शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

दोलखामा पुन मतदान : पौडेल र सिटौला समूह भिड्ने, देउवा समूह निर्णायक

आइतबार, १७ असोज २०७८, २२ : १६
आइतबार, १७ असोज २०७८

नेपाली काँग्रेस दोलखाको सभापतिका लागि पुनः निर्वाचन हुने भएको छ । कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पुनः निर्वाचन हुन लागेको  हो । कुल खसेको १५४५ मतमध्ये वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका सभापति उम्मेदवार बर्मा लामाले ६४३ मत ल्याएर पहिलो भएका छन् । यस्तै कृष्णप्रसाद सिटौला पक्षका सभापति उम्मेदवार ताराकुमार खड्का ३९७ मत ल्याउँदै दोस्रो बनेका छन्। 

नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेको गृह जिल्लामा सिटौला समूह बलियो देखिएको छ ।  सभापति शेरबहादुर देउवा समूहका सभापति उम्मेदवार रुद्रबहादुर खड्का ३५८ मत प्राप्त गरी तेस्रो भएका छन् भने केशव चौलागाईंले ९५ मत ल्याएका छन् ।

देउवा समूहको पकड मानिएको दोलखा यस पटक पौडेल समूह ४३ प्रतिशत मत ल्याउँदै पहिलो बनेको छ । तीन समूहबीच भएको प्रतिष्पर्धामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी  मत ल्याउन नसक्दा दोलखामा सोमबार फेरि मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशन प्रतिनिधिको मतगणना पनि सोमबार नै सुरु हुने समितिले जानकारी दिएको छ । सोमबार हुने पुनः मतदानमा पौडेल र सिटौला समूहका उम्मेदवारबीच मात्रै प्रतिष्पर्धा हुनेछ ।

पौडेल र सिटौला समूहका लागि तेस्रो भएको देउवा पक्ष निर्णायक मानिएको छ । देउवा पक्षले पौडेल र सिटौलामध्ये जुन पक्षलाई साथ दियो उनी जित्ने अवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप