शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

थाइल्याण्डमा उपचाररत माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

आइतबार, १७ असोज २०७८, १० : १३
आइतबार, १७ असोज २०७८

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन अनन्तको स्वास्थ्यमा सुधार आएको छ । पुन थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत छन् । चिकित्सकका अनुसार पुनको शरीरमा रहेको अत्याधिक जण्डिसको मात्रा घट्दो क्रममा छ । सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ । तर, पुनको रगतमा बिलुरुविनको मात्रा अन्यिन्त्रित रुपमा बढेर ३४ पुगेपछि चिकित्सकहरुले बैंकक रेफर गरेका थिए । 

‘अहिले बिलुरुविनको मात्रा घटेर २७ मा आएको छ’, उपचारमा संलग्न डा. नाथाभुत सिरिमोन्तापोनको भनाइ उद्धृत गर्दै पुन पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीले भनिन् । घर्तीका अनुसार चिकित्सकले नयाँ औषधि चलाएका छन् । उक्त औषधिले राम्रो काम गर्न थालेको उनले उल्लेख गरिन् ।

 ‘नयाँ औषधिले राम्रो काम गर्न थालेको छ’, घर्तीले भनिन्, ‘नेपालबाट आउँदाको भन्दा अहिले राम्रो भएको छ ।’ यद्यपि बान्ता भने नरोकिएको जानकारी उनले दिइन् । खाना खान अरुची हुने समस्याका कारण पुनलाई स्लाइनको माध्यमबाट खानेकुरा दिइएको छ । जण्डिसको मात्रा अत्याधिक बढेसँगै उच्च ज्वरो आउनुका साथै निरन्तर बान्ता हुन थालेपछि पुनलाई गत आइतबार ललितपुरको सुुमेरु अस्पताल लगिएको थियो ।

 तर, नेपालमा उपचार कठिन भएको भन्दै चिकित्सकले बैंकक जान सुझाएको थियो । चार वर्षअघि पनि नेपालका विभिन्न अस्पताल र भारतको मेदान्त सिटी अस्पतालमा उपचार सम्भव नभएपछि अत्यन्त जटिल अवस्थामा पुनलाई एयर एम्बुलेन्समार्फत बैंकक लगिएको थियो । पुन जन्मजात जण्डिससम्बन्धी समस्याबाट पीडित छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप