शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

बेलायत बसेर नेपाली गीत

शुक्रबार, १७ कात्तिक २०७४, १२ : १३
शुक्रबार, १७ कात्तिक २०७४

‘एउटै गीत तयार गर्न ६५ देखि ७० हजार रुपैयाँ खर्चिएकी छु,’ केही समयअघि काठमाडौंको न्युरोडमा भेटिएकी गीतकार संगीता राई बायुङले सुनाइन्, ‘खर्च रिटर्न हुने कुरै छैन । लगानी बालुवामा पानीसरह भए पनि सन्तुष्ट छु । सन्तुष्टि पनि एकप्रकारको सम्पत्ति हो । गीतकारको परिचय बनाएकी छु । त्यसैले गुनासो छैन ।’
गीतकार राईले चार वर्षअघि ‘फूलजस्तै लाग्थ्यो माया तर काँडा रहेछ’ गीतिएल्बम सार्वजनिक गरेकी थिइन् । सन् २०१३ देखि सुरु गरेर ०१४ मा गीतिएल्बम सार्वजनिक भएको थियो । साढे चार लाख खर्चेर सार्वजनिक गीतिएल्बममा ‘सेन्टिमेन्टल’ आधुनिक गीत समेटिएका छन् । सो गीतिएल्बममा शान्तिराम राईको एकल संगीत रहेको छ ।

‘सात–आठवटा गीत रेकर्ड भइसकेका छन्,’ उनले जानकारी गराइन्, ‘केही गीत थपेर अर्को वर्ष दोस्रो गीतिएल्बम सार्वजनिक गर्नेछु ।’ उनका गीतमा मायाप्रेम, मिलन विछोड, दुःख, पीडामिश्रित छन् । गीतमा अभिव्यक्त पीडा मेरो आफ्नै नभएर समग्र नेपालीको भएको उनको भनाइ छ । 

लेख्नेलाई स्थानविशेषले समेत प्रभाव पार्छ । गीतकार संगीता बायुङ राई बेलायत बस्छिन् । बेलायतमै घर किनेर बस्ने थोरै नेपालीमध्ये उनी पनि एक हुन् । उनी बेलायत बसे पनि गीतको ‘प्लट’ नेपालकै रहेको छ । ‘अहिलेसम्म बेलायतबारे एउटा पनि गीत लेखेको छैन,’ भनिन्, ‘विदेशमा रहेकाले धेरै कुराले दुखाउँछ । धेरै कुराले खुसी पनि बनाउँछ । त्यसले भावना बढी आएको होला । भावना आउनसाथ मोबाइलमै टाइप गर्न थालिहाल्छु ।’

गीत भनेर थाहा नभए पनि उनले सात÷आठ कक्षा पढ्दादेखि लेख्न थालिन् । उनले प्रस्ट्याइन्, ‘गीत नभएर सायरी भनेर लेख्थें । लेख्न छाडिनँ । लेख्दै जाँदा गीत भन्ने थाहा भयो । मैले लेखेको सिर्जना केही परिमार्जन गरे गीत बन्दोरहेछ भनेर सन् २०१३ तिर थाहा पाएँ ।’ 

परिवारमा कोही लेख्ने थिएनन् । अहिले पनि छैनन् । घरपरिवार, इष्टमित्र, शुभचिन्तक, श्रोता, दर्शकले संगीता राई बायुङलाई गीतकारका रूपमा चिनेकै छन् । गीतकारका रूपमा स्थापित हुन पाउँदा उनलाई कम्ती खुसी लागेको छैन । उनीमात्रै होइन, उनका आफन्त पनि त्यत्तिकै खुसी छन् । 

गीतकार राईसँगै भेटिएकी पहिलो मिस राई युमा राईले खुसी व्यक्त गरिन्, ‘क्षामालाई गीतकारका रूपमा पाउँदा हामी पनि त्यत्तिकै खुुसी छौं ।’ सम्बन्धित मानिसले भोलि के गर्लान् भनेर पहिल्यै केही संकेत गरेको हुँदोरहेछ । युमाले क्षामाको पूर्वाद्धलाई संकेत गर्दै भनिन्, ‘उहाँले टेपरेकर्डमा आफ्नो स्वर रेकर्ड गराएर सुन्नहुन्थ्यो । सुनाउनुहुन्थ्यो । त्यसको रिफ्लेक्सन अहिले देखिएको छ ।’ 

कुराकानीक्रममा गीतकार राईले अतीत सम्झिन् । पंक्तिकारसँगै सञ्चारकर्मी बुद्धवीर बाहिङ पनि थिए । हामीले अतीत सुनाउन अनुरोध गर्यौं । ‘बुवाले रेडियो सुन्नुहुन्थ्यो । रेडियोबाट अरू के–के प्रसारण हुन्थ्यो वास्ता गर्दिनथें,’ उनले अतीत खोलिन्, ‘तर, रेडियोबाट प्रसारित गीत ध्यानपूर्वक सुन्थें ।’ उनको बुवाले बिहान उठेदेखि बेलुका नसुतिन्जेलसम्म रेडियो बजाउँथे । संगीतालाई गीत सुन्न साह्रै मन पथ्र्यो । त्यतिमात्रै होइन, उनले रेडियो नेपालमा ‘फर्माइस’ गरेर आफूलाई मन परेको गीत सुन्थिन् । उनी त्यतिबेलादेखि नै गीतको भावमा डुब्थिन् । 

त्यही लगावले उनको परिचय गीतकारका रूपमा पनि थपियो । सानैमा बिहे भए पनि लेखनले निरन्तरता पायो । ‘हात चलुन्जेल लेख्छु,’ उनले प्रतिबद्धता जनाइन्, ‘छाड्न सकिँदैन । यो गीतचाहिँ राम्रै लेखें है भन्ने लाग्नसाथ रेकर्ड गर्न मन लागिहाल्छ ।’ उनले गीतबाहेक अन्य विधामा पनि धेरै भावना लेखेकी छन् । सार्वजनिक नगरे पनि डायरीमा सुरक्षित छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप