बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

अबको निर्वाचनमा एकल बहुमतको सरकार बनाउनुपर्छ : डा.महत

शनिबार, १६ असोज २०७८, १७ : ४६
शनिबार, १६ असोज २०७८

काठमाडौँ, १६ असोज । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा बहुमत ल्याएर पार्टीको एकल सरकार बनाउने प्रतिबद्धताका साथ आम नागरिकको सेवामा उत्रिन नेपाली काँग्रेसका कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूलाई आग्रह गरेका छन् । शनिवार नेपाली काँग्रेस बुढानीलकण्ठ नगर समितिको दोस्रो अधिवेशनको उद्घाटन गर्दै सहमहामन्त्री डा. महतले अहिले नेपाली काँग्रेसको नेतृत्वमा नयाँ सरकार बनेको भए पनि यो विभिन्न वैचारिक धरातलमा उभिएका राजनीतिक दलहरूको गठबन्धन सरकार भएकोले प्रधानमन्त्रीले फुकी फुकी कदम चाल्नु परेको बताए ।

उनले अघिल्लो निर्वाचनमा अधिक मत पाएको राजनीतिक दल सरकार सञ्चालन गर्न असक्षम भएकोले संविधान अनुरूप नयाँ सरकार गठन गर्ने अवस्था सिर्जना भएको उल्लेख गरे । महतले वर्तमान सरकारले संविधान अनुरूप राज्य सञ्चालन गर्ने, देशमा कानुनी शासन कायम गर्ने, लोकतन्त्र र संविधानको रक्षा गर्ने, आम नागरिकलाई विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको भयबाट मुक्ति दिने र पूर्ववर्ती सरकारले खलबल्याएको वैदेशिक सम्बन्धलाई सुमधुर बनाउँदै देश र जनताको हितमा काम गरिरहेको बताए ।

सत्ता साझेदार दलहरूको घुर्की, धम्की, अनुनय र विनयका आधारमा चल्ने सरकारबाट नेपाली काँग्रेसले लिएका नीति,कार्यक्रम र लक्ष्यहरू हासिल हुने गरी सरकारले काम गर्न नसक्ने स्पष्ट पार्दै महतले आउने निर्वाचन जितेर एकल सरकारमार्फत आफ्ना कार्यक्रम लागू गर्न तयारी अवस्थामा रहन कार्यकर्ताहरूलाई आग्रह पनि गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप