बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

महिला स्वतन्त्रता र पुरुष सत्ता

शनिबार, १६ असोज २०७८, १४ : ३५
शनिबार, १६ असोज २०७८

हजुरआमाहरू टीका, पोते, चुरा, धागो, सिन्दुर आदिलाई नारी सौन्दर्यका प्रतीक मान्थे । उनीहरूका पालामा शिरफूल, शिरबन्दी, बाला, कल्ली आदि पनि सौन्दर्यकै साधन मानिन्थे । यिनीहरूमध्ये धेरै जसो सँधै प्रयोग गर्नेमा पर्थे । सँधै प्रयोग गर्न नमिल्नेहरू पनि विवाहमा अनिवार्य हुनुपथ्र्यो, जसलाई उनीहरू सन्दुकमा सुरक्षित राखी व्रत पर्व तथा माङ्गलिक कार्यमा लगाउने गर्थे ।

चुरा, पोते, धागो, सिन्दुर त यसै पनि सौभाग्यका प्रतीक भई नै हाले, जो कि पतिको मृत्युमा त्याग्थे कि आफैँ मर्दा छाड्थे । आमाहरूका पालासम्म पनि तिनले निरन्तरता पाएकै हुन् । छोरी पुस्तामा भने स्वरूपमा केही परिवर्तन भएका छन् तर अवशेष बाँकी नै छन् । भलै चाँदीको बाला प्रमोशन भएर सुनमा उक्लेका हुन् ।

कल्लीले डिमोशन भएर पाउजुको रूप लिएकै छन्, धागोहरू रिवन बनेर आएकै छन् । पोतेहरूले मङ्गल सूत्र र तिलहरीको रूप लिएका छन् । सिउँदोका सिन्दुर क्रिम पाउडर बनेर गालामा सरेका छन् । शिरबन्दी र शिरफूलहरू रानीहार बनेर गलामा झरेका छन् ।    

थाहा छैन यिनलाई कसले नारी सौन्दर्यका साधन बन्न सिकायो, कसले लगायो । न वेदले भनेको छ न उपनिषद्ले । पौराणिक ग्रन्थमा भेटिन्छन् भने छुट्टै कुरा हो, जो निकै पछिको चिन्तन मानिन्छ । खासमा वैदिक संस्कृतिका आधार ग्रन्थ भनेका वेद, उपनिषद्, ब्राह्मण र आरण्यक ग्रन्थहरू नै हुन्, जहाँ कतै पनि तिनलाई नारी सौन्दर्य भनिएको छैन, मानिएको छैन ।

हो, विवाह पद्दतिका मन्त्रीहरूमा भने सामान्य सङ्केतसम्म पाइन्छ, जो अर्थवेदको विवाह सूक्तको आधारमा तयार गरिएको पद्धति हो । अथर्ववेद १४ औँ काण्डको पहिलो र दोस्रो सूक्तलाई विवाह सूक्त भनिन्छ, जहाँ १३९ मन्त्र छन् । यीमध्ये केही मन्त्र ऋग्वेद दसौँ मण्डलको ८५ औँ सूक्तमा पनि भेटिन्छन् ।

यिनै मन्त्रहरूका आधारमा विवाह पद्धति बनाइएको हो । तथापि मन्त्र एउटै भए पनि विवाह पद्धतिमा आएका मन्त्र र वैदिक पद्धतिमा रहेका मन्त्रका उद्देश्य र अर्थमा भने भिन्नता भेटिन्छ । यसको अर्थ हो विवाह पद्धतिमा आएका मन्त्रहरू वैदिक ग्रन्थबाट जबरजस्त तानिका हुन् । त्यसैका लागि लेखे, लेखिएका होइनन् ।

सम्भवतः त्यसै बेलादेखि नै नारी सौन्दर्यमा उल्लिखित साधनले स्थान पाएका हुन्, जतिबेला विवाह पद्धति लेखिएको थि यो । हाम्रा महिला नेतृहरु पुरुष सत्तालाई गाली त गर्छन् तर महिला स्वतन्त्रतामा बन्देज लगाउने काम कसले गरेको छ त्यतातिर भने ध्यान दिँदैनन् । यदि नारी स्वतन्त्रतामा अङ्कुश लगाउने काम कसैले गरेको छ भने तिनै नारी सौन्दर्यका साधनले गरेका छन् न कि पुरुष सत्ताले ।

जुन सिन्दुलाई नारीहरू सौभाग्यको प्रतीक ठानेर सिउँदोमा सजाउँछन् तिनै सिन्दुरले उनीहरूका चाहनालाई सीमित पारी पतिव्रता धर्मको पाठ पढाइरहेका छन् । पोते र धागोको अवस्था पनि त्यस्तै हो, जसले घरको चारदिवारीमा बाध्न सहयोग गरिरहेको छ ।

बाला र कल्लीको त के कुरा गर्ने हतकडी र नेलकडी बाहेक केही गरेका छैनन् । शिरफूल र शिरबन्दीका उद्देश्य भार बनेर थिच्नु हो भने हार र तिलहरीको बन्धन त्योभन्दा पनि कडा छ । यदि नारी स्वतन्त्रताको कुरा गर्ने हो भने सर्वप्रथम श्रृङ्गारको नाममा संस्कार र संस्कृति बनेर जरा गाडेको यस्ता साधनतिर ध्यान दिनुपर्ने हुन्छ ।

यसमा सर्वाधिक चासो तिनै महिला नेतृ तथा साहित्यकारहरूले दिनुपर्ने देखिन्छ, जसले पुरुष सत्तालाई धारे हात लगाउँदै आएका छन् । बोलीले रातदिन पुरुष सत्तालाई गाली गरेर नथाक्ने व्यवहारमा भने जसले स्वतन्त्रतामा बन्देज लगाउने काम गरेको छ तिनैप्रतिको मोह नत्याग्ने प्रवृत्तिले न महिला हिंसा रोकिन्छ न महिला स्वतन्त्रतामा बल पुग्छ ।

पक्कै कसको हार राम्रो र कसको तिलहरी ठूलो भन्ने भन्ने कुरा पुरुष सत्ताले नै सिकाएको होइन । हातमा सुनको खँदिलो बाला र गोडामा बुट्टादार पाउजु नलगाई हिँड्नुहुँदैन भन्ने पनि पुरुष सत्ता होइन र महिलाले सिउँदो खाली राख्न पनि हुँदैन र हमेसा चुरा, धागो र पोते लगाएकै हुनुपर्छ भन्ने पनि पुरुष सत्ता होइन । यी केही सङ्गीन प्रश्न हुन्, जसको उत्तर महिलाहरू आफैँले खोज्नुपर्ने हुन्छ ।

अहिले पनि नेतृत्व तहमा महिला पुग्न सकेनन्, त्यसैले महिला हिंसा लगायत तमाम लैङ्गिक विकृति र समस्या रोकिएन भन्ने महिला दिदीबहिनीहरु धेरै छन् । सौभाग्य नै मान्नुपर्छ एक समय कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका जस्ता राज्यका तीनवटै अङ्गको नेतृत्वमा महिला नै पुगेका थिए । राष्ट्रपति त अहिले पनि महिला नै छिन् ।

खोइ उनीहरूले यसबारे एक शब्द बोलेका थिए वा बोलेका छन् ? समस्या कहाँ छ र कसले सिर्जना गर्न सहयोग ग¥यो वा गरिरहेको छ त्यता चाहिँ ध्यान न दिने स्याल हुइयामा लागेर पुरुष सत्तालाई गाली मात्र गर्ने हो भने सय वर्ष होइन हजार वर्ष कराए पनि केही हुनेवाला छैन । काग कराई नै रहन्छ । पिना सुकी नै रहन्छ । जे छ त्यही हुनेछ, त्यही नै चली रहनेछ । समस्या पहिल्याएर समाधानतिर लाग्ने हो भने स्वयं समस्यालाई नै समाधान बनेर उभिन कर लाग्छ ।  

अन्यथा नेताहरूले राजसंस्था हटायौँ भनेर गर्व गरे जस्तै हो । हो, गणतन्त्रमा राजाको भूमिका छैन । देशको ऐन, कानून र संविधानले राजालाई चिन्दैन तर के संस्कार र संस्कृतिले पनि चिनेको छैन भन्न सकिने स्थान छ र ? संविधानको धारा र कानूनको दफामा राजा नभए पनि संस्कार र संस्कृतिमा राजसंस्था अहिले पनि ज्यूँका त्यूँ छ । खानु अघि भूपतये स्वाहा भनेर एक गाँस भूपति (राजा) लाई छुट्याउने पर्ने नियम पनि जीवितै छ ।

पितृकार्य गर्दा आफ्ना पितृहरूलाई भन्दा अघि एकभाग सिधा भूस्वामी (राजा) को नाममा छुट्याउनु पर्ने नियम पनि कायमै छ । थाहा छैन गणतन्त्रवादी नेताहरूले बाबुको श्राद्ध गर्छन् कि गर्दैनन् । यदि गर्छन् भने उनीहरूले पनि राजालाई सिधा तथा तर्पण पानी दिएकै हुन्छन् । किनकि पद्धति एउटै उही छ र यही पद्धति रहेसम्म हुने भनेको पनि यस्तै हो ।

नारी स्वतन्त्रताको कुरा पनि त्यस्तै हो । समस्या छ भने सत्ता र संस्कृतिमा होइन संस्कृतिको नाममा पलाएको विकृतिमा छ । वैदिक संस्कृतिले कसैलाई वर र कसैलाई पर गरेको छैन । उच, निच जस्ता विभेद त के कुरा गर्ने जानेकै छैन । वसुधैव कुटुम्बकमको पाठ पढाउने संस्कृतिले न हिंसा बढाउने काम गर्न सक्छ न कसैको स्वतन्त्रतामा बाधक बन्न सक्छ ।

वेदमै सयौँ त्यस्ता मन्त्रद्रष्टा नारीहरू छन्, जसले स्वतन्त्रताको उपभोग गरेका पनि छन् र गर्न सिकाएका पनि छन् । तिनै वैदिक मन्त्रद्रष्टा पुलोमा दानवपुत्री शची हुन्, जसले स्वयम्बर संस्कृति सूत्रपात गरेकी छन् र जसलाई अहिले पनि स्वयम्बरा कन्याहरूले अनुसरण गर्दै आएका छन् ।

जतिबेलासम्म श्रृङ्गारको नाममा ओडिएको साधनको बर्को फालिन्न वा फाल्न सकिन्न त्यतिबेलासम्म महिला स्वतन्त्रताको कुरा गर्नु ओछ्यान लगाऊ मात्र भन्ने दौराचाहिँ नफुकाल्ने उखान जस्तै हुनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप