शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जगजीतको संसारी यात्रा

गजल गायक जगजीत सिंहका आरोह अवरोह
सोमबार, १८ असोज २०७८, ०७ : ३८
सोमबार, १८ असोज २०७८


गजल गायनको इतिहासमा नयाँ प्रयोग गरेर आफूलाई जुगजुगसम्म स्थापित गराउन सफल गायक संगीतका र र सर्जक जगजीत सिंहले वास्तवमा उनको परिवर्तित नामअनुसार जगलाई जितेर नै देखाएको छ । हामी मध्ये गीतसंगीत मन पराउने सबैलाई जगजीत सिंहका गजल अवश्य पनि मन पर्छन् । हामीले उनको गजललाई जीवनका कतिपय मोडहरूमा दुरुस्तै आफैले भोगेका आरोह अवरोहसँग तुलना पनि गर्ने गरेको हुनुपर्छ ।

सर्जकहरूका सबै सिर्जनाहरू आफूले मात्रै नभएर अरूले जिएका जीवनहरू पनि महसुस गरेर लेखिएका हुन्छन् । तर केही सर्जकहरूको बारेमा बुझ्दै जाँदा किन त्यस्ता सिर्जनाहरू भएका होलान् भन्ने बुझ्न सहज हुँदो रहेछ । जगजीत सिंहका गजल गुनगुनाउन थालेको दशकौँ लामो समय भए पनि वास्तवमा उनको जिन्दगीबारेका झलक बुझ्न र थाहा पाउन उनले देह त्याग गरेको झण्डै दश वर्ष पछि मात्रै खोजको अवसर मिल्यो । अक्टोबर १० उनको पार्थिव शरीर हामी बीच नरहेको ठिक एक दशक पछि मैले विभिन्न माध्यमबाट सङ्कलन गरेका केही दृष्टान्तहरू प्रस्तुत गर्दै उनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु ।

अमरसिंह धिमान र बच्चन कौरका ११ सन्तानमध्ये ७ मा बाँकी रहे । चार छोरी र तीन छोराहरू मध्ये एक थिए जगमोहन सिंह धिमान । एकदिन पिताले उनलाई लिएर आफ्ना गुरुकहाँ पुगे । उनलाई देख्ने बित्तिकै  गुरुले यो बालकले संसारलाई कुनै तरिकाले जित्नेछ त्यसैले यसको नाम परिवर्तन गरी जगजीत सिंह राख्न सुझाए । नभन्दै स्वर संगीत मार्फत उनले सारा जगमा आफ्नो प्रभावमा फैलाउन सफल भए । सन् १९४१ फेब्रुवरी ८ मा जन्मेर सन् २०११ अक्टोबर १० मा अस्ताएका जगजीत सिंहले गाएका गजलहरू यो पृथ्वी रहुन्जेल अस्तित्वमा बजिरहनेछन् । उनलाई गायन र जीवनमा चित्रा सिंहले दिएको साथले पनि ठूलो महत्त्व राख्दछ ।

जीवनको शुरुवाती शिक्षा घरनजिकै खाल्सा हाईस्कूलबाट प्राप्त गरेका जगजीत सिंह बाल्यकालदेखि नै गीत संगीतमा रुचि राख्दथे । जालान्धरबाटै आर्ट विषयमा स्नातक पास गरेका जगजीतले थप अध्ययनको लागि कुरुक्षेत्र विश्वविद्यालय हरियाणामा एम.ए. पढ्न भर्ना भए । यसबीचमा उनले आफ्नो सांगीतीक शिक्षा पनि हासिल गर्दै गएका थिए । उनका बुवाको उत्साह र सहयोगमा मास्टर पण्डित छदमलाल शर्मा (जो दृष्टिविहीन् थिए) द्वारा भारतीय शास्त्रीय संगीत सिकेका थिए । त्यसपछि उत्साद जमाल खानबाट थप शिक्षा प्राप्त गरेका थिए । पिता सरकारी जागिरे भएको कारण छोरा पनि इन्जिनियर भएर जागिर खाओस् भन्ने चाहाना राख्दथे । उनले गीतसंगीतलाई नै मुख्य पेशा अपनाउँछ भन्ने अनुमान उनका बाबुआमाले लगाएका थिएनन् ।

उनको पहिलो सार्वजनिक कार्यक्रम कक्षा नौ मा अध्ययन गर्दागर्दै भएको थियो । त्यतिबेला उनको गीत मन पराएर कसैले दुई, कसैले पाँच रुपैयाँ बकस दिएका थिए । बुबा सरकारी जागिरे भए पनि पारिवारको सङ्ख्या ठूलो भएकोले उनी आफुलाई निम्नवर्गको भन्न रुचाउँथे । कलेज अध्ययन गर्दा त्यहाको प्रिन्सिपलले उनलाई संगीतमा समेत राम्रो ज्ञान भएको जेहेन्दार विद्यार्थी भएको कारण होस्टल र विद्यालयको सबै शुल्क मिनाहा गरिदिएका थिए । कलेज पढ्दाखेरी नै एउटा ठूलो कार्यक्रम जहाँ चार हजार भन्दा बढी दर्शक थिए गीत गाउँदा गाउँदै बिजुली गयो । तर खुसीको कुरा त्यतिबेला माइक सिस्टम भने ब्याट्रीले चल्ने खालको थियो । बत्ती नभएर अन्धकार हुँदापनि अन्तिम समयसम्म कोही कसैले हल्लाखल्ला नगरीकनै पूरा कार्यक्रम सफल बनेको थियो । उनी प्रायजसो तलक मेहमुद, अब्दुल करिम खान, बादे गुलाम अलि खान, अमीर खान, मोहमद रफी आदीका गीतहरू गाउन रुचाउँथे ।

उनको गायकीबाट प्रभावित भएर धेरै युवतीहरूले मन पराउँदथे । एक युवतीले त उनलाई हेर्न गजबकै उपाय अपनाएका थिइन् । उनी सधैँ साइकलमा तिनै युवतीको घर अगाडिबाट आउने जाने गर्दथे । युवतीले बाटोमा काँटी बिछ्याएर राख्ने रहेछिन् सधैँ त्यही पुगेर टायर पन्चर हुन्थ्यो । अनि मिस्त्री बोलाएर तयार बनाउञ्जेल धित मर्ने गरी भित्रबाट हेर्ने रहिछिन् । पछि यो कुरा थाहा पाएर उनकै बुबालाई साइकल बनाइदेऊ भनी जिम्मा लगाएछन् ।

अध्ययन गर्दागर्दै अल इंडिया रेडियो जालन्धर स्टेशनमा बि दर्जाको कलाकारको रूपमा थोरै पारिश्रमिकमा वर्षमा छवटालाई कार्यक्रममा गीत प्रस्तुत गर्ने अवसर पाएका थिए । सन् १९६२ मा तत्कालीन राष्ट्रपति राजेन्द्रप्रसादको जालन्धरमा सरकारी भ्रमण हुँदा उनको स्वागत स्वरूप जगजीत सिंह आफैले गीत लेखेर गाएका थिए ।

सन् १९६१ ताका एउटा कार्यक्रममा सहभागी हुन उनी आसाम पुगेका थिए । उनको गीत मन पराएर त्यतिबेलाका प्रख्यात भारतीय चलचित्र कलाकार ओम शर्माले बम्बई आउन निमन्त्रणा दिएका थिए । त्यति ठूलो कलाकारले नै गीत गाउन आमन्त्रण गरेको सुन्दा उनी निकै खुसी भएका थिए । त्यसपछि उनी फिल्मी गीत गायक बन्नका लागि पहिलोपटक बम्बई पुगेका थिए । ओम प्रकाश मार्फत संगीतकारहरु मदन मोहन, जयदेव, शंकर जयकिसनसँग पनि उनको सम्पर्क त भयो तर फेरि पनि स्वर परीक्षामा उत्तीर्ण हुन नसकेकोले कुनै गीत गाउने अवसर पाउन सकेनन् । आफूले ल्याएको पैसा सकिएको कारण उनी जालन्धर फर्किन बाध्य भए तर उनीसँग रेलको टिकट किन्ने पैसासम्म पनि बाँकी थिएन । त्यसैले उनी त्यतिबेला बिना टिकट ट्वाइलेटमा लुकेर बच्दै जालन्धर आइपुगेका थिए ।

कुरुक्षेत्र विश्वविद्यालयमा इतिहासमा एम.ए. भर्ना त भए तर उनलाई भने संगीतले नै तानिरह्यो । बाबुआमाको छोराले राम्रो पढेर गतिलो सरकारी जागिर खाओस् भन्ने चाहना थियो । तर उनी भने जसरी पनि गायक बन्न चाहन्थे । पढाइ छाडेर बम्बई जाने जानकारी घरमा गराउन सकिरहेका थिएनन् । त्यसो हुँदा घरबाट आर्थिक सहायता पाउने सम्भावना पनि रहेन ।

तर, उनको यो उद्देश्यलाई साकार गराइदिने एकजना मित्र उनको जीवनमा भगवानको रुपमा उपस्थित भएको जगजीतले एउटा अन्तर्वार्तामा उल्लेख गरेका छन् । हरियाणामा साइकल व्यवसाय सञ्चालन गरिरहेका हरदम सिंह भोगलले उनलाई आवश्यक खर्च उपलब्ध गराउनेछु तिमी जसरी भए पनि बम्बई जानुपर्छ भनेर उत्साहित गरेको हुँदा घरमा जानकारी समेत नगराई अपुरो पढाई छाडि बम्बई हानिएका थिए । साथमा लिएको खर्च सकिएपछि खै अब फर्कने पो हो कि भन्ने बित्तिकै भोगलले मणिग्राम मार्फत पैसा पठाउने गर्दथे । सुरुका आठ महिना प्रत्येक महिना २००का दरले पठाएको पैसाले उनलाई बम्बईमा टिकिरहन सम्भव बनायो ।

कलाकार बन्न बम्बई पुग्नेहरू प्राय सबैका सुरुवाती दिनहरू त्यति सहज भएको देखिँदैन । जगजीत सिंहले पनि त्यहाँ धेरै उतार चढाव व्यहोर्न पर्‍यो ।

बम्बई बसाइका सुरुवाती दिनहरू अति नै कष्टकर रह्यो । अरूसँग मिलेर बसेको डेरामा राति पुग्दा सबै सामान बाहिर फालिएको अवस्था समेत बेहोर्न पर्‍यो । धेरैजना बस्ने सानो कोठाको सम्झना गर्दै एकदिन त मुसाले आफ्नो जुत्ताको हिल नै खाइदिएको प्रसङ्ग पनि एउटा अन्तर्वार्तामा सुनाएका थिए । जीवनयापनका लागि विवाह, जन्मदिन जस्ता विभिन्न कार्यक्रमहरूमा गीत गाउने दैनिकी बन्न पुग्यो । यही क्रममा उनको बेरी रेस्टुरेन्टका मालिक बेरीसँग सम्पर्क भयो । बेरी साँच्चिकै उदार हृदयका मनकारी व्यवसायी थिए । उनले आवश्यक परेका नौ जवानहरूलाई आफ्नै रेस्टुरेन्टमा बिना पैसा खुवाउने, बसाउने सहयोग गर्ने गर्दथे । उनैको माध्यमबाट जगजीत सिंहलाइ ठुला होटेलहरूमा गीत गाउने अवसर प्राप्त भयो ।

त्यही फिल्ममा हिरो बन्न पुगेका सुभाष घईसँग परिचय भयो । सन् १९६७मा उनी सँग नै अमन फिल्ममा सानो भूमिका निर्वाह गर्न पुगे । तर उनको लगाव भने गायनमा नै लागिरह्यो । लामो प्रयासपछि एचएमभ कम्पनीले दुईवटा गीत रेकर्ड गर्ने अवसर दियो । त्यसमा राख्नको लागि उनीसँग फोटो माग्यो । उनी त्यतिबेलासम्म पन्जाबी पहिरनमा नै थिए । दारी र फेटा, पगडीसँग उनको गायनको मेल नखाएको सल्लाह पाएपछि बाध्य भएर सफाचट बने । यसबारे घरमा जानकारी गराउँदै लेखेको पत्रमा माफी माग्दै पन्जाबी पहिरनमा बम्बईमा गायक बन्न नसकिने हुँदा बाध्य भएको भनेर लेखेका थिए । यो घटनाबाट उनको पिता उनीसँग निकै नै मन दुखाएका थिए । तर जगजीतसँग यो बाहेक अरु उपाय नै थिएन ।

देबुदत्ता एक संगीत पारखी थिए । उनले आफ्नै ठुलो स्टुडियो स्थापना गरेका थिए । नयाँनयाँ रेकर्डका उपकरणहरू जम्मा गरेका थिए । भएभरका गायकगायिकाहरु त्यहाँ जम्मा हुन्थे । ऊनैसँग चित्रालाई १५वर्षकै उमेरमा विवाह गरिदिएका थिए । १६वर्षमा नै एक छोरीकी आमा पनि बनिन् । तर अन्य महिलाहरूसँगको सम्बन्धका कारण चित्रा र देबुको पारिवारिक अवस्था ठिक थिएन । चित्रा त्यतिबेला इन्डियन जिंगलका राम्री गायिका थिइन्  । गीत रेकर्ड गर्ने क्रममा जगजीत र देबुबीच सम्पर्क हुनपुग्यो । त्यही क्रममा चित्रासँग पनि परिचय भयो । चित्रा र जगजीतको लागि नयाँ गीत तयार भयो तर चित्राको एकदम सुरिलो र जगजीतको साह्रै मोटो स्वर भएको कारण चित्राले सँगै गाउन अस्वीकार गरिन् । वास्तवमा चित्रालाई जगजीतको स्वर त्यति मन परिरहेको थिएन ।

एक दिन एउटा गीतको रिहर्सलबाट घर फर्कँदै गर्दा चित्राले जगजीतलाइ पनि गाडीमा डेरासम्म पुर्याईदिन्छु भनिन् । जगजीत सिंह चित्राको घरभन्दा अलि पर बस्दथे । आफू घरमा झरेर ड्राइभरलाई पुराउन भन्न खोजेका थिए तर खै के सुर चलेर हो चिया पिएर जान भनिन् । जगजीत सिंहले कोठामा बाजा देखेपछि बजाएर आफ्नै तालमा गाउन थाले । चित्रा चिया लिएर साथैमा बसेर झुम्न थालिन् । यो गीतले चित्रालाई बेस्सरी नै प्रभावित पार्‍यो । यो उनैको गीत संगीत सहितको गजल थियो । त्यसपछि चित्राले जगजीतको गीत मन पराउन थालिन् ।

सम्पर्क सम्बन्ध झाँगिन थाल्यो । त्यतिकैमा एक दिन जगजीतले बिवाहको प्रस्ताव राख्न पुगे । आफू अझै विवाहित भएकोले अहिले सम्भव नहुने बताएपछि जति समय पनि कुर्ने दृढता व्यक्त गरे । श्रीमान् श्रीमतीको सम्बन्ध राम्रो नभएको जानकारी पाएका जगजीतले एक दिन देबुदत्तासँग म तिम्रो श्रीमतीसँग जीवन बिताउन चाहन्छु समेत भनेका थिए । दत्ताले हामी धेरै टाढा भैसकेका छौ यसबारेमा चित्रा स्वतन्त्र छिन भन्ने जवाफ दिएका थिए । नभन्दै पारपाचुकेपछि यी दुईबीच अति सामान्य ढंगबाट सन् १९६९मा एउटा मन्दिरमा गएर विवाह भयो । सिन्दुर माला र चुराको तीस रुपैया नै उनीहरूको विवाहको जम्माजम्मी खर्च थियो । सन् १९७१मा यो दम्पतीको एक छोरा भयो विवेक । जीवनको आरोह अवरोह जेजस्तो भए पनि छोरा भएको दिन जगजीत सिंह आफू संसारको सबैभन्दा बढी सम्पतिवाला भएजस्तो अनुभूति भएको भाव व्यक्त गरेका थिए । पहिलो श्रीमान्को तर्फबाट भएको छोरी मोनिकालाई पनि जगजीतले अति नै माया गर्दथे । एक छोरा र एक छोरी भएपछि थप सन्तानको चाहना दुबैमा भएन ।

जगजीत र चित्राले धेरै नै गजल गाएका छन् । उनीहरूको पहिलो एल्बम दि अनफर्गटेबल्स सन् १९७७मा निस्केको थियो । त्यसपछि निरन्तररुपमा नयाँनयाँ एल्बमहरू निस्कन थाले । उनीहरूको विशेषता नै मान्नुपर्छ प्रायजसो एल्बमको शीर्षक अङ्ग्रेजीमा हुन्थ्यो । उनले फिल्ममा गाएका गीतहरू पनि धेरै नै सफल रहे । हुन त उनले सन् १९६६मा नै बहुरूपी चलचित्रमा एउटा गुजराती गीत गाएपछि फिल्मी दुनियाँमा प्रवेश गरेका थिए । सन् १९८१मा बनेको फिल्म प्रेमगीतमा गाएको होंठों से छु लो तुम मेरे गीत अमर कर दो गीतले भने शिखरमा नै पुर्‍याएको थियो । त्यसपछि बनेका थुप्रै चलचित्रमा उनका गीतहरू समावेश भए ।

सन् १९८२मा बनेको अर्थ चलचित्रको तुम ईतना जो मुस्कुरा रही हो  गीत सर्वाधिक मन पराइएकोमा सूचिमा पर्दछ । उनको अन्तिम फिल्मी गीत सन् २०११मा बनेको खाप चलचित्रको तुम से बिछड कर  थियो । विदेशमा बस्नेहरूको भावनालाई समेटेर लेखिएको कवितालाई गजल बनाएर गाइएको हम तो हैं परदेश में, देश मे निकला होगा चाँद, छोराको दुर्घटना पछि गाएको चिट्ठी न कोही सन्देश जाने ओ कौन सा देश जहां तुम चले गए ? बालापनको महत्त्वबारे गाइएको ओ कागजकी कस्ती, वारिसकी पानी साथसाथ चलचित्रको तुमको देखा तो ए खयाल आया गीतहरू मलाई पनि असाध्यै मन पर्ने गीतहरू मध्ये पर्छ ।

जगजीत र चित्राले सन् १९८८ मा रेकर्ड गरिएको बियोन्ड टाइम एल्बम नै भारतीय गायकहरूले गाएको पहिलो डिजिटल सीडी थियो । उनैले भारतमा पहिलोपल्ट गीत लेख्नेहरूलाई पनि रेकर्ड बेचेर आएको रकमको केही हिस्सा पारिश्रमिक दिने चलन चलाएका थिए ।

उनले संयोग गजल एल्बममा आठवटा नेपाली गजल गाएका थिए । जे. बी समयोगीको लेखन तथा आलोकश्रीको संगीत रहेको यो एल्बम नेपाली गजल इतिहासमा महत्त्वपूर्ण भूमिकामा रहेको छ यसका सबै गीतहरू उत्तिकै लोकप्रिय रहेका छन् ।

उनी मात्र एक कलाकार हुन् जसले भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीद्वारा लिखित कविता मध्य केहीमा आफैले संगीतबद्ध गरी सन् २००२ मा समवेदना र नईदिशा दुई गीति एल्बम तयार पारेका थिए । उनले भारतभित्रका धेरै भाषामा गीत गाएका छन् । उनका भजनहरू साह्रै नै प्रख्यात छन् । उनको आफ्नै अस्सीभन्दा बढी एल्बमहरू प्रकाशित भएका छन् ।

उनीसँग लिइएको करिब चालीस घण्टा लामो अन्तरवार्ताको आधारमा लेखक असरानी माशुरले बियोन्ड टाइम नामक जीवनी प्रकाशन गरेका छन् । कामप्रति उनको लगाव कस्तो थियो भन्ने प्रमाण यो एउटा घटनाले पनि ठम्याउन सकिन्छ । सन् २००१मा उनको आमाको देहावसान हुन्छ । त्यही दिन बिहान आमाको अन्त्येष्टि सकाएर पहिला नै तय भएको कार्यक्रममा सहभागी हुन बेलुकी उनी कलकत्ता पुगेका थिए ।

जगजीत सिंहलाई भारत सरकारले सन् २००३मा नागरिकले पाउने तेश्रो ठुलो पद्वी पद्य्म भूषण प्रदान गरेको थियो । उनले स्थानीय तथा राष्ट्रिय थुप्रै ठूलाठूला मानसम्मानहरु पाएका थिए । उनको मृत्युपछि पनि सन् २०१४मा उनको नाममा दुईवटा हुलाक टिकट प्रकाशन गरिएको थियो । उनको सम्झना स्वरुप मुम्बई स्क्वायरलाई पद्म भूषण जगजीत सिंह चोक  नामाकरण गरिएको छ । उनको मृत्यु पछाडी गुगलमा सबैभन्दा बढी खोजिएको कलाकारको नाम उनैको थियो । उनको ७२जन्मदिनको अवसरमा गुगलले आफ्नो मुख्य पेजमा जगजीत सिंहको तस्बिर सहित गुगल भनेर लेखिएको थियो जुन अन्य केही थोरै कलाकारहरूले मात्रै मौका पाएका छन् ।

भारतीय टेलिभिजनमा प्रदर्शित केही उत्कृष्ट टेलिसिरियल मध्य मिर्जा गालिव पनि एक हो । यसमा जगजीतले पुर्‍याएको योगदानलाई कदर गर्दै सन् १९९८ मा उनलाई साहित्य एकेडेमी पुरस्कार प्रदान गरिएको थियो । उनले संसारका प्राय सबै ठूला हलहरूमा आफ्नो प्रस्तुति गरेका छन् । सम्भवतः उनको पहिलो अन्तर्राष्ट्रिय प्रस्तुति सन् १९७७ मा छिमेकी राष्ट्र पाकिस्तानबाट सुरु गरेका थिए ।

सन् १९८०मा पहिलोपल्ट बेलायतको वेम्ब्ली स्टेडियममा गाएका थिए । यही समयताका उनले गीत गाएका फिल्महरू धेरै नै सफल भए । यसको ज्वलन्त प्रमाण सन् १९८३ मा लन्डनको रोयल अल्बर्ट हलमा भएको कार्यक्रमको सम्पूर्ण टिकट जम्मा तीन घण्टामा सबै सकिएको थियो । सन् २०११मा अस्ट्रेलिया सिड्नीको अपेराहाउसमा भएको कार्यक्रम पनि अति उत्कृष्ट थियो ।

यो जोडीले दुई छोराछोरी सहित अभाव र सङ्घर्षका दिनहरू पार गर्दै सफलताको शिखर चढ्न थालेका थिए । जीवनलाई व्यवस्थितरुपमा अगाडी बढाइरहेका थिए । सुन्दर भविष्यको स्पष्ट खाका तयार हुँदै थियो । तर बिडम्बना मान्नुपर्दछ सन् १९९० को जुलाई २७ पछि यो जोडीको खुसीको क्षण सधैँको लागि हरण भयो । एउटा सडक दुर्घटनामा आफ्नो एक मात्र प्यारो छोरा विवेक (बाबु) को उन्नाइस वर्षको अति अल्पायुमा ज्यान गुम्न पुग्यो । यो दुर्घटनापछि उनीहरूको जीवनले अर्कै मोड लिन पुग्यो ।

छोराको मृत्युपछि चित्राले आजसम्म पनि कुनै गीत रेकर्ड गर्ने वा सार्वजनिक रूपमा कुनै पनि गीत गाएकी छैनन् । केही समयको अन्तरालपछि जगजीत सिंहले भने आफूलाई गीत संगीतमा सक्रिय राख्न सके । सन् १९९१ मा भारतका अति सम्मानित गायिका लता मंगेशकरसँग गाएको गजल संग्रह सजदाले अति नै प्रख्याति प्राप्त गर्‍यो । त्यस्तै प्रख्यात कवि तथा साहित्यकारहरू गुलजार र जावेद अख्तरद्वारा लिखित गीतहरू शिलशिले र मराशिम एल्बम धेरै नै बिक्री भएको थियो ।

गीत संगीत बाहेक उनको घोडचढी, भ्रमण, योगा, पैदलयात्रा तथा शेयर बजारमा पनि अधिक शौक थियो । आफूसँग अलि पैसा जम्मा भएपछि नयाँ घोडा किन्ने र घोडचढीको लागि प्रयोग गर्दथे । फुर्सदको समयमा आफ्ना घोडाहरूसँग समय बिताउन पाउँदा उनी अधिक खुसी रहन्थे । चित्राले भने आफ्नो पुरा समय एकान्त र अध्यात्ममा बिताउन थालिन । जसले गर्दा जीवन र जगतबारे थप यथार्थता बुझ्न धेरै सहयोग गर्‍यो । यसैको सहयोगमा उनले छोराको वियोगबाट भएको ठुलो घाउमा मलहम लगाउँदै आएका थिए ।

छोरी मोनिकाको सन् १९८८ मा जेहानगीर चौधरीसँग विवाह भयो । उनी त्यतिबेला एक नाम चलेका चलचित्र निर्माता थिए । दुई छोराहरू अरमान र उमरको जन्म भयो । तर उनीहरूको वैवाहिक सम्बन्ध त्यति राम्रो भएन । सन् २००५ मा उनीहरूको पारपाचुके भयो । त्यसलगत्तै बेलायती नागरिक मार्क आत्किन्ससँग विवाह  भयो । उनी एक अन्तर्राष्ट्रिय कम्पनीमा ठूलै पदमा काम गर्दथे । उनीहरूबीच पनि खासै राम्रो सम्बन्ध रहन सकेन । घरायसी उत्पीडन झेली रहेकी मोनिकाले बाध्य भएर अदालतको ढोका ढकढकाउन पुगिन् । अदालतले उनको विरुद्धमा आदेश त गर्‍यो तर त्यस अगावै भारत छाडेर बेलायत आइसकेको कारण न्याय पाउनुको पनि खासै अर्थ रहेन । यही पिडाको कारण उनले आफूलाई बचाउन सकिनन् । सन् २००९ मा आफ्नो ज्यान लिने निर्णय लिइन् । छोराको मृत्युले पारेको ठुलो घाउ केही निको हुन खोजेको बेला छोरीको यस्तो निर्णयले जगजीत र चित्राको घाउ झन् आलो बनाइदियो ।

सन् २०११ जगजीत सिंह आफ्नो जीवनको एक महत्त्वपूर्ण वर्ष साबित गर्न चाहन्थे । उनको ७०औँ वार्षिक उत्सव वर्षभरि ७०वटा कार्यक्रम आयोजना गरि मनाउने निर्णय गरेका थिए । योजना मुताबिक देश विदेशमा महिनामा छ–सातवटा कार्यक्रम गर्दै आएका थिए ।

जुनसुकै कार्यक्रम सञ्चालनको सुरुवातमा विभिन्न भाषामा सन्ध्याकालीन अभिवादन गर्दै ह्याप्पी बर्थडे भन्दा दर्शकहरूले तालीसहित ठुलो स्वरमा स्वागत गर्दथे । सेप्टेम्बर २३ मा अर्का नामुद गजलकार गुलाम अलिसँग मुम्बईमा पहिलोपल्ट संयुक्त कार्यक्रम तय भएअनुसार २० तारिखमा पत्रकार सम्मेलन पनि गरेका थिए । उक्त कार्यक्रममा उनी असाध्यै उत्साहित देखिन्थे । तर दुखको कुरा सेप्टेम्बर २२ का दिन उनी अकस्मात् बिरामी भै हस्पिटल जानुपर्‍यो । उनले पुरै होस गुमाउन पुग्यो । त्यसपछि उनी कहिल्यै होसमा आएनन् । १० अक्टोबर २०११ म ७० वर्षको  उमेरमा ब्रेन हेमरेजका कारण १८ दिनको कोमामा बसेर जगजीत सिंहको मृत्यु भयो । यो वर्षलाई उनले सोचेजस्तै नभए पनि संसारका मानिसहरूले कहिल्यै नबिर्सने वर्ष साबित भयो ।

हुन त सन् १९९८ जनवरी २४ का दिन पनि जगजीतको स्वास्थ्यको लागि एउटा दुखद दिन बनेको थियो । उनको अति मिल्ने मध्ये एक मित्र अशोक भल्ला को छोरीको विवाहको निमन्त्रणामा लुधियाना पुगेका थिए । जगजीत पुगेको ठाउँमा गजल नजम्ने त कुरा भएन ।

श्रोताहरू अटोग्राफ भर्न भिडभाड नै भयो । अकस्मात् उनलाई टाउको दुखेको कारण तुरुन्तै उपचारको लागि अस्पताल पुर्‍यायो । चित्रा पनि उनलाई भेट्न लुधियाना आइपुगिन् । सामान्य हृदयघातको उपचार गरि दश दिनपछि अस्पताल छाडेका थिए । प्राय गजलकार जस्तै जगजीत पनि धूम्रपान र मद्यपानका सौखिन नै थिए । अब उप्रान्त यी दुई र लामो हवाई यात्रा नगर्न चिकित्सकको कडा निर्देशन थियो । केही समय आराम गर्नुपर्ने हुँदा मुम्बई नगई उनका एक मित्र बैद्यबा लेंदुप्रकाशले सञ्चालन गरेको आयुर्वेदिक केन्द्र मगाएका थिए ।

करिब २० वर्षको अन्तरालमा छोरा, छोरी र श्रीमानले छाडेर गएपछिको चित्राको अवस्थाबारे जो कसैले पनि अनुमान लगाउन सक्छ । पीडाका थाकहरुमाझ बाँच्न कति गाह्रो छ भनेर । जीवन र जगतलाई निकै नजिकबाट देखेकी चित्रालाई आफ्ना दुई नातिहरूको साथले भने ठुलो भरोसा दिएको छ । बाँकी आफ्नो जीवन यसै गरी बिताउने निधो गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप