बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको विधान महाधिवेशन ओलीको प्रशंसामा गीत गाउने कुम्भ मेला : भुसाल

‘एमालेले एक्लैले बहुमत ल्याउँछु भन्नु हावादारी कल्पना मात्रै’
शनिबार, १६ असोज २०७८, १७ : ५४
शनिबार, १६ असोज २०७८

नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले एमालेको प्रथम विधान महाधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीको प्रशंसामा गीत गाउने कुम्भमेलाको संज्ञा दिएका छन् । राजधानीमा आयोजित साक्षात्कारमा उनले भने, ‘सरकारमा रहँदा भ्रष्टाचार गरेर कमाएको करोडौँ रकम पैसा खर्च गर्ने, र त्यहाँ मोजमज्जा गर्ने थलो बनाइएको छ । त्यहाँको तामझाम र गतिविधि हेर्दा, केपी ओलीको प्रशंसामा गीत गाउनेजस्तो कुम्भमेला अथवा भेला हो । त्यहाँ न विचार छ, न कुने दृष्टिकोण छ । नयाँ कुरा मैले केही पनि देख्दिनँ । फरक विचार प्रस्तुत गर्नै पाइएन । घनश्याम भुसालले केन्द्रीय कमिटीमा फरक दस्तावेज पेस गरे, तर गोदावरीमा त्यो प्रस्तुत गर्न दिइएन ।’ उनले जनताको बहुदलीय जनवादलाई मार्गदर्शन मान्छु भन्ने एमालेमा अहिले प्रथम विधान महाधिवेशनमा फरक विचार पनि राख्न नदिइएको टिप्पणी गरे । 

उनले एमालेले आगामी निर्वाचनमा एक्लैले बहुमत ल्याउँछु भन्नु हावादारी कल्पना मात्रै भएको पनि टिप्पणी गरे । उनले भने,‘यो त केपी ओलीले हिजो रेल, पानीजहाज ल्याउँछु भनेजस्तै हावादारी कल्पना मात्रै हो ।’ त्यस्तै, उनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद् चल्न नदिनुलाई लोकतन्त्र र संविधानमाथिको हमला भएको टिप्पणी गरेका छन् । उनले भने,‘त्यो गतिविधिले एमाले नाङ्गिएको छ । सदन सुचारु गर्नेबारे हामी गठबन्धनको बैठक बसेर निर्णय लिन्छौँ । तर, अहिले पहिलो कुरा सरकार गठन हो ।’

सरकार गठनमा ढिलाइ हुनुमा अझै मन्त्रालय बाँडफाँडमा सहमति हुनु प्रमुख कारण रहेको उनले सुनाए । उनले भने,‘मन्त्रालय बाँडफाँड हुन बाँकी छ । मन्त्रालय टुङ्गो लाग्ने बित्तिकै दलहरूले मन्त्रीहरूको नाम दिन्छन् ।’ भुसालले भने,‘सरकार विस्तार छिट्टै हुन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रो पार्टीका अध्यक्ष माधव नेपालसँग भेटेर सल्लाह गर्छु भन्नुभएको छ । अहिले हाम्रो अध्यक्ष बिरामी भएर अस्पतालमा हुनुहुन्छ, भेटवार्तामा त्यो कुराले असर गरेको हो । प्रधानमन्त्रीको व्यस्तताको कारण सायद उहाँले भेटघाट गर्न भ्याउनुभएको छैन होला, तर अब छिट्टै सरकार विस्तार हुन्छ । सरकारले छिट्टै पूर्णता पाउनेछ । त्यसपछि सरकारले गर्नुपर्ने काम अघि बढ्नेछन् ।’

भुसालले अहिले अर्ली ईलेक्शन गर्ने कुरा असम्भव रहेको पनि टिप्पणी गरे । उनले भने,‘अहिले अर्ली–ईलेक्शन गर्ने सम्भव कुरा होइन । प्रधानमन्त्रीले अहिले नै प्रतिनिधिसभा विघटन गर्न पाउनुहुन्न । उहाँले गर्नुभयो भने त्यो पनि असंवैधानिक हुन्छ । सर्वदलीय बैठकमा उहाँले यो कुरा हुँदैन भन्नुभएको छ । यो बाहिर चलाइएको हल्ला हो । अर्ली–ईलेक्शन, अहिले त्यो बाटो जाने स्थिति छैन । जाने मनस्थिति भएको पनि मैले देख्दिनँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप