बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिक दलहरुबाटै जनस्वास्थ्यका मापदण्ड उल्लंघन

जनस्वास्थ्यविद् भन्छन्– कोरोना संक्रमण बढ्न सक्छ
शनिबार, १६ असोज २०७८, १० : ०२
शनिबार, १६ असोज २०७८

काठमाडौं । कोरोनाभाइरस (कोभिड¬–१९) संक्रमणको जोखिम कायम छ । संक्रमण दर कम भए पनि जोखिम कायम रहेकाले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक रुपमा अपिल गर्दै आएको छ । सरकारले कोरोना संक्रमणको जोखिम कायम रहेकाले चाडपर्व, सभा सम्मेलनका नाममा भिडभाड नगर्न आह्वान गर्दै आएको छ । तर, सरकारमा रहने दल हुन् वा प्रतिपक्ष दलहरुले महामारीकै समयमा कार्यकर्ता भेलादेखि सभा, सम्मेलन आयोजना गरेर जनस्वास्थ्यका मापदण्ड उल्लंघन गरिरहेका छन् ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको नेकपा एमालेको विधान महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी छन् । तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोहमा सहभागी नेता तथा कार्यकर्ताको भिडमा न त सामाजिक दूरी कायम थियो, न त सही रुपमा मास्कको प्रयोग नै गरिएको थियो ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन बिहीबारदेखि राजधानीमा सुरु भएको छ । कमलादीमा भइरहेको सम्मेलनका लागि देशभरबाट २२ सयको हाराहारीमा प्रतिनिधि सहभागी छन् ।

अर्कोतिर हिन्दु धर्मावलम्बीको मुख्य पर्व दसैँ नजिकिएकाले बजारमा निकै भिडभाड बढेको छ । कोरोना संक्रमणको जोखिम कायम रहेकै समयमा जनस्वास्थ्यका मापदण्ड पालना नगरी यस्ता कार्यक्रम र भिडले संक्रमण दर बढाउन सक्ने चेतावनी जनस्वास्थ्यविद्ले दिएका छन् ।

तेस्रो लहरको खतरा

वर्तमान समयमा कोरोना संक्रमणलाई कम गर्ने अवसर भए पनि चुक्ने स्थिति सिर्जना भएको जनस्वास्थ्यविद्हरुको भनाइ छ । सभा, सम्मेलन र पर्वका नाममा गरिएको भिडले संक्रमणको जोखिम झन् उच्च भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा. बाबुराम मरासिनी बताउँछन् ।

‘एमालेको महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरु लामो समयसम्म सार्वजनिक यातायातमा यात्रा गरेर काठमाडौं आएका छन्,’ उनले भने, ‘महामारी कायम छ, यस्तो अवस्थामा को कहाँबाट संक्रमित भएर कार्यक्रममा सहभागी भएका छन् भन्ने कुराको पत्तो नै हुँदैन ।’

जनस्वास्थ्यविद् डा. शरद वन्त महामारीका बिचमा भएका यस्ता सभा, सम्मेलन लगायतका गतिविधिले संक्रमणलाई निम्त्याउने काम गरिरहेको बताउँछन् । ‘राजनीतिक दलहरुले कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बाध्यता छन् होला तर, जिम्मेवार पार्टीले जनस्वास्थ्यका मापदण्ड पालना नगरीकन अगाडि बढ्दा कोरोनालाई निम्ता दिएजस्तो भयो,’ उनले भने ।

डा. वन्तका अनुसार, तीन दिन गर्ने कार्यक्रमलाई १२ दिनसम्म सञ्चालन गरेर ६ हजारको साटो एक–एक हजार प्रतिनिधिलाई दैनिक रुपमा कार्यक्रममा समेट्ने हो भने यस्ता कार्यक्रममा पनि भिडलाई कम गरेर पूर्ण रुपमा जनस्वास्थ्यमा मापदण्ड पालना गर्न सकिन्छ । त्यस्तो अवस्थामा भने संक्रमण बढ्ने सम्भावना कम हुन सक्ने उनको भनाइ छ ।

यस्ता असावधानीका कारण नै कोरोना संक्रमणको तेस्रो लहरको खतरा बढेको विज्ञहरुको भनाइ छ । नेपालमा असोजको तेस्रो सातादेखि कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी यसअघि नै दिइएको थियो । 

एमालेको विधान महाधिवेशनमा र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको कार्यक्रममा सहभागी भएमा सबैलाई कोरोना परीक्षणको व्यवस्था नमिलाएकाले संक्रमणको जोखिम झन् उच्च भएको डा. मरासिनी बताउँछन् ।

नयाँ भाइरसको त्रास

कोरोनाविरुद्धको खोप लक्षित जनसंख्यामध्ये २९.१ प्रतिशतले मात्रै लगाएका छन् । एकथरीमा थाहा पाएर वा नपाएर कोरोना संक्रमित भई एन्टिबडी विकास भएको छ भने अर्काथरी संक्रमित पनि नभएका र खोपको पहुँच पनि नपुगेको अवस्थामा छन् । त्यसैले महामारी कायम रहँदा ठूलाठूला जमघटमा असावधानी अपनाउँदा संक्रमण दर बढ्ने सक्ने खतरा उच्च भएको जनस्वास्थ्यविद्हरु बताउँछन् ।

कोरोनाविरुद्धको खोप लगाएर र कोभिड भई शरीरमा विकास भएका एन्टिबडी कतिन्जेल रहन्छ भन्नेबारे अनभिज्ञ रहेको अवस्थामा वृहत् रुपमा आयोजना गरिएका सभा सम्मेलनले पुनः खतराको घण्टी बजाउन सक्ने उनीहरुको चेतावनी छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सिक्वेन्सिङ गरेकामध्ये धेरैमा डेल्टा भाइरस पुष्टि भएको छ । डेल्टा भाइरसको संक्रमण दर उच्च रहेकाले कोरोना तीव्ररुपमा फैलिन सक्ने विज्ञहरु बताउँछन् ।

‘कारबाही गर्न आँट गर्नुपर्छ’

सरकारले भिडभाड गर्न, जात्रा महोत्सव, भोज आदि नगर्न नगराउन आग्रह गरेको छ । काठमाडौं उपत्यका लगायत विभिन्न जिल्ला प्रशासनले महामारीमा चाडपर्वका बेला सकेसम्म घरभित्रैका वा परिवारका व्यक्तिमात्रै सामेल हुन आह्वान गर्दै आएका छन् । तर, राजनीतिक दलहरुले भने जनस्वास्थ्यका मापदण्ड पालना नगरीकन वृहत् भेला गर्दा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासनले कारबाहीका लागि आँट गर्नुपर्ने डा. मरासिनी बताउँछन् । सर्वसाधारण जनतालाई मास्क नलगाए जरिवाना तिराउने सरकारले आम भेला गरेर जनस्वास्थ्यका मापदण्ड उल्लंघन गर्दै यस्ता कार्यक्रम गरेकोमा दलहरुलाई पनि कारबाहीको दायरामा ल्याउन आँट गर्नुपर्ने उनले बताए ।

कोरोना कै कारण पछिल्लो समय दैनिक १२–१३ जनाको मृत्यु हुँदै आएको छ । दैनिक संक्रमितको संख्या १०००–१२०० को दरमा देखा पर्दै आएको छ । यस्तो अवस्था सचेत हुनुको विकल्प नभएको  विज्ञहरु बताउँछन् । कोरोना महामारी कायम रहेकाले अनिवार्य रुपमा सामाजिक दूरी, सही रुपमा मास्कको प्रयोग र हातको सरसफाइमा सबैले जोड दिनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप