बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

बुटवलमा दशौँ राष्ट्रिय महाधिवेशन गर्ने घोषणा गर्दै सकियो एमाले विधान महाधिवेशन

आइतबार, १७ असोज २०७८, १८ : ०१
आइतबार, १७ असोज २०७८

आगामी मंसिरमा पार्टीको दशौं महाधिवेशन गर्ने घोषणा गर्दै एमालेको पहिलो विधान महाधिवेशन सकिएको छ । समापनमा अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले एकता अमर रहोस्, अमर सहिद लाल सलाम, नेकपा एमाले जिन्दावाद’, भन्ने नारा लगाएका थिए ।  

यसअघि महाधिवेशनले तीनवटा प्रस्ताव पारित गर्नुका साथै आगामी निर्वाचनमा केन्द्रीत हुने अठोट गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबार सुरु भएको महाधिवेशनमा आइतबार राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदन पारित गर्दै समापन भएको हो । त्यसक्रममा अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा तीनै तहमा जित्नेगरी पार्टी काममा लाग्न निर्देशन दिए ।

‘आगामी निर्वाचनबाट एमालेको बहुमतको सरकार बनाउनुपर्छ । स्थानीय तहमा पनि बहुमत ल्याउनुपर्छ । प्रदेश र संघमा पनि हामी बहुमतसहित सरकारमा फर्किनुपर्छ’, ओलीको भनाइ थियो । त्यसअघि महाधिवेशनमा पेश भएका तीनवटै प्रस्तावमाथि १० समूहमा प्रतिनिधिहरूले छलफल भएको थियो । छलफलमा आएका सुझावमाथि ओली लगायतका नेताहरूले जवाफ दिएका थिए ।

विधान महाधिवेशनमा पार्टीको निर्वाचन आयोग पनि गठन गरिएको छ । महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए । समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सहभागी प्रतिनिधिहरूलाई धन्यवाद दिँदै अत्यन्तै सफलतापूर्वक र सानदार ढंगले महाधिवेशन सम्पन्न भएकोमा खुसी व्यक्त गरे । उनले महाधिवेशनका काम कर्तव्य पुरा भएको भन्दै आन्दोलनलाई बलियो बनाउन नयाँ अठोट र संकल्पका साथ अघि बढ्न बाटो खुलेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप