सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

अमेरिकाले १० अर्ब डलर फुकुवा गरेमात्र परमाणु वार्ता : इरान

आइतबार, १७ असोज २०७८, १० : ०७
आइतबार, १७ असोज २०७८

इरानले परमाणु वार्ता सुरु हुनुअघि अमेरिकाद्वारा रोक्का गरिएको १० अर्ब डलर फुकुवा हुनुपर्ने शर्त राखेको छ । परमाणु कार्यक्रम रोक्न सन् २०१५ मा इरान र शक्ति राष्ट्रबीच सहमति भएको थियो । तर, अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताबाट हात झिक्दै इरानविरुद्ध नयाँ प्रतिबन्ध घोषणा गरेका थिए । वर्तमान राष्ट्रपति जो बाइडेनले सो सम्झौतामा अमेरिकालाई पुनः आबद्ध बनाउन खोजिरहेका छन् ।

इरानी विदेशीमन्त्री हुसेन आमिरले परमाणु वार्ता निम्ति अमेरिकी अधिकारीहरू अघिल्लो महिनादेखि नै आफूलाई आग्रह गरिरहेको, तर आफूले अमेरिकी पक्षबाट रोक्का गरिएको इरानको १० अर्ब डलर फुकुवा हुनुपर्ने शर्त राखेको जानकारी दिएका छन् । अमेरिकाले रकम फुकुवा गरे सो कदमलाई इरानले सद्भावना सङ्केतका रूपमा लिने हुसेनको भनाइ छ । 

सीधा वार्ता गर्ने अमेरिकी प्रस्तावलाई पनि इरानले नकारेको छ । अप्रत्यक्ष वार्ता पनि जून महिनादेखि रोकेको छ । तेहरानका सरकारी मिडियाहरूले संयुक्त राष्ट्र संघको मध्यस्थतामा अमेरिकी अधिकारीहरूले इरानी विदेशमन्त्रीसँग सम्पर्क प्रयास गरेको खबर सार्वजनिक गरेका छन् । 

अमेरिकाले यतिखेर इरानको बैङ्किङ र ऊर्जा क्षेत्रमा प्रतिबन्ध लगाएको छ । इरानले उत्पादन गरेको तेल र ग्यास निर्यातबाट प्राप्त हुनुपर्ने अर्बौँ डलर जारी प्रतिबन्धका कारण विदेशी बैङ्कमै थन्किएको छ । पश्चिमी देशहरूले पनि इरानसँग वार्ता थाल्न प्रयास गरिरहेका छन् । इरानको परमाणु कार्यक्रम सन् २०१५ को सम्झौताअनुसार निर्धारण गरिएभन्दा निकै अघि बढिरहेको ती मुलुकका अधिकारीहरूले बताइरहेका छन् । 

सन् २०१५ मा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का पाँच स्थायी सदस्य अमेरिका, बेलायत, फ्रान्स, रुस र चीन तथा जर्मनीसमेतले इरानसँग परमाणु सम्झौतामा हस्ताक्षर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप