बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विधान महाधिवेशनका प्रतिनिधि भन्छन्– अब एमाले बलियो हुन्छ (भिडियो)

शनिबार, १६ असोज २०७८, ०९ : २३
शनिबार, १६ असोज २०७८

ललितपुरको गोदावरीमा नेकपा एमालेको तीन दिने विधान अधिवेशन जारी छ । अधिवेशनमा देशभरबाट ५ हजार हाराहारी एमालेका नेता तथा कार्यकर्ताहरू प्रतिनिधिका रूपमा सहभागी छन् । महाधिवेशनमा सहभागी करिब ६ हजार प्रतिनिधिहरूले १० वटा समूहमा विभाजित भएर तीनवटा प्रतिवेदनमाथि छलफल गर्दैछन् ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् भने महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् । यी प्रस्तावमाथि छलफल गरेर महाधिवेशन आइतबार सम्पन्न गर्ने एमालेको कार्यसूची छ । 

एमालेको विधान महाधिवेशन अन्तगरत दोस्रो दिन शनिबार समूहगत छलफल गर्ने र समूहका नेताहरूबाट सुझावहरू प्रस्तुत गर्ने कार्यक्रम  छ । तेस्रो दिन अर्थात् आइतबार छलफलबाट आएका सुझावमाथि शीर्ष नेतृत्वले जवाफ दिने कार्यसूची  छ ।

सप्तरीबाट आएका एमाले प्रतिनिधि अखिलेस झाले पार्टीको विधान अब राम्रो हुने र अझै अगाडि बढ्ने उल्लेख गरे । उनले अब पार्टीमा गुट–उपगुट नहुने बताउँदै सबैले समानरुपमा काम गर्न पाउने बताए ।

देशका विभिन्न भूभागबाट आएका एमालेका नेता तथा कार्यकर्ताले इतिहासमै पहिलो हुन गइरहेको विधान महाधिवेशनले पार्टीलाई एकताबद्ध र बलियो बनाउने प्रतिक्रिया दिएका छन् । अब एमाले बलियो भएर अगाडि बढ्ने एमाले कार्यकर्ताहरूमा विश्वास देखिएको छ ।

एमाले कञ्चनपुर जिल्ला सचिव सुरेन्द्र विष्टले यो महाधिवेशनबाट सङ्गठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमा छलफल हुने बताउँदै यसबाट एमाले देशभक्त, वामपन्थी लोकतान्त्रिक पार्टीको मूल धारका रूपमा अघि बढ्ने बताए । उनले जीवन्त पार्टीमा विवाद उत्पन्न हुने कुरा स्वाभाविक भएको बताउँदै त्यस्ता विषयहरू समाधान हुँदै जाने उल्लेख गरे ।

​यस्तै एमाले रामेछापका जिल्ला पार्टी अध्यक्ष शान्तिप्रसाद पौडेलले कम्युनिष्ट पार्टीमा नेतृत्वका लागि र विधानका लागि एउटै अधिवेशन गर्ने प्रचलन रहेकोमा यो अधिवेशन फरक रहेको बताए । उनले पार्टीको महाधिवेशनमा नेतृत्व चयनमा बढी ध्यान जाने र नीति तथा विधानका बारेमा कम छलफल हुने भएकाले पार्टीको नवौँ महाधिवेशनमै यस खालको विधान अधिवेशन गर्ने अवधारणा आएको उल्लेख गरे ।

यो विधान महाधिवेशनमा एमालेको भावी कार्यदिशा तय गरेर जानुपर्ने बताउँदै स्थानीय तहदेखि केन्द्रसम्म जनताले सरकार सञ्चालन गर्नका लागि दिएको अभिमतको कति सदुपयोग गर्न सकियो, त्यसको पनि मूल्याङ्कन गर्दै योजनाहरू अघि बढाउनुपर्ने पौडेलले रातोपाटीलाई बताए ।

यस्तै, विधान अधिवेशनमा सहभागी हुन आएका एमालेका कार्यकर्ता डम्बर शर्माले एमालेमा विधान महाधिवेशन आवश्यक रहेको बताउँदै यसले पार्टीलाई नयाँ स्वरूपमा लैजाने आशा प्रकट गरे ।

एमाले सांसद सुमन प्याकुरेलले विधान महाधिवेशनले मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादलाई अझ अगाडि बढाउने प्रतिक्रिया दिए । उनले भने, ‘एमाले नेपालको सबैभन्दा जनप्रिय र जिम्मेवार पार्टी हो, हिजो हामीभित्रै केही समस्या थिए, पार्टीका फोहोरहरू र गलत चिन्तनलाई हटाएर अब नयाँ स्पिरिटका साथ अगाडि बढ्छौँ ।’

विधान महाधिवेशनमा आएकी तनहुँको भिमाद नगरपालिकाकी उपप्रमुख शारदा खनालले अब चुस्त, दुरुस्त र ऊर्जाशील पार्टी बन्ने विश्वास व्यक्त गरिन् । त्यसैगरी भक्तपुरबाट आएकी प्रतिनिधि उत्तरा नेपालले अब फेरि पनि एमाले देशको ठूलो पार्टी बन्ने उल्लेख गरिन् । उनले यो महाधिवेशनबाट एमालेको नयाँ लहर सिर्जना भएको उल्लेख गर्दै विधान संशोधन गरेर महिला सहभागितालाई अझै महत्वपूर्ण स्थान दिने अपेक्षा पनि ब्यक्त गरिन् ।

सप्तरीबाट आएका एमाले प्रतिनिधि अखिलेस झाले पार्टीको विधान अब राम्रो हुने र अझै अगाडि बढ्ने उल्लेख गरे । उनले अब पार्टीमा गुट–उपगुट नहुने बताउँदै सबैले समानरुपमा काम गर्न पाउने बताए ।

हेटौँडाबाट विधान महाधिवेशनमा भाग लिन आएका एमालेका बागमती प्रदेश सदस्य देवराज रिमालले एमालेभित्र विगतमा देखिएका सांगठनिक, राजनीतिक, वैचारिक कमजोरीलाई सच्याउँदै असल कार्यदिशाका आधारमा पार्टी अगाडि बढ्ने बताए । उनले पार्टीभित्र बेला–बेला समस्या आउने बताउँदै आगामी दिनमा विगतको जस्तो समस्या नआउने विश्वास व्यक्त गरे ।

हेर्नुहोस् भिडियो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप