि ?’

आत्मदेवले फल ल्याएर धुन्धुलीलार्ई दिए तर उनको स्वाभाव विपरीत थियो । पतिले जे भन्थे त्यसको ठीक विपरीत गर्थिन् । यहाँ पनि त्यस्तै गरिन् । पतिले गर्भ रहन्छरे भन्दै फल खान भनेका थिए तर उनले भने फल लगेर गाईलाई दिइन् र गर्भ रहेको अभिनय गर्न थालिन् ।

दस महिनापछि आपसी सहमति अनुसार बहिनीले भरखर जन्मेको बच्चा ल्याएर दिइन् सुत्केरीको खानकी खान भने उनले थालिन् । विचरा आत्मदेवले घरभित्रकै यति ठूलो षड्यन्त्र पत्तै पाएनन् । ठीक त्यही बेला गाईले पनि मान्छेजस्तै बच्चा जन्माइन् । आत्मदेवको घरमा एकैसाथ डबल खुसी भित्रियो । श्रीमती पनि सुत्केरी भइन् गाई पनि व्याइन् । आत्मदेवले दुवै बालकको न्वारन गरी छोराको नाम धुन्धुकारी र गाईको छोराको नाम गोकर्ण राखे ।

दुवै बालक सँगसँगै हुर्कँदै गए तर धुन्धुकारी मूर्ख र गोकर्ण ज्ञानी भएर निस्के । सङ्गत पनि त्यस्तै गर्न थाले । जबान हुँदासम्म धुन्धुकारी निकै मूर्ख र गोकर्ण महान् ज्ञानी भइसकेका थिए । आत्मदेवले धुन्धुकारीलाई सुधार्न निकै प्रयास गरे तर केही लागेन । उल्टै झगडा, मारपीट गर्न थाले । छोराको अत्याचार सहन नसकेर ६० वर्षको उमेरमा आत्मदेव घर छाडेर हिँडे । गोकर्ण पनि तीर्थ यात्रा जान्छु भन्दै हिँडे । घरमा बाबु नभएपछि धुन्धुकारीको थप बढ्दै गयो । आमालाई हप्काइ दप्काइ गरी पैसा असुलेर मोजमस्ती गर्न थाले ।

विचरीले घरमा छउन्जेल दिइन् । धुन्धुकारीले फकाएर पनि लिए, हप्काएर पनि लिए । घरमै सकिएपछि के दिने । मागेको नपाएपछि आमालाई नै लाठीमुङ्ग्री गर्न थाले ।  धुन्धुली सकुन्जेल अत्याचार सहेर बसिन् तर सहने पनि कति । एकदिन होइन दुईदिन होइन । अति भएपछि एकदिन साँझ गहिरो कुवामा फाल हालेर आत्महत्या गरिन् ।

त्यसपछि धुन्धुकारीलाई अल्झाउने बिझाउने केही भएन । पाँचवटा केटीलाई एकैसाथ घरमा ल्याए । केटी त ल्याए तर पाल्ने कसरी । आम्दानी फुटेको कोडी थिएन । त्यसपछि चोरी, डकैती, लुटपाट गर्न थाले । पत्नीहरू अनेक माग राख्थे उनी चोरी, डकैती गरी पूरा गर्थे ।

एकदिन धुन्धुकारीको पापको घडा यति बढी भरियो कि पाँचवटी केटीहरूले धुन्धुकारीलाई झुक्याएर मारे र लास मझेरीमा गाडेर हिँडे । उनीहरू कता गए थाहा भएन तर धुन्धुकारीले भने उग्र पापका कारण नरकमा समेत बास पाएनन् ।

अपराधीहरूले जेलको हावा खानुपर्छ तर कैद भुक्तान भएपछि अपराध पनि कटनी हुन्छ । धर्मशास्त्रमा उल्लेख भए अनुसार पापीहरूको अवस्था पनि त्यस्तै हो । उनीहरूले नरक जानु त पर्छ तर नरकको बासपछि पाप पनि कटनी हुन्छ र एकदिन मुक्ति पाउँछन् तर कोही उग्र पापी रहेछन् भने उनीहरूले नरकमा पनि बास पाउँदैनन्, जसको कारण पाप पनि काटनी हुँदैन र अनन्त कालसम्म प्रेतवायु बनेर अन्तरिक्षमा भड्किनुपर्ने हुन्छ । धुन्धुकारीलाई पनि त्यस्तै भएको थियो ।  

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।