शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रालयको भागबण्डा टुंग्याउन कार्यदलको बैठक बालुवाटारमा

आइतबार, १७ असोज २०७८, १० : २१
आइतबार, १७ असोज २०७८

काठमाडौं । सत्तारुढ गठबन्धन कार्यदलको बैठक बसिरहेको छ । मन्त्रालयको भागबण्डा टुंग्याउन विहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ । 

सरकार बनेको ८० दिनसम्म पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छ । सत्ता साझेदार दलभित्र कानुनी र व्यवहारिक जटिलताको गाँठो फुकाउँदा फुकाउँदै सरकार बनेको ८० दिन बित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

करिब तीन महिनासम्म ६ मन्त्री बनाएका प्रधानमन्त्री देउवाले १८ मन्त्रीको भारी आफैँले बोकेका छन् । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वका कार्यदलको बैठकमा काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधि सहभागी छन् ।

खड्कालाई कोरोना संक्रमण भएकाले आजको बैठकको संयोजन कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले गरिरहेको बुझिएको छ । गत आइतबार गठबन्धनका शीर्ष नेताको बैठकपछि आज मात्र गठबन्धन कार्यदलको बैठक बसेको हो । 

योबीचमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बिरामी भएकाले शीर्ष नेताहरुको बैठक बस्न नसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरी मन्त्रिपरिषद विस्तार गर्ने भनिएपनि अझै मन्त्रालयको भागबण्डा मिलेको छैन । 

कार्यदलबाटै एउटा सहमति जुटाएर शीर्ष नेता बसेर मन्त्रिपरिषद विस्तार गरिने जसपा अध्यक्ष उपेन्द्र यादवले रातोपाटीलाई जानकारी दिए ।

यादवका अनुसार मन्त्रालयको भागबण्डा कार्यदलकै तहका टुंग्याउने गरी छलफल अगाडि बढिरहेको छ । कार्यदलले मन्त्रालयको भागबण्डा टुंगिएपछि शीर्ष नेताहरुको बैठक बस्ने उनको भनाइ छ । 

संख्यागतरुपमा काँग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने सैद्धान्तिक सहमति भएको थियो । तर यतिबेला काँग्रेसले आठ मन्त्रालय पाउनुपर्ने अडान राखेको छ ।

जसपालाई ५ मन्त्रालय मात्र दिएर प्रधानमन्त्री देउवाले आठ मन्त्रालय राख्न खोजेपछि विवाद देखिएको जसपा स्रोतले बतायो ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप