शिक्षा र सचेतना : उपयुक्त परिवार योजना
विश्व स्वास्थ्य सङ्गठनले दिएको परिभाषाअनुसार स्वास्थ्य भनेको कुनै पनि व्यक्तिलाई केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक रूपमा चुस्त दुरुस्त रहेको अवस्था हो । स्वास्थ्य भन्नाले माथिका तीनवटा पक्षको अतिरिक्त व्यक्तिको संवेगात्मक, आध्यात्मिक एवं बौद्धिक पक्षको सन्तुलित अवस्थालाई समेत जनाएको देखिन्छ ।
यसका साथै कुनै व्यक्ति तब मात्र स्वस्थ हुन्छ जब ऊ शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक, वातावरणीय र पर्यावरणीय, बौद्धिक तथा आध्यात्मिक सबै पक्षमा तन्दुरुस्त रही आफूलाई सन्तुलित अवस्थामा राख्न सक्छ । उपर्युक्त पक्षमाथि आफ्नो नियन्त्रण कायम गरी हर हिसाबले सन्तुलित र मानवोचित सामाजिक व्यवहार प्रस्तुत गर्न सक्ने कुनै पनि व्यक्तिलाई स्वस्थ व्यक्ति भन्न सकिन्छ ।
यसर्थ स्वास्थ्य भनेको मानव जीवनका हरेक उन्नति, प्रगति र समृद्धिको मार्ग प्रशस्त गर्ने बहु आयामिक पक्ष हो । यो राष्ट्रिय पहिचान, विकास र समृद्धिको आधार तथा महत्त्वपूर्ण सूचक पनि हो । वास्तवमा स्वस्थ जनशक्ति राष्ट्रको सम्पत्ति हो । किनभने मानिसको व्यक्तिगत उन्नति, प्रगति सामुदायिक एवं राष्ट्रिय अन्तर्राष्ट्रिय विकास तथा समृद्धि स्वस्थ जनशक्तिबाट मात्र सम्भव देखिन्छ ।
स्वयम् स्वास्थ्य अवस्था नै मजबुत नभएको जनशक्तिबाट राष्ट्रले नयाँ नयाँ अध्ययन अनुसन्धान, आविष्कार, विकास र समृद्धिको ढोका खोल्न कठिन हुने भएकाले हरेक देशले आफ्ना नागरिकहरूको स्वास्थ्य अवस्थालाई प्रमुख प्राथमिकतामा राखी नागरिकहरूको स्वास्थ्य सुधारमा महत्त्वपूर्ण लगानी गरिराखेको देखिन्छ ।
नागरिक स्वस्थ रहनको लागि आफू स्वयंले पनि मानव मनोविज्ञान, औषधि विज्ञान लगायतका सान्दर्भिक विषयहरूको बारेमा जानकारी राख्नु जरुरी हुन आउँछ । यो कुरा नियमित अध्ययन, तालिम र औपचारिक तथा अनौपचारिक शिक्षाको माध्यमबाट सम्भव हुन्छ ।
कुनै पनि व्यक्ति स्वस्थ रहेको सुनिश्चित गर्न निम्न पक्षलाई निर्धारक तत्वको रूपमा लिइएको देखिन्छ । जस्तैः व्यक्तिको आय तथा सामाजिक हैसियत र अवस्था, आपसी सहयोगको लागि स्थापित सामाजिक सञ्जाल र संयन्त्र, शिक्षा तथा साक्षरताको अवस्था, रोजगारी एवं कार्यस्थलको अवस्था र वातावरण, भौतिक वातावरण, स्वास्थ्यसम्बन्धी व्यक्तिगत आचरण तथा व्यवस्थापन सीप, बाल्यकालमा प्राप्त स्वस्थ रूपमा हुर्कने अवसर तथा वातावरण आदि ।
व्यक्ति, समाज तथा राष्ट्र विकासका लागि अति नै महत्त्वपूर्ण पक्ष मानव स्वास्थ्यको विषयलाई नेपालले पनि उच्च प्राथमिकता दिएको यी संवैधानिक प्रावधानले समेत पुष्टि गर्दछ । यस विषयलाई संविधानको मौलिक हकअन्तर्गत धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरी निम्न हकको सुनिश्चित गरेको छः
१. प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन ।
२. प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ ।
३. प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ ।
४. प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ ।
यसैगरी मानव स्वास्थ्य प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने वातावरणीय पक्षलाई स्वस्थ राख्नुपर्ने आवश्यकता महसुस गरी धारा ३० मा स्वच्छ वातावरणको हकअन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ भनी उल्लेख गरिएको छ । वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हक समेतको सुनिश्चितता गरेको देखिन्छ ।
मानिसलाई वयस्क अवस्थामा स्वस्थ रहनका लागि बाल्यकालमा हुर्कनका लागि प्राप्त स्वस्थ वातावरण निर्णायक हुने भएकोले यसप्रति स्वयं सम्बन्धित परिवारसमेत जिम्मेवार रहनुपर्ने भनेको छ । त्यसका लागि धारा ३९ को उपधारा २ मा यस्तो व्यवस्था छ– प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ ।
यसैगरी नेपालको संविधानको धारा ५२ को खण्ड ‘ज’ मा नागरिकका आधारभूत आवश्यकतासम्बन्धी नीतिमा निम्न विषयहरू उल्लेख भएका छन्– (१) नागरिकलाई स्वस्थ बनाउन राज्यले जनस्वास्थ्यको क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि गर्दै जाने, (२) गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच सुनिश्चित गर्ने, (३) नेपालको परम्परागत चिकित्सा पद्धतिका रूपमा रहेको आयुर्वेदिक, प्राकृतिक चिकित्सा र होमियोपेथिक लगायत स्वास्थ्य पद्धतिको संरक्षण र प्रवद्र्धन गर्ने (४) स्वास्थ्य क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै यस क्षेत्रमा भएको निजी लगानीलाई नियमन र व्यवस्थापन गरी सेवा मूलक बनाउने, (५) स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्य अनुसन्धानमा जोड दिँदै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सङ्ख्या वृद्धि गर्दै जाने, (६) नेपालको क्षमता र आवश्यकताका आधारमा जनसङ्ख्या व्यवस्थापनका लागि परिवार नियोजनलाई प्रोत्साहित गर्दै मातृ शिशु मृत्युदर घटाई औसत आयु बढाउने ।
माथिका नीतिगत व्यवस्थालाई नियाल्ने हो भने राज्यले आफ्नो स्रोत साधनहरूलाई स्वास्थ्य क्षेत्रको विकास र सुदृढीकरणमा केन्द्रित गर्दै लैजाने, मुलुकमा बढ्दै गइरहेको सेवाग्राही जनसङ्ख्याको अनुपातमा सेवा प्रदायक संस्था र प्राविधिक जनशक्तिको सङ्ख्या आवश्यकताअनुसार बढाउँदै आधुनिक उपकरणहरूको प्रभावकारी प्रयोगमार्फत स्वास्थ्य सेवाहरुलाई जनमैत्री, सहज, सुलभ र सरल बनाउने, सेवा ग्राही र सेवा प्रदायकबीच रहेको हालको असन्तुलित अवस्थालाई उपयुक्त आकारमा ल्याई सेवाको गुणस्तर बढाउने, देशमा बढ्दो जनसङ्ख्याको चापलाई व्यवस्थापन योग्य आकारमा ल्याउन नागरिक सचेतना, परिवार नियोजनका उपयुक्त साधनहरुको प्रयोगमा प्रोत्साहित गर्दै मातृ शिशु मृत्युदर घटाई औसत आयु बढाउने जस्ता आदर्श नीतिहरू अवलम्बन गरेको देखिन्छ ।
नागरिक चेतना अभिवृद्धि र व्यवहार परिवर्तन जस्ता महत्त्वपूर्ण गुणहरू शिक्षा तथा तालिममार्फत प्राप्त हुने भएकाले यी विषयवस्तुलाई औपचारिक शिक्षाको अभिन्न अङ्गका रूपमा स्थापित गराउन सके मात्र राज्य निर्धारित उपर्युक्त सुनौला नीति तथा सोचहरूले मूर्तरूप हासिल गर्न सक्छन् । तसर्थ माथिका नीतिहरू सर्वसाधारण नागरिकहरूको व्यवहारमार्फत प्रतिबिम्बित गरी जनस्वास्थ्यमा अपेक्षित सुधार ल्याउन विद्यालय शिक्षाको पाठ्यक्रमले निम्न व्यवस्था गरेको देखिन्छ ।
प्रारम्भिक बाल विकास र शिक्षा ः यो चार वर्ष उमेर पूरा गरेका बालबालिकाहरूलाई विविध प्रकारका मनोरञ्जनात्मक सिकाइ सहजीकरण क्रियाकलापका माध्यमबाट उनीहरूको सर्वाङ्गीण विकासमा सहयोग पुर्याउन प्रदान गरिने एक वर्षको शिक्षा हो । यस तहमा बालबालिकाले आफ्नो मातृभाषामा समेत सिक्ने अवसर प्राप्त गर्ने हुनाले सिकाइमा सहजता आउने देखिन्छ ।
यस अवधिमा हासिल हुने पाठ्यक्रमद्वारा निर्धारित शिक्षाका ६ वटा सक्षमताहरूमध्ये स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सक्षमता यस प्रकार छन् : १. पोषणयुक्त खाना र स्वस्थकर बानी विकास, २. सरसफाइ र सामाजिक बानी व्यवहारको अवलम्बन ।
यस प्रकार हेर्ने हो भने बालबालिकाहरूलाई सानै उमेरदेखि नै स्वास्थ्यकर बानी विकास गराई पोषणयुक्त खानामा जोड दिनुको साथै व्यक्तिगत सरसफाइमा ध्यान दिँदै सोही अनुरूप सामाजिक बानी व्यवहारको अवलम्बनमा प्राथमिकता दिएको देखिन्छ; जसलाई जनस्वास्थ्यमा सुधारको प्रारम्भिक प्रयासको रूपमा लिन सकिन्छ । यी सक्षमता प्राप्तिका लागि आधारभूत सीप सिकाइका क्षेत्रअन्तर्गत बालबालिकाहरूमा निम्न सीप हासिल गराउन वार्षिक ३८४ घण्टाका क्रियाकलापहरू तर्जुमा गरिएका छन् । जस्तैः (क) शारीरिक सीप, (ख) संवेगात्मक सीप, (ग) सामाजिक, सांस्कृतिक र नैतिक सीप, (घ) बौद्धिक तथा मानसिक सीप, (ङ) स्वास्थ्य, पोषण, सुरक्षा र वातावरण सीप (च) सिर्जनात्मक सीप ।
आधारभूत शिक्षा (कक्षा १–८) : यस तहको शिक्षाले विद्यार्थी केन्द्रित शिक्षाको माध्यमद्वारा बालबालिकाहरूमा अन्तर्निहित प्रतिभाको विकास गराउँदै मुख्यतया स्वावलम्बी, परिश्रमी, वैज्ञानिक सुझबुझ भएका, स्वास्थ्यप्रति सचेत र नैतिकवान बालबालिका तयार पार्ने उद्देश्य राखेको छ ।
यस तहको शिक्षाका लागि निर्धारित १२ वटा सक्षमताहरूमध्ये निम्न सक्षमताहरू स्वास्थ्यसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा सम्बन्धित देखिन्छन् । १. जनसङ्ख्या, वातावरण संरक्षण र दिगो विकास बीचको अन्तर–सम्बन्धको बोध र व्यवस्थापनमा सहयोग, २. शारीरिक तन्दुरुस्ती, स्वस्थकर जीवनशैली र जीवनोपयोगी सीपको विकास ।
यसबाट एकातर्फ जनसङ्ख्या र स्रोत साधन बीचको सन्तुलन कायम राख्न, मानव स्वास्थ्यसँग प्रत्यक्ष रूपमा गाँसिएको वातावरणीय सन्तुलन कायम गराउन सकारात्मक सोच र व्यवहारको विकास गराई दिगो विकासको अवधारणालाई प्रवद्र्धन गर्न सक्ने नागरिक उत्पादनका लागि उर्वर वातावरण निर्माणमा जोड दिएको देखिन्छ ।
अर्कोेतर्फ शारीरिक रूपमा तन्दुरुस्त जनशक्ति नै राष्ट्र निर्माणको अभियन्ता बन्न सक्ने भएको हुँदा सोतर्फ समयमै प्रेरित गरी स्वस्थकर जीवनशैली अवलम्वनमा विद्यार्थीहरूलाई प्रोत्साहित गर्ने उद्देश्य लिएको देखिन्छ । बालबालिकाहरूमा उपर्युक्त सक्षमता हासिल गराउन कक्षा १–३ मा वार्षिक १२८ घण्टाको विज्ञान, स्वास्थ्य र शारीरिक शिक्षासम्बन्धी क्रियाकलापहरू निर्धारण गरिएका छन् ।
कक्षा ४–५ को लागि वार्षिक ९६ घण्टाको स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कलासम्बन्धी क्रियाकलापहरू सञ्चालन गर्न पाठ्यक्रमले निर्देश गरेको छ । यसैगरी कक्षा ६–८ को साधारण शिक्षातर्फ वार्षिक ९६ घण्टाका लागि स्वास्थ्य तथा शारीरिक शिक्षाका क्रियाकलापहरू कक्षा कोठाभित्र बालकेन्द्रित एवं बालमैत्री वातावरणमा सञ्चालन गर्नुपर्ने पाठ्यक्रमले सुनिश्चित गरेको अवस्था छ ।
माध्यमिक शिक्षा (कक्षा ९–१२): सिकाइको सार्थकता व्यक्तिको व्यवहारमा देखिने सकारात्मक परिवर्तनबाट अनुभूत गर्ने विषय हो । कुनै पनि सिकाइ प्रक्रियाको अन्तिम अभिलाषा शिक्षा पद्धतिले राखेका शिक्षाका उद्देश्यहरू सिकारुका व्यवहारमार्फत प्रतिबिम्बित गरी सकारात्मक सोच भएको सक्षम, स्वस्थ, धैर्य, विश्लेषणात्मक क्षमता भएको, स्वावलम्बी, आत्मनिर्भर, सहिष्णु, सहयोगी, मिलनसार, बौद्धिक, चेतनशील, नैतिकवान, प्रतिष्पर्धी लगायत समय तथा समाज सापेक्ष गुणहरूले ओतप्रोत नागरिक तयार पार्नु हुने गर्दछ ।
यस तहको शिक्षा प्रणालीले अपेक्षा गरेका विविध सक्षमतामध्ये स्वास्थ्य र परिवार योजनासँग सम्बन्धित सक्षमता यस प्रकार छ– स्वास्थ्यप्रतिको सचेततासहित वातावरण संरक्षण र संवर्द्धन तथा जनसङ्ख्या व्यवस्थापनमा सक्रिय सहभागिता रहने भन्ने उल्लेख भएको छ । यो तह पार गरेको व्यक्ति वयस्क अवस्थामा प्रवेश गरिसकेको हुने र विस्तारै पारिवारिक जिम्मेवारी र दायित्व निर्वाह गर्नेतर्फ पनि अग्रसर हुँदै जानुपर्ने भएकाले निजहरूमा स्वास्थ्यप्रतिको पर्याप्त सजगता अभिवृद्धि हुनुपर्छ ।
साथै जनसङ्ख्या व्यवस्थापन र परिवार योजनामा समेत योगदान दिन सक्षम हुने अपेक्षा राखेको छ हाम्रो शिक्षा प्रणालीले । यो तह पार गरेको व्यक्तिले सिद्धान्त र व्यवहार बीचको अन्तर सम्बन्धको विश्लेषण गरी तादम्यता कायम गर्न सक्षम हुनुपर्छ ।
आफ्ना भावना र विचार स्पष्टसित राखी श्रोताहरूमा राम्रो प्रभाव जमाउन सक्ने भएको हुँदा यो समूह हरेक क्षेत्रमा आफू सजग र जानकार रही अन्य समूहमा पनि सूचना प्रसारक तथा परिवर्तनको संवाहकको रूपमा स्थापित हुन सक्ने अपेक्षा गरेको देखिन्छ । यसैगरी हाम्रो शिक्षा प्रणालीले कक्षा ११–१२ को अध्ययन पूरा गरेको व्यक्ति स्वस्थ जीवनशैलीको अवलम्बन गर्दै वातावरण संरक्षण र दिगो विकासका लागि भूमिका निर्वाह गर्न सक्षम हुने अपेक्षा राखेको देखिन्छ ।
सिकारुहरूमा उपर्युक्त सक्षमता हासिल गराउन कक्षा ९–१० को साधारण शिक्षातर्फ ऐच्छिक प्रथम पत्रको रूपमा वार्षिक १२८ कार्य घण्टाको जनसङ्ख्या अध्ययन विषय पठनपाठन गराउनुको साथै अन्य विषयहरूमा पनि स्वास्थ्य शिक्षाका विषयवस्तुहरु एकीकृत रूपमा समावेश गराई यससम्बन्धी जानकारी प्रवाह गर्ने प्रयास भएको पाइन्छ ।
यसैगरी कक्षा ९–१० कै ऐच्छिक दोस्रो पत्रका रूपमा वार्षिक १२८ घण्टा क्रियाकलाप सञ्चालन गरी तोकिएको सक्षमता हासिल गराउन स्वास्थ्य तथा शारीरिक शिक्षा विषय निर्धारण गरिएको छ । यस्तै योग शिक्षा अध्ययन गर्न चाहनेका लागि योग शिक्षामार्फत स्वास्थ्य सचेतना र शारीरिक तन्दुरुस्ती कायम गराउँदै स्वस्थ समाज निर्माणमा योगदान पुर्याउन अग्रसर नागरिक विकास गर्ने लक्ष्य राखेको देखिन्छ ।
यस्तै कक्षा ११ र १२ का लागि ऐच्छिक पहिलो पत्रका रूपमा स्वास्थ्य तथा शारीरिक शिक्षा विषय निर्धारण गरिएको छ भने दोस्रो पत्रका रूपमा जनसङ्ख्या अध्ययन विषय राखी यी विषयको पठनपाठनमार्फत उपर्युक्त सक्षमता विद्यार्थीहरूमा हासिल गराउने लक्ष्य राखिएको छ ।
उल्लिखित शिक्षाका तहगत सक्षमता सामान्य शब्द तर व्यापक अर्थमा उल्लेख गरिने भएकाले यसको विस्तृतीकरण सम्बन्धित विषयको पाठ्यक्रममा गरिएको हुन्छ । त्यसलाई मार्गदर्शक मानी विकास गरिएको पाठ्यपुस्तक समेतका आधारमा विज्ञ शिक्षकहरूबाट मनोरञ्जनात्मक बालमैत्री र विद्यार्थी केन्द्रित वातावरणमा कक्षाकोठाभित्र गरिने शिक्षक विद्यार्थी बीचको अन्तक्रिर्यामार्फत सिकारुहरूमा सैद्धान्तिक एवं व्यावहारिक ज्ञान प्रवाह गरी उनीहरूको व्यवहार परिवर्तन गराई समग्र रूपमा स्वस्थ र समृद्ध व्यक्ति, समाज तथा राष्ट्र निर्माणका लागि इमानदार प्रयास केन्द्रित गर्ने जुझारु र ऊर्जाशील नागरिक निर्माण गर्ने लक्ष्य नेपालको विद्यालय शिक्षाले राखेको देखिन्छ ।
कुनै पनि समाजमा अपेक्षित सुधार र परिवर्तन शिक्षित तथा चेतनशील नागरिकहरूको संयुक्त प्रयासबाट सम्भव हुने भएकाले जब नेपाली समाज पनि शिक्षाको मार्गमा आशातीत रूपमा अगाडि बढ्दै गयो सोही अनुपातमा सामाजिक सुधारका अभियानहरूले मूर्त रूप लिँदै गएको देखिन्छ ।
उपलब्ध स्रोतसाधनको उपभोग उपर भावी सन्ततिहरूको अधिकारलाई सुरक्षित राख्दै वर्तमानको आवश्यकतालाई पूरा गरी सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्नको निम्ति अहिलेको जिम्मेवार र चेतनशील समुदायले उत्तरदायीपूर्ण उपभोगको सिद्धान्तलाई अवलम्बन गर्नु जरुरी देखिन्छ ।
यसका लागि प्राकृतिक स्रोत साधन र जनसङ्ख्या बीचको सन्तुलन हरहमेसा कायम राख्न आवश्यक हुन्छ । राज्यको क्षमताले धान्न सक्ने आकारको जनसङ्ख्या निर्माणका लागि आजका प्रजनन उमेरका नागरिकहरूले परिवार नियोजनका उपयुक्त साधनहरुको बिना हिचकिचाहट अवलम्बन गरून् ।
यो उमेर समूहका सबै नागरिकहरूलाई परिवार नियोजनका साधनको प्रयोग गरी उपयुक्त जन्मान्तर कायम गर्दै पारिवारिक क्षमताले भ्याउन सक्ने गरी चाहेको सङ्ख्यामा मात्र सन्तान उत्पादनका लागि प्रेरित गर्न सामुदायिक जागरण अभियन्ताका रूपमा काम गर्न जरुरी देखिन्छ ।
यो उद्देश्य प्राप्तिको लागि राज्यले सरोकारवाला वर्गको निम्ति परिवार नियोजनका साधनहरुको सहज र सुलभ पहुँचको नीति अवलम्बन गरेको छ । अझ यसको प्राप्यता र उपयोगलाई व्यापक बनाउँदै यसको उपयोगिता तथा महत्त्वको विषयमा जनजागरण अभियान सञ्चालन गर्न आवश्यक देखिएको छ ।
यसैगरी राष्ट्रिय युवा नीति–२०७२ ले परिवार योजनाको विषयलाई यसरी सम्बोधन गरेको छ– (१) परिवार नियोजन, मातृशिशु स्याहार, मातृत्व अधिकार, शिशु जन्मान्तर जस्ता विषयमा स्वास्थ्य संस्थाहरूसँग समन्वय गरी युवालाई प्रशिक्षित गरिनेछ । (२) महिलाको प्रजनन अधिकार स्थापित गर्दै उनीहरूको प्रजनन स्वास्थ्य स्थितिमा सुधार ल्याउन विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
(३) गर्भवती र प्रसूति अवस्थाको हेरचाहलाई राज्यको दायित्वका रूपमा स्थापित गर्नेतर्फ कार्यक्रम सञ्चालन गरिने छ । (४) दाम्पत्य जीवनसँग सम्बन्धित विषयमा युवालाई मनोवैज्ञानिक तथा अन्य संवेदनशील विषयमा परामर्शका लागि युवा सूचना तथा परामर्श केन्द्रको स्थापना गरिनेछ ।
नेपालको विद्यालय शिक्षामा पठनपाठन गरिने विषयवस्तुमा जनसङ्ख्या व्यवस्थापन, प्रजनन स्वास्थ्य, परिवार योजना तथा परिवार नियोजनका साधनहरुको उपलब्धता र प्रयोगको विषयमा पर्याप्त सन्देशहरू समावेश भए पनि कतिपय विद्यालयमा योग्य शिक्षकको अभाव छ भने कतिपयले यस्ता क्रियाकलापमाथि कक्षामा खुलेर छलफल तथा अन्तरक्रिया गर्न हिच्किचाइरहेको अवस्थासमेत देखिन्छ ।
तापनि आधुनिक पुस्ता भने यस विषयमा अलि खुलेरै कुराकानी गर्न सक्ने अवस्थामा पुगेको अनुभूति हुन थालेको छ । यस्तै परिवर्तनको परिणामस्वरूप राज्यले स्वास्थ्य क्षेत्रको सुधारका लागि लिएका लक्ष्य तथा सूचकहरू प्राप्तितर्फ उल्लेख्य प्रगति हासिल भएको विभिन्न सरकारी तथ्याङ्कहरूले पुष्टि गरेका छन् ।
(लेखक नेपाल सरकारका उपसचिव हुन् ।)