शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्यान्डोरा पेपर्स : अहिलेसम्मकै ठूलो खुलासा !

आइतबार, १७ असोज २०७८, २२ : १५
आइतबार, १७ असोज २०७८

अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नलिष्ट’ (आईसीआईजे) ले अफशोर लगानी सम्बन्धी अहिलेसम्मकै ठूलो खोज प्यान्डोरा पेपर्स मार्फत गरेको छ । विश्वका प्रभावशाली नेता, राजनीतिकर्मी, व्यवसायी र शक्तिशाली व्यक्तिहरूले अवैध तरिकाले कमाएको धन वैध बनाउन कसरी ‘ट्याक्स हेभन’ (सम्पत्तिको स्रोत नखोजिने र जवाफदेही हुनुनपर्ने) देशमा पु-याएर एउटा समानान्तर अर्थतन्त्र चलाइरहेका छन् भन्ने खुलासा यसले गरेको छ ।

अफशोर खातामा रकम जम्मा गर्ने र शेल कम्पनी मार्फत कारोबार गर्नुको मुख्य उद्देश्य अवैध तरिकाले आर्जित रकम लुकाउने, देशलाई कर नतिर्ने र त्यही रकम वैदेशिक लगानीका नाममा फेरि स्वदेश भित्र्याउने खेल नै हो । यो चक्रले असमानता बढाउने, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकासमा अवरोध गर्ने, तस्करी र गैरकानूनी गतिविधि बढाउँछ । यो छायाँ अर्थतन्त्रले अन्ततोगत्वा विश्व अर्थव्यवस्थालाई नै कमजोर बनाएर सीमित व्यक्तिलाई समृद्ध बनाउँछ ।

आईसीआईजेले ९० देशका ३३० जनाभन्दा धेरै राजनीतिकर्मी, विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, व्यवसायी, सरकारी अधिकारी, सेलेब्रेटी र अपराधमा संलग्नहरूले समेत अफशोर खाता र शेल कम्पनी मार्फत अवैध रकम लुकाएको र छायाँ अर्थतन्त्र चलाइरहेको खुलासा गरेको छ ।

प्यान्डोरा पेपर्सले खुलासा गरेको अफशोर खाता र शेल कम्पनीमा १६ जना नेपालीको नाम पनि जोडिएको छ । यसको अर्थ हो कर छली गरेको ठूलो रकम विदेशमा लुकाउने, अवैध तरिकाले कमाएको रकम विदेश पु-याएर त्यसलाई ‘वैध’ बनाएर विभिन्न ठाउँमा लगानी गर्ने वा फेरि नेपाल भित्र्याउने काममा नेपालीको पनि संलग्नता छ र त्यसलाई अधिकार सम्पन्न निकाय र राजनीतिज्ञको प्रत्यक्ष÷परोक्ष संरक्षण छ । नेपालको कानूनले राष्ट्र बैंकको स्वीकृति विना नेपालीलाई विदेशमा लगानी गर्न रोकेको छ । त्यसैले नेपालीले विदेशमा लगानी गर्नु दण्डनीय अपराध हो ।

प्यान्डोरा पेपर्स खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र (आईसीआईजे) को नेतृत्वमा ११७ देशका ६०० भन्दा बढी पत्रकारको सहभागितामा गरिएको खोज हो । यो खोजमा १४० भन्दा बढी सञ्चारमाध्यम र सञ्चार संस्थाहरू सहभागी थिए ।

कोरोना महामारीबीच नेपालमा मात्रै झन्डै ५० जना व्यक्तिसँग यस विषयमा सोधखोज, अनौपचारिक कुराकानी तथा अन्तर्वार्ता गरिएको थियो । प्यान्डोरा पेपर्स खुलासाका क्रममा नेपाल जोडिएका इमेल, वर्ड फाइल, पीडीएफ फाइल र तस्वीर लगायत विभिन्न कागजपत्रका झण्डै तीन हजार दस्तावेज केलाइएको थियो ।

प्यान्डोरा पेपर्स विश्वका १४ वटा बिचौलिया कम्पनी (ल फर्म) तथा सेवा प्रदायकले राखेका रेकर्ड गोप्य स्रोतबाट प्राप्त भएपछि गरिएको खुलासा हो । यसका लागि १ करोड १९ लाख भन्दा बढी दस्तावेज केलाइएको थियो ।  यी विभिन्न दस्तावेजको डिजिटल परिमाण २.९४ टेराबाइट्स छ । सेवा प्रदायकले रेकर्डमा राखेका अधिकांश कागजात सन् १९९६ देखि २०२० सम्मका हुन् । तर, कतिपय रेकर्डहरू सन् १९७० का पनि छन् ।

यो लिक्समा सन् १९७१ देखि २०१८ सम्म खोलिएका कम्पनीहरूको विवरण छ । आईसीआईजेले विश्वका विभिन्न सञ्चारमाध्यमसँग मिलेर सन् २०१३ देखि सन् २०२१ सम्म गरेका खुलासामध्ये प्यान्डोरा पेपर्स सबैभन्दा ठूलो खुलासा हो ।

नेपालमा खोज

नेपालमा यो खुलासाका लागि  खोज पत्रकारिता केन्द्रको नेतृत्वमा पत्रकार, मेन्टर, सम्पादक र फ्याक्ट चेकरसहित पाँचवटा संस्था र फ्रिलान्सर गरी १४ जनाको  सहभागिता थियो । खोजका लागि विदेशका ६ जना पत्रकारको समेत सहयोगमा झण्डै एक वर्ष लगाएर नेपाल र विदेशका विभिन्न नागरिककोे अफशोर लगानी र कारोबारबारे अनुसन्धान गरिएको थियो ।

कोरोना महामारीबीच नेपालमा मात्रै झन्डै ५० जना व्यक्तिसँग यस विषयमा सोधखोज, अनौपचारिक कुराकानी तथा अन्तर्वार्ता गरिएको थियो । प्यान्डोरा पेपर्स खुलासाका क्रममा नेपाल जोडिएका इमेल, वर्ड फाइल, पीडीएफ फाइल र तस्वीर लगायत विभिन्न कागजपत्रका झण्डै तीन हजार दस्तावेज केलाइएको थियो ।

अफशोर संसारले गरीबी बढाउँछ

–जेरार्ड रायल, निर्देशक आईसीआईजे

हामीले १४ वटा सेवा प्रदायकका एक करोड २० लाख कागजात (फाइल्स) केलाएका छौं ।  यी ‘ल फर्म’ ले विश्वका जुनसुकै व्यक्तिका लागि गोप्य अफशोर खाता (आफ्नो देशभन्दा बाहिर खोलिएका कम्पनी जसको खाता अरू कुनै देशको बैंकमा हुन्छ) खोलिदिने काम गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र आईसीआईजेले यी सबै कागजात एउटा स्रोतबाट पाएको हो । आईसीआईजेले गत १० वर्षदेखि यो विषय नियालिरहेको छ । स्रोतका बारे मलाई पहिलेदेखि थाहा भए पनि मैले जब उसलाई भेटें यो विषय अहिलेसम्म देखेको भन्दा निकै ठूलो लाग्यो ।

आम मानिसका लागि यी कागजात धेरै महत्त्वपूर्ण छन् । यी दस्तावेजले के देखाउँछन् भने, यहाँ एउटा छायाँ विश्व छ, एउटा छायाँ अर्थव्यवस्था चलिरहेको छ । यो छायाँ संसारबारे हामी सचेत छैनौं, जहाँ कपट र धोका छ । यसले पहिल्यैदेखिका धनीलाई अझै धनी बनाइरहेको छ । 

यो धन्दामा विश्वका पूर्व र बहालवाला ३९ जना नेता संलग्न भएको भेटेका छौं । त्यस्तै १०० भन्दा बढी देशका ५०० भन्दा बढी राजनीतिकर्मी र सरकारी अधिकारीको संलग्नता पाइएको छ । यसमा जोर्डनका राजाको नाम जोडिएको छ ।

हामीले केही वर्षअघि पनामा पेपर्स प्रकाशन गर्दा यो व्यवस्थालाई समाप्त पार्नै पर्छ भनेर विश्वभर आक्रोश देखिएको थियो । तर, अहिले हामी के देखिरहेका छौं भने जसले यो छायाँ व्यवस्थालाई समाप्त पार्न सक्छन्, उनीहरूले नै यसबाट लाभ लिइरहेका छन् ।

यस्ता व्यक्तिहरूमा राष्ट्रपति, प्रधानमन्त्री, रक स्टारहरू छन् । पोर्न स्टार र आपराधिक व्यक्तिहरू समेत छन् । र, उनीहरूले आफ्नो अपराध लुकाउन अफशोर गोपनीयताको उपयोग गरिरहेका छन् ।

यो धन्दामा विश्वका पूर्व र बहालवाला ३९ जना नेता संलग्न भएको भेटेका छौं । त्यस्तै १०० भन्दा बढी देशका ५०० भन्दा बढी राजनीतिकर्मी र सरकारी अधिकारीको संलग्नता पाइएको छ । यसमा जोर्डनका राजाको नाम जोडिएको छ ।

उनीहरू अफशोर गोपनीयताको फाइदा उठाएर लाभान्वित भएका छन् । उनीहरूले घर, कार र अन्य महँगा सामग्री खरीद गरेका छन् । यसबाहेक हामीले केही विश्वका चर्चित व्यक्तिको विवरण भेटेका छौं, जसको नाम कागजातहरूमा उल्लेख छ ।

यो व्यवस्था अन्त्यका लागि अन्तर्राष्ट्रिय अभियानको आवश्यकता छ । तर नेता, राजनीतिकर्मी र सरकारी अधिकारीहरू नै यो कपटपूर्ण कार्यमा लागेका छन् त्यसैले यो चाँडै समाप्त होला जस्तो लाग्दैन । अब विश्वभरबाट जनताले यस्तो छायाँ व्यवस्थाको अन्त्यका लागि दबाब दिनै पर्छ ।

आम मानिसले अफशोर दुनियाँ विरुद्ध आवाज उठाउन किन जरूरी छ भने, यसले गरीबी बढाउँछ, असमानता निम्त्याउँछ । जब धनी र शक्तिशालीले देश लुट्न थाल्छन् शरणार्थी समस्या जस्ता थुप्रै समस्या निम्तिन्छन् । मूलभूत रूपमा संसारका सबै खराबीलाई व्यवस्थामा भित्र्याइन्छ र, त्यो व्यवस्थाको उद्देश्य केही व्यक्तिलाई समृद्ध बनाउनुभन्दा अर्को हुँदैन ।

सिंगापुरमा एउटा एशियासिटी नाम गरेको कम्पनी छ । यो विश्वकै ठूलो मध्येको अफशोर सेवा प्रदायक कम्पनी हो । अष्ट्रेलियाली नागरिक ग्रेम ब्रिग्सले सञ्चालन गरेको यो कम्पनीका ग्राहकमध्ये ठूला ब्यांक, अकाउन्टेन्सी फर्महरू छन् । त्यस्तै उनीहरूका ग्राहकमा विभिन्न मुलुकका खराब व्यवस्थासँग जोडिएका कुख्यात व्यक्तिहरू पनि छन् । एशियासिटीले गोप्यता चाहने व्यक्तिका लागि अफशोर कम्पनी खोलिदिन्छ । यसले खासगरी कुक आइल्याण्ड्स र समोआ जस्ता देशमा बढी विशेषज्ञता राख्छ । यी दुई विश्वकै सबैभन्दा गोप्य अफशोर क्षेत्राधिकार भएका देशमध्येका हुन् ।

शेल कम्पनी (सामान्यतः कागजमा सिमित यस्ता कम्पनीको वास्तविक पहिचान, पूँजी र कर्मचारी हुँदैनन् । यी कम्पनीको मुख्य उद्देश्य वास्तविक मालिकको पहिचान लुकाउने, आफ्नो धन एवम् लगानीको जानकारी लुकाउने र कर छली गर्नु हुन्छ ।) हरू अपराधको अफशोर संसारमा छिराउने अनिवार्य वाहक हुन् । हामी यहाँ केही लाख डलरको कुरा गरिरहेका छैनौं, कुरा खर्बौं डलरको हो । एउटा पारिस्थितिकीय प्रणाली बनेको देखिन्छ ।

मलाई के लाग्छ भने, हामीले यो गोपनीयतालाई समाप्त ग-यौं भने पनि अन्तर्राष्ट्रिय रूपमा मुद्रा निर्मलीकरण (मनी लाउन्डरिङ) समाप्त पार्न धेरै लामो बाटो हिँड्नुपर्नेछ । समस्या के हो भने, प्रहरीले आफ्नो सीमाभित्र मात्र अपराधीलाई पक्रन सक्छ । सीमा पारि प्रहरी जान सक्दैन । यो नै अफशोर संसारका अपराधीहरूका लागि शक्ति हो । उनीहरूले अफशोर शेल कम्पनीका दुई वा तीन तहबाट कारोबार गरे भने कसैले पनि वास्तवमा के भइरहेको छ भन्ने थाहा पाउँदैन ।

राजनीतिज्ञ र नेताहरूले यसलाई समाप्त पार्न सक्छन् तर, उनीहरू आफैंले शेल कम्पनीको प्रयोग गरिरहेकाले उनीहरूमा यसलाई रोक्ने इच्छाशक्ति नै छैन ।

(अस्ट्रेलियाको एबीसी टेलिभिजनका पत्रकार एलिस वर्थिङटनले आईसीआईजेका निर्देशक जेरार्ड रायलसँग गरेको कुराकानीको सम्पादित अंश)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खोज पत्रकारिता केन्द्र
खोज पत्रकारिता केन्द्र
लेखकबाट थप