बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नेपालका विभिन्न पार्टीको वर्तमान

शनिबार, १६ असोज २०७८, १३ : ०४
शनिबार, १६ असोज २०७८

नेपालका विभिन्न दलहरुले गरेका आन्दोलन र त्यसकै जगमा शिखर चुमेका पार्टीहरूको अन्तर्कथा विचित्रको छ । ७/८ दशक पार गरिसकेका यी दलहरूको प्रयत्नले पनि देशको अवस्था सुध्रिन सकेको छैन । आफैं सुदृढ हुनुको सट्टा विघटन र विसर्जनतिर उन्मुख हुन लागेको देख्दा नेपाली जनता निराश छन् ।

यसको कारण र कार्यबारे कुुनै दिन मूल्यांकन हुुने नै छ । अहिले हाम्रो मुलुकका प्रमुख पार्टीहरूको वर्तमान अवस्थाका बारेमा निष्पक्ष चर्चा गर्न खोजिएको मात्र हो । यसले यिनको विगत, वर्तमान र भविष्य वारे पछिल्लो पिढीलाई अनुमान गर्न सजिलो पर्ने आशा गरिएको छ ।

नेपाली काँग्रेस : विशेष गरी पूर्वी युरोप लगायत संसारैभर सोसल डेमोक्र्याटहरुका स्वतस्फूर्त चलेको आन्दोलनले नेपालमा पनि एक प्रकारको जागरण ल्याइरहेको थियो । यसै आन्दोलनबाट प्रभावित भएर प्रजातान्त्रिक समाजवादको सैद्धान्तिक आलोक र मूल्यमान्यताको आधारमा नेपालमा पनि काङ्ग्रेस पार्टीको निर्माण भयो ।

नेपालजस्तो मुलुकमा सामन्तवादको विकल्पमा पुँजीवादी क्रान्ति गर्ने ध्येय र उद्देश्यका साथ २००७ सालदेखि अनवरतरुपमा आन्दोलन, बलिदानी सङ्घर्ष चल्यो । यही सशस्त्र सङ्घर्षको जगमा खडा भएको पुुरानो र ठूलो पार्टी नेपाली काङ्ग्रेस हो ।

नेपाली काँग्रेस विशेषतः बीपी कोइरालाको नेतृत्वमा सञ्चालित उक्त सैद्धान्तिक र राजनैतिक मूल्यमान्यतासहित अगाडि बढेको पार्टी हो । पछि गएर यसले विभिन्न उतार–चढावका बीच आन्दोलन र संघर्षका सबै लक्ष, उद्देश्य त्यागेर तत्कालीन राज्यसत्ता (राजतन्त्र) सँग सम्झौता गरी सैद्धान्तिक असफलतामा टुङ्गियो ।

२०४६ सालमा कम्युनिष्ट काङ्ग्रेसको आन्दोलनबाट संवैधानिक राजतन्त्रसहितको बहुदलीय व्यवस्था लागू गरियो । त्यसपछि काङ्ग्रेस पार्टीमा विकृति र विसंगति प्रवेश गर्न सुुरु ग¥यो । झन पछि झन सम्हाल्नै नसकिने गरी विकृति फैलियो, जो आज पर्यन्त देख्न सकिन्छ ।

काङ्ग्रेसले आफ्नो मूल नारामा लोकतन्त्र र समाजवाद भन्ने गरे तापनि अराजकतावाद यसको विशेषता बन्न गयो । अहिले पुराना मूल्य मान्यताको अवशेष पनि यस पार्टीमा पाउन सकिन्न । यो पार्टी गुटबन्दी र अन्तर कलहले बेसरी थिलथिलो भएको छ ।

यसरी हेर्दा काङ्ग्रेस पार्टी रुढीवादी र यथास्थितिवादी पार्टी हो । यसको आवधिक चुनाव वाहेक लोकतन्त्र, राष्ट्रियता र जनजीविका अर्थात समग्रतमा राष्ट्र समुन्नतिका कुुनै पनि एजेण्डा, कार्यक्रम र कार्यभार छैनन् । यो एउटा नवउदारवादको प्रतिनिधित्व गर्ने विद्यमान दलाल पुँजीवादको प्रतिनिधि पार्टी मात्र हो । यो पार्टी दलाल पूँजीवादका अराजक गतिविधिको नराम्रोसँग सिकार भएको छ । यस पार्टीबाट देश र जनताले कुुनै पनि आशा गर्ने ठाउँ देखेका छैनन् । यद्यपि यसको जनाधार भने देशव्यापी र ठूलो छ ।

नेकपा एमाले : पूर्वी युरोप र एशिया प्रशान्त लगायत संसारभरि चलेको साम्यवादी आन्दोलनबाट प्रभावित भएर २००६ सालमा नेकपा गठन भयो । तर, विभिन्न उतार चढावका बीच जनदिशा र कार्यक्रमका हिसावले २०२९ सालको झापा आन्दोलन (विद्रोह) को जगमा खडा भएको अर्को ठूलो पार्टी नेकपा एमाले हो ।

जनवादी क्रान्तिको ध्येय र उद्देश्यका साथ सशस्त्र संघर्षको कार्यदिशामा अगाडि बढेको यो पार्टी मार्क्सवादी (कम्युनिष्ट) दर्शन, सिद्धान्त र राजनैतिक मूल्य मान्यतामा ओतप्रोत भएर अगाडि बढेको थियो ।

२०४६ सालमा बहुदलको आगमनसँगै मदन भण्डारीको नेतृत्वमा बहुदलीय जनवादको कार्यक्रमसहित अस्तित्वमा आयो । कम्युनिष्ट विचारधारा लिएर अगाडि बढेको पार्टीको लागि पूँजीवादी पार्टीतर्फ सुरक्षित अवतरण जस्तै हुन पुग्यो । बहुदलीय जनवादलाई जतिसुकै क्रान्तिकारी सिद्धान्त भनिए तापनि यो एउटा संसदीय सुधारवादी कार्यक्रम नै थियो ।

अहिले बहुदलीय जनवादका सवै कार्यभार पूरा भैसकेका छन् । यद्यपि यो एउटा एमालेको गायत्री मन्त्रजस्तै भएको छ । यो पार्टी पनि काङ्ग्रेस पार्टीजस्तै गुटबन्दी, अराजकता र टुुटफुुटले ग्रस्त भएको छ ।

यस अर्थमा नेकपा एमाले पनि रुढी र यथास्थितिवादी पार्टीमा रुपान्तरण भैसकेको छ र संसदीय दलदलमा चुर्लुम्म डुबिसकेको छ । दलाल पुँजीवादको शिकार भएको छ । समाजवाद, राष्ट्र समुन्नतिका कुुनै पनि एजेण्डा कार्यक्रम तय गर्न नसकेर कुुइरीमण्डल र गोल चक्करमा रुमलिरहेको देखिन्छ ।

यसमा परिवर्तनको कुुनै चाहना नै देखिँदैन । पार्टी सञ्चालन विधि पनि लेनिनवादी संगठनात्मक सिद्धान्त नभई पुँजीवादी अराजकतावादमा आधारित छ । यस पार्टीबाट पनि जनतामा आशा र अपेक्षा मरिसकेको छ । तथापि यसको जनाधार पनि देशव्यापी र ठूलो छ ।

नेकपा माओवादी केन्द्र

‘संवैधानिक राजतन्त्रको विकल्प, नयाँ जनवादी गणतन्त्र, सामन्ती, नोकरशाही तथा दलाल पुँजीवादको विकल्प नयाँ जनवाद’ भन्ने मुल नाराका साथ २०५२ सालमा सुुरु भएको संसार हल्लाउने दश वर्षे जनयुद्धको जगमा खडा भएको अर्को ठूलो पार्टी नेकपा माओवादी केन्द्र हो ।

अर्ध सामन्ती र अर्ध औपनिवेशिक देशमा क्रान्ति सम्पन्न गर्ने माओको रणनैतिक कार्यदिशाबाट प्रभावित र निर्देशित जनयुद्धले नेपालको आफ्नै मौलिकतामा छोटो समयमा नै ठूलो फड्को मा¥यो । आठवटा प्रतिवद्धतासहित सञ्चालन भएको जनयुुद्ध एउटा राष्ट्रिय आन्दोलन थियो ।

यसले राजनैतिक, सामाजिक र सास्कृतिक रुपमा धेरै ठूलो परिवर्तन ल्यायो । सामन्तवादका गाँउ–गाँउसम्म फैलिएका जरा काट्न सफल भयो । सतिसालजस्तो ठिङ्ग उभिएको त्यो अजर अमर ठानिएको राजवृक्षलाई १९ दिने जनआन्दोलनको धक्काले गल्र्याम्मै ढालिदिएको कुुरा सबैले स्वीकारेका छन् । यसै दश वर्षे आन्दोलन (विद्रोह)को एजेण्डामा देश अहिलेसम्म चलिरहेको छ । राष्ट्रिय जागरणको हिसावले यो आन्दोलनको औधी महत्वपूर्ण छ ।

२०६२/०६३ पछि १२ बुँदे सम्झौताबाट नेकपा माओवादी केन्द्रको आन्दोलन पनि सम्झौतामा टुङ्गियो । संसदीय विकृति र दलाल पुँजीवादको चंगुलमा फसेर अपवित्र उन्मुख भएको कुुरा यर्थाथ हो । नयाँ जनवादी क्रान्तिका केही कार्यभार पूरा भएता पनि बाँकी कार्यभार पूरा गर्ने सवालमा अलमल र अपारदर्शिता देखिन्छ । राजनैतिक परिवर्तनका साथसाथै आर्थिक परिवर्तन र राष्ट्रिय स्वाधिनताको विषयमा अझै पनि अलमल छ ।

माओवादीका पनि स्पष्ट कार्यक्रम देखिँदैनन् । पार्टी सञ्चालनको लेनिनवादी संगठनात्मक प्रणाली ध्वस्त प्रायः भएको देखिन्छ । तर, पनि आशा गर्ने ठाउँ बाँकी छन् । यसको जनाधार पनि ठूलो र देशव्यापी छ । माओवादी केन्द्रले अर्को ठोस एजेण्डासहित पहलकदमी लिन नसकेमा देश फेरि लामो समय अस्थिरताको भड्कालोमा जाकिने र लथालिङ्ग हुुने कुुरा प्रष्टै छ ।

अन्य साना पार्टीहरू

वैचारिक रुपमा अविचलित र प्रतिवद्ध केही साना क्रान्तिकारी पार्टीहरू नेपालमा पहिलेदेखि अहिलेसम्म अस्तित्वमा छन् । तर, जनताबाट अलग–थलग भएपछि केही बैरागी बन्ने र केही अकर्मण्यतामा फसेर अस्तित्व धान्न धौ भएको छ । नियतले पवित्र भए तापनि केही गर्न नसक्नुु यिनको कमजोरी हो । “केही पनि नगर्नु भन्दा केही त गरौं” भन्ने मान्यतालाई मान्ने हो भने जनतासँग एकाकार हुुने खालका कुुनै न कुुनै कार्यदिशा अवलम्वन गर्नैपर्ने हुन्छ ।

कि त संसदीय गोलचक्कर कि त बन्दुक (युद्ध) मात्र कार्यनीति देख्ने साना कम्युनिष्ट क्रान्तिकारी पार्टीका नियति वन्न गएको छ । यसैले गर्दा जनताहरु यस्ता पार्टीले सञ्चालन गरेका आन्दोलनमा संगठित हुन सकिरहेका छैनन् । जनवादी क्रान्तिका उपलब्धीको रक्षा गर्दै बाँकी कार्यभार अंश–अंशमा भए पनि प्राप्त गर्दै जान सके राम्रो हुुने थियो ।

अन्य साना पुँजीवादी पार्टीहरूको ठूला पार्टीमा विलयको नियतिलाई कसैले रोक्न सक्दैन । किनभने, आधारभूत आन्दोलनको जगमा उठेका ठूला पार्टीहरूबाट छुट्टिएर गएका केही नेताहरुको विरासत र प्रभावले केही समय अस्तित्व धानेको जस्तो देखिए तापनि यिनीहरुसँग न त कुुनै मौलिक विचार छ, न त कुुनै प्रभावकारी कार्यक्रम र कार्यभार नै छ । त्यसैले क्षेत्रीय र भेगीयरुपमा सीमित हुनुपरेको छ ।

साना पार्टीको हकमा कुरा गर्दा रविन्द्र मिश्रको आफ्नै पार्टीमा फर्किनुको विकल्प देखिँदैन । महाविपत्ति र ठूलो उथलपुुथलविना हाम्रो जस्तो मुलुकमा प्राज्ञ भनाउँदाहरुले केही थान मानिस खेरेर गठन गर्दैमा पार्टी बन्दैनन्, न त त्यसको जन प्रभाव फैलिन्छ । तसर्थ यी साना पुँजीवादी पार्टीको अस्तित्व स्खलन हुँदै जाने देखिन्छ ।

अब के हुनुपर्छ ?

यसरी ह्रासोन्मुख प्रवृत्तिबाट गुज्रिरहेका राजनैतिक पार्टीहरूलाई विकसित गर्न र सबै मूल्य मान्यताले समृद्ध पार्न सके देशकै राज्य प्रणाली सुधार्न र सुध्रिन सक्छ । यसैमा प्रयत्न गर्नु सबैको अहिलेको प्रमुख चुनौती हो । ठूला पार्टीहरू देश तथा जनताको हित र जनजीविकाको सवालमा एकतावद्ध भई एक ढिक्का भैदिएमा देश बलियो हुुने लोकतान्त्रिक प्रणालीको विशेषता हो ।

निश्चित विचार, सिद्धान्त र कार्यक्रमसहित एक दुईवटा अभेद्य एकता भएका ठूलो पार्टी निर्माणले मात्र देश बलियो र समृद्ध हुुने ठाउँ रहन्छ । ठूला पार्टीभित्रको आन्तरिक कलहको परिणाम स्वरुप धेरै झिना मसिना पार्टी निर्माणले देश संकट ग्रस्त हुुने पक्का हो । फलस्वरुप हाम्रो देश राजनीतिक अस्थिरताबाट गुज्रिरहेको जगजाहेर नै छ ।

यस्तो प्रकारको अस्थिर दुर्दशाबाट पार पाउने हो भने देशलाई जनकल्याणार्थ नयाँ एजेण्डामा प्रवेश गराउनुपर्दछ । जस्तो राजनैतिक रुपमा प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख, आर्थिक रुपमा क्रान्तिकारी भूमिसुधार, दलाल पुँजीवादको विकल्प राष्ट्रिय पुँजीको विकास र राष्ट्रिय स्वाधीनतातर्फ आन्दोलन संगठित गर्न आवश्यक छ । यिनै एजेन्डाले पार्टी र देशलाई फेरि पनि माथि उठाउने छ र समग्रमा राष्ट्रलाई फाइदा पुग्न जाने निश्चित छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मोहनलाल ओली
मोहनलाल ओली
लेखकबाट थप