शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा ट्राफिक प्रहरीको यस्तो छ चाडपर्व सुरक्षा योजना

सोमबार, १८ असोज २०७८, १० : ३०
सोमबार, १८ असोज २०७८

हिन्दु धर्मावलम्बीको महान् चाड बडा दसैँ, तिहार लगायतलाई लक्षित गरेर ट्राफिक प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडपर्व नजिकिएसँगै गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेर तीन सयको संख्यामा प्रहरी परिचालन गर्दै सुरक्षा योजना कार्यान्वयनमा ल्याउन लागेको हो । विजयादशमी, दीपावली, छठ लगायतका पर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरीले सुरक्षा योजना कार्यान्वयनमा ल्याएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराका प्रमुख एवं एसपी प्रभु ढकालले जानकारी दिए ।

उनले चाडपर्वमा सवारी दुर्घटनासँगै सवारी नियम उल्लंघनका घटनासमेत वृद्धि हुन सक्ने भएकाले त्यस्ता घटनालाई समयमै नियन्त्रण गरी सुरक्षित रुपमा चाडपर्व मनाउन र कोरोना महामारीको जोखिम न्यूनीकरण गर्न सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको बताए ।

एसपी ढकालले गण्डकी प्रदेशका ११ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई सुरक्षा योजना कार्यान्वयन गर्न निर्देशन दिएको बताए । ‘चाडपर्व लक्षित सुरक्षा योजनाले चाडपर्वमा हुने सवारी दुर्घटना न्यूनीकरणसँगै सडक प्रयोग गर्दा पालना गर्नुपर्ने नियमका सन्दर्भमा जनचेतना विकास गर्ने छ,’ उनले भने, ‘यसले सवारी साधनको प्रयोग गरी हुने अपराधलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने छ ।’

सुरक्षा योजना कार्यान्वयनसँगै क्षमताभन्दा बढी यात्री तथा मालसामान ओसारपसार गर्न नदिने र यात्रीलाई ठगिनबाट जोगाउने लगायतका कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने एसपी ढकालले बताए । विशेष सुरक्षा योजना अन्तर्गत ३०३ जना प्रहरी खटाएर प्रदेशका ६७ ठाउँमा स्थायी डिउटी, ५१ स्थानमा नियमित चेकिङ, २८ स्थानमा मापसे चेकिङ, २६ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिने उनको भनाइ छ ।

त्यसैगरी मोवाईल गस्ती १५ वटा, क्यूआरटी १२ टोली परिचालन, १६ वटा राजमार्ग गस्तीसहित थप १२ टोली परिचालन गरेर सुरक्षाको व्यवस्थापन गरिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप