प्रश्नहरू माझ क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन
क्रान्तिकारी विद्यार्थीहरूको मूल प्रवाह अनेरास्ववियू (क्रान्तिकारी)ले असोज १४,१५ र १६ गते २२ औँ राष्ट्रिय सम्मेलन गरेको छ । कोभिड महामारीको बीचमा पनि आयोजित सम्मेलन सामुन्ने केही प्रश्नहरू चुनौतीको रूपमा छन् । विद्यार्थी आन्दोलनको कार्यदिशामा सु–स्पष्टता, आम प्रकारका आलोचनामा व्यवहार जवाफ, विद्यार्थी चरित्रको संगठन, शैक्षिक मुद्दामा खरो उत्रनु, युग सापेक्ष आन्दोलनको मुद्दा र स्वरूप तथा ‘दबाब, जागरण र खबरदारी’को अभिभारामा अविचलित रहनु आजका हाम्रा मुख्य चुनौती हुन् । यसको सकारात्मक संश्लेषण गरेर आगामी मार्ग तय गर्नु र यस अनुरूपको नेतृत्व छान्नु सम्मेलनको मुख्य अभिभारा रहेको छ।
तयारीका दृष्टिले सम्मेलन
सम्मेलनले, ‘शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीको लागि हाम्रो आन्दोलन ! राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औँ राष्ट्रिय सम्मेलन !!” भन्ने मूल नारा तय गरेको छ । नाराले संगठनको आगामी निशाना चित्रित गर्ने कोसिस गरेको छ। कोभिडको कारण २२ सय प्रतिनिधि सङ्ख्यालाई घटाएर देशभरबाट ९९९ प्रतिनिधि, पर्यवेक्षकको सहभागिता सुनिश्चित गरिएको छ ।
आजसम्म आइपुग्दा करिब ५०० भन्दा बढी स्थानीय पालिकाको भेला, सम्मेलन उत्साहप्रद ढंगले, सर्वसम्मत रूपमा नेतृत्व चयन गर्दै सम्पन्न भइसकेका छन् । जिल्ला सम्मेलनहरू सम्पन्न गरेर प्रदेश तथा विश्वविद्यालय राष्ट्रिय समितिका सम्मेलन सम्पन्न गरेका छौँ। यस क्रममा एकाध जिल्ला एवं प्रदेशलाई छाडेर भन्ने हो भने हामी अझै पनि सर्वसम्मतिका साथ सम्मेलन सम्पन्न गर्ने ल्याकत राख्दछौँ भन्ने सन्देश समेत प्रवाह गर्न सफल भएका छौँ।
सम्मेलनको महत्त्वपूर्ण शृङ्खलाको रूपमा हामीले प्रविधिको प्रयोगद्वारा गत भाद्र २६ गते भर्चुअल रूपमा प्रथम विधान सम्मेलन सम्पन्न गरेका छौँ । संगठनमा संघीय स्वरूपको कार्यकारी संगठनात्मक संरचना निर्माण गर्ने, विद्यार्थी नै यो आन्दोलनको नेता हुने, विश्वविद्यालयहरू अनुरूपको संगठनात्मक संरचना लगायतका महत्त्वपूर्ण विधिहरू समेत पास गरेका छौँ ।
सम्मेलनबाट कार्यदिशा निर्माण गर्ने सवालमा प्रतिवेदन लेखनको निम्ति अध्यक्ष रञ्जित तामाङको नेतृत्वमा मुख्य नेतृत्वको टीमले मिहेनत गरेको छ। यसको पूरकको रूपमा पूर्व विद्यार्थी नेता एवं विज्ञ सहितको उपस्थितिमा आन्दोलनको कार्यदिशा, शैक्षिक मुद्दा र राष्ट्रिय स्वाधीनता केन्द्रित ३ वटा अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएका छन् ।
आन्दोलनमा परिवर्तनको चुनौती
विद्रोह, बलिदानको बलशाली धाराको पहिचान बोकेर हामी २२ औँ सम्मेलनसम्म आइपुगेका छौँ। विद्यार्थी भनेको विद्रोहका बन्दुक मात्र होइनन् । सृजनाका संवाहक समेत हुन भन्ने पहिचान मुखरित गराउन सक्छौँ कि सक्दैनौँ ? सम्मेलनका बन्दसत्रका सहभागीले मथिंगल हल्लाउन जरुरी छ ।
हाम्रो आन्दोलनले आजसम्म आइपुग्दा ठुलो बलिदानी सहित मूलतः राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा अग्रणी भूमिका खेल्यो । राष्ट्रियताको मामिलामा पहरेदारको भूमिका बहन गर्यो । जनजीविकाको आन्दोलनमा सदैव अग्रमोर्चाको नेतृत्व लियो । शिक्षालाई नागरिकको जन्मसिद्ध मौलिक हकको रूपमा संविधानमा संस्थागत गराउने उपलब्धि हासिल गर्यो ।
अहिले बदलिएको राजनीतिक परिवेश र समयमा हामी फेरी पनि यही वरपर मात्र सीमितिकरण भएर नयाँ चुनौतीहरू सामना गर्न वा औचित्यमाथि उठेका बहस खारेज गर्न सक्छौँ ? यसो गर्दा हिजो विद्यार्थी आन्दोलनले जसरी राजनीतिक परिवर्तनमा भूमिका खेल्यो। आज विद्यार्थी आन्दोलनमा समेत परिवर्तन गरेर विकास गर्नुपर्ने अनुभूति गरेका छौँ ? यस प्रकारको बुझाई आम क्रान्तिकारी पङ्क्तिको छ कि छैन ?
मार्क थनवर्ग नाम गरेकी १६ वर्षीया स्वीडिश विद्यार्थीले जलवायु परिवर्तन विरुद्धको त्यहाँको संसद् भवन अगाडी सन् २०१९ अगस्टमा गरेको एकल प्रदर्शन र दुई महिनाको अन्तरालमा झन्डै १६१ देशमा भएका विद्यार्थी प्रदर्शन हाम्रा लागि समेत निकै शिक्षाप्रद छ । यतिमात्र होइन उक्त मुद्दालाई संयुक्त राष्ट्रसंघको महासभामा दर्ज गराउने क्रममा, “तिमीहरूको नालायकीपनको कारण म यहाँ छु” जस्ता आक्रामक विचार अगाडी सारिन। उनले उठाएको आन्दोलन र मुद्दा एकसाथ अन्तर्राष्ट्रियकरण भएको देखिन्छ । यस्ता आन्दोलनबाट हामीले के सिक्ने? कुरा मुद्दा या तरिका मात्र छैन उनले जलवायु परिवर्तन विरुद्ध उभिँदै गर्दा कार्बन उत्सर्जन गर्ने बस्तु, साधन लगायतको प्रयोग नगर्ने दृढ नैतिक आचरण कम मर्मस्पर्शी छैन। के हामी यस्ता नैतिक मूल्य र मान्यता स्थापित गर्न सक्छौँ ?
यसैले बदलिएको सन्दर्भ र नयाँ आवश्यकता अनुरूप विद्यार्थी आन्दोलनलाई अद्यावधिक गर्ने पर्छ । नयाँ परिवेश अनुरूप बदल्न सकिएन भने विद्यार्थी आन्दोलन एकादेशको कथा नबन्ला भन्न सकिन्न । राष्ट्रिय सम्मेलनको महा अभियानमा सामेल हुँदै गर्दा यस पक्षलाई शिरमा राख्न जरुरी छ ।
अबका मुद्दा
यसरी हेर्दा अब शैक्षिक एजेण्डा तथा विद्यार्थीको हक, हित र अधिकार केन्द्रित मुद्दाहरूको सेरोफेरोमा नै आजको विद्यार्थी आन्दोलन अगाडि बढाउने सूक्ष्म परिवेश तयार भएको छ। अब संविधानमा प्रदत्त मौलिक हक शिक्षा, स्वास्थ्य र रोजगारी सम्बन्धी मौलिक हक कार्यान्वयनको विषय हाम्रो प्राथमिक विषय हो । हाम्रो सम्मेलनको मूल नाराले यही मर्म बोकेको छ। शैक्षिक हक सुनिश्चित गर्ने सन्दर्भमा आम नागरिकको पढ्न पाउने अधिकार अर्थात् पहुँचको प्रश्न, उत्कृष्ट शिक्षा पाउने अर्थात् गुणस्तरीयताको पक्ष र समय सापेक्ष अर्थात् प्रविधिमैत्री शिक्षा आजको आधारभूत सवाल हुन। झन्डै १० लाख पुगनपुग विद्यार्थी कक्षा १ मा भर्ना हुने तर कक्षा १० मा आइपुग्दा साँढे ५ लाखमा हाराहारीमा सीमित हुने तथ्यमा बहस, प्रश्न र समाधानको खोजीको अगुवाइ हामीले गर्न सक्नुपर्दछ । माटो अनुकूलको शिक्षाको सवाल, मातृभाषामा अध्ययन गर्न पाउने अधिकार कार्यान्वयनको सवाललाई बेलैमा ध्यान दिन जरुरी छ। साथै शिक्षालाई श्रमसँग जोड्ने, श्रमलाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादनलाई सम्बृद्धिसँग जोडेर लैजाने र अनुसन्धानमूलक प्रकारको शिक्षा प्रणालीको विकासले मात्र समाजवादी शिक्षाको लक्ष्य प्राप्ति गराउने कुरामा हामी दृढतापूर्वक छलफल गरिरहेका छौँ । यस्ता यावत पक्षमा मिहिन छलफल सहितको उचित निष्कर्ष सम्मेलनले निकाल्नुको विकल्प छैन ।
यसका साथै प्रकृति बचाउने कुरा अर्थात् पर्यावरण मैत्री विकासको कुरा विद्यार्थी आन्दोलनको प्रमुख मुद्दाको रूपमा आउनुपर्छ भन्ने कुरा जोडतोडले आएको छ। हाम्रो विकासको बाधक देखिएको भ्रष्टाचार विरुद्धको प्रमुख अभियन्ता बन्न ढिला गर्न हुन्न भन्ने कुरा उठेको छ। हाम्रा सामु यसबारे सही दृष्टिकोण निर्माणको चुनौती छन्।
राष्ट्रिय स्वाधीनताको सवालमा सिमाना या सन्धि, सम्झौता मात्र होइन नीति एवं निर्णयमा समेत हेर्ने र त्यसको प्रतिवाद गर्ने चरित्र हामीले विकास गर्ने कोसिस गरेका छौँ। यस सन्दर्भमा हिजोको गर्विलो विरासत झैँ अग्रपङ्क्तिमा उभिने चरित्र जीवन्त राख्ने कसरी ? चुनौतीपूर्ण प्रश्नहरू छन् ।
जनजीविकाको मुद्दा भन्ने बित्तिकै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्ने मात्र पहिचान स्थापित भएको छ। आम एवं अस्वाभाविक महँगीको विरुद्ध विद्यार्थी आउन भन्ने जनअपेक्षाको पूरक भूमिकामा हामीले आफूलाई विकास गर्ने कि नगर्ने ? सम्मेलन सामु यक्ष प्रश्न छन् ।
संघर्षको स्वरूप
संघर्षका रूपहरूबारे अझ नयाँ र रचनात्मक स्वरूपको खोजी बढ्दो छ । अर्थात् सबैभन्दा कम क्षतिमा धेरै उपलब्धि प्राप्तिको हुटहुटी समाजमा हुर्कँदो छ । यसको मर्मलाई आन्दोलनका स्वरूपमा अभिव्यक्त गराउने अगुवाइ अखिल (क्रान्तिकारी) कसरी गर्छ ? भन्ने प्रश्नलाई कसरी उत्तरित गर्ने चुनौती प्रतिनिधि सामु छन् ।
विद्यार्थी आन्दोलन वैचारिक रूपले आफू निकट पार्टीको होस् या अरूको, जनविरोधी र गलत प्रवृत्ति विरुद्ध अविलम्ब प्रतिवाद गर्ने खालको हुनुपर्छ। तर एमाले अनेरास्ववियू, नेविसंघ जस्ता संगठनले माउ पार्टी सरकारमा हुँदा सडकमा हराउने र माऊ पार्टी प्रतिपक्षमा आइपुग्दा कराउने द्वैध चरित्र देखाएको कुरा हामीले देख्दै र भोग्दै आएका छौँ। यसबाट बचेर सम्झौता नगरेर आएको संगठन हुनुको नाताले यस उपर सम्मेलनले थप चनाखो हुन जरुरी छ।
विद्यार्थी आन्दोलनले शैक्षिक मुद्दामा मात्र होइन आम गरिखाने जनताका खिलाफमा हुने सबै खाले गतिविधि विरुद्ध बोल्नुपर्छ । वास्तवमा अबका दिनमा पनि विद्यार्थी आन्दोलन गलत कुराको प्रतिवाद गरिरहने तर रचनात्मक चरित्रको बनाउने मिहिनेत प्रतिनिधिले गर्नैपर्छ ।
कसरी र कस्तो नेतृत्व
संगठनात्मक विधिद्वारा कसिलो गरी बाँधिएको र फलामे अनुशासन लागू गर्न सक्ने वास्तविक विद्यार्थीहरूको संगठन नै क्रान्तिकारी बिद्यार्थी संगठन हो । जसले कलेजमा समय गुजारेका भन्दा पनि नियमित रूपमा अध्ययनरत विद्यार्थीहरूको प्रतिनिधित्व गर्नुपर्दछ । ती विद्यार्थीका पदचाप बाहिरबाट आन्दोलनको खास लय नआउने कुर सम्मेलनले कसरी पक्रने ? छलफल केन्द्रित हुन जरुरी छ।
त्यसैगरी शैक्षिक माफियाका विरुद्ध सम्झौताहीन संघर्ष गर्ने आन्दोलन अब तिनैसँग चन्दा लिएर चल्नुपर्ने परिस्थितिबाट मुक्त हुनुपर्छ। क्रान्तिकारी विरासतमा सङ्गठनसँग आफ्नै पारदर्शी आर्थिक प्रणाली हुनुपर्छ । नियमित गरिने संगठनात्मक काम र संघर्षको योजनासहितको वार्षिक क्यालेन्डर तयार गर्नुपर्छ । अनि गुण र दोषका आधारमा, क्षमता, प्रतिभा र सक्रियताका आधारमा मूल्याङ्कनको परिपाटी र नेतृत्व विकासको वैज्ञानिक विधि हुनुपर्छ। नेतृत्व छनोटको क्रममा अपनाइने सहमति वा चुनावी प्रणालीलाई दुवैलाई वास्तविक रूपमा स्वस्थ, पारदर्शी र मर्यादित बनाउन आवश्यक विधि निर्धारणमा हाम्रो सूक्ष्म ध्यान पुग्न जरुरी छ ।
संगठनको नेतृत्व तत्कालीन आन्दोलनको कार्यदिशा लागू गर्न सक्ने र संगठनात्मक विधिलाई कार्यान्वयन गर्नसक्ने एक कुशल संयोजनकारी व्यक्ति हुनुपर्छ। आन्दोलनका मुद्दा नबेच्ने, सिद्धान्तनिष्ठ कार्यशैली भएको, भक्तिभाव नभई आलोचनात्मक चेत बोकेको, आर्थिक रूपमा पारदर्शी भएको व्यक्ति हुनुपर्छ। र, मुख्य कुरो नेतृत्व भनेको वास्तविक विद्यार्थीबाट नै हुनुपर्छ ।
अझ नेतृत्व छनोटको विधिमा जनवादको अभ्यास नहुँदाको बखत यस्तो क्राइटेरियाको सवाल झन् प्रधान बन्दछ । यस्तो अवस्थामा क्वालिफिकेशन र उमेरको प्रश्न सँग सँगै उठ्न सक्छ । जसलाई स्वस्थ बहसले मात्रै निष्कर्षमा पुर्याउन सक्छ ।
मेरो विश्वास
उल्लेखित पक्षलाई मध्यनजर नगरी विद्यार्थी आन्दोलन ठिक ढंगले अघि बढ्न सक्दैन भन्ने दृष्टिकोण आज आम रूपमा व्यक्त भइरहँदा पक्कै पनि देशभरिका कार्यकर्ताले आत्मसाथ गर्नेछन् । विचार, दृष्टिकोण, संगठन, आचरण र आन्दोलन सबै दृष्टिले अव्वल निष्कर्ष सहितको बाटो २२ औँ सम्मेलनले देखाउने छ। विश्वास छ, देशभरबाट आउनुहुने कार्यकर्ता भावनाको सही संश्लेषण गर्न सफल हुनेछौँ।
सारमा हिजोको गौरवशाली विगतबाट आलोकित हुँदै चुनौतीपूर्ण वर्तमानसँग जुझ्दै समाजवादी शिक्षा प्राप्तिको सुनौलो महाअभियानमा जुट्ने समयको माग सम्बोधन गर्न सक्नेछौँ । यसरी हामीले उठाउने मुद्दाको नवीनता र आन्दोलनका तरिकाको पृथकताले विद्यार्थी आन्दोलनमाथि जबरजस्त थोपरिएको औचित्यवाला बहस स्वतः खारेजीमा पर्ने निश्चित छ। यस प्रकारले अन्ततः विद्यार्थी आन्दोलनले नै दीर्घ जीवनको यात्रामा आफूलाई नवीकरण गराउन सक्दछ।
(लेखक अनेरास्ववियू क्रान्तिकारीका उपाध्यक्ष हुन्)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की