सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला

आइतबार, १७ असोज २०७८, ०९ : ३८
आइतबार, १७ असोज २०७८

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला गरिएको छ । कोभिड–१९ को दोस्रो लहरसँगै पर्यटकीय गतिविधि बन्द थिए । हरेक वर्ष वर्षायाममा बन्द रहने निकुञ्जभित्रको पर्यटकीय गतिविधि वर्षा सकिएसँगै खुला हुने गर्दछ । यस वर्ष कोभिडका कारण वैशाखयता बन्द भएको गतिविधि खुला भएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले  निकुञ्जभित्र र  बाहिरका सबै  पर्यटकीय गतिविधि खुला गरिएको जानकारी दिए । निकुञ्जभित्रका बाटो मर्मत सकिएसँगै जीप सफारी सुरु गरिएको उनले बताए । यससँगै निकुञ्जमा पैदलयात्रा हुने गर्दछ । निकुञ्जसँगै जोडिएका मध्यवर्ती सामुदायिक वनमा जीप र पैदलसँगै हात्ती सफारी पनि हुने गर्दछ । सामुदायिक वनमा निर्माण गरिएका टावरमा रात बिताउने व्यवस्थासमेत रहेको छ । निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा डुङ्गा सफारी हुने गर्दछ ।
 
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार अब सौराहा आउने पर्यटकले निकुञ्जका सबै गतिविधिमा सहभागी हुन पाउने भएका छन् । निकुञ्ज बाहिर रहेका कुमरोज, बाघमारा र चित्रसेन सामुदायिक वनभित्रको मुख्य भागमा रात बिताउन मिल्ने गरी टावर रहेका छन् । ती टावरमा बस्न रुचाउनेका लागि पनि गतिविधि खुला भएको उनले जानकारी दिए ।
 
निकुञ्जका गतिविधि खुला भएसँगै पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ । चाडपर्व सुरु भएकाले आन्तरिक पर्यटक क्रमशः बढ्दै गएको उनले बताए। फाट्टफुट्ट विदेशी पर्यटकसमेत आउन थालेका छन् । निकुञ्जका प्रवेश गर्ने क्षेत्र सौराहा, पटिहानी, जगत्पुर र मेघौलीमा यतिबेला साना सभा, सम्मेलन, गोष्ठीलगायतका कार्यक्रम भइरहेका छन् । कतिपय होटलमा माडवारी समुदायका विवाहका कार्यक्रम बुक हुन थालेका छन् ।
 
चितवन आउने पर्यटक मुख्यरूपमा निकुञ्जभित्रका पर्यटकीय गतिविधिमा रमाउने गर्दछन् । निकुञ्जमा मुख्यरूपमा एकसिङ्गे गैँडा, पाटेबाघलगायतका वन्यजन्तु, चराचुरुङ्गी, घडियाल गोही हेर्न पर्यटक आउने गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप