बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

पूर्वसतर्कताका आदेश जारी गरिएको काठमाडौँ प्रशासनको स्पष्टीकरण

शुक्रबार, १५ असोज २०७८, १९ : ५९
शुक्रबार, १५ असोज २०७८

काठमाडौँ प्रशासनले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गरिएका काम कारबाहीमा कुनै अवरोध नरहने जनाएको छ । प्रशासनबाट बिहीबार जारी आदेशको बुँदा नम्बर १ मा उल्लेखित विषयमा सार्वजनिकरुपमाा भएको चासो, चिन्ता र अभिव्यक्तिका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रशासनले पूर्वसतर्कताका लागि मात्रै आदेश जारी गरिएको आज विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । 

बुँदा नम्बर १ मा कोभिड–१९ सङ्क्रमण कायमै रहेको हुँदा अनावश्यकरूपमा मानिस घरबाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा, जुलुस गर्ने, जात्रा महोत्सव भोजआदि नगर्ने/नगराउने उल्लेख छ । उक्त आदेशले कुनै पनि प्रकारका सभा, सम्मेलन, धार्मिक तथा सांस्कृतिक मेला, जात्रा, पर्वलगायत चाडपर्व लक्षित अन्य क्रियाकलाप गर्दा स्वास्थ्यको मापदण्ड पालना गरी गर्न/गराउन कुनै बन्देज नलगाइएको जारी विज्ञप्तिमा उल्लेख छ । 

वर्तमान समयमा कोभिडको जोखिम कायमै रहेकाले त्यसको नियन्त्रणका सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय एवं प्रचलित कानुनले दिएको अधिकारको प्रयोग गरी यसअघि जारी भएका आदेशको निरन्तरताको रूपमा उक्त आदेश जारी गरिएको काठमाडौँ प्रशासनले स्पष्ट पारेको छ । उक्त आदेश कोभिड–१९ सङ्क्रमण फैलिन नदिनका लागि पालना गर्नुपर्ने मापदण्ड र पूर्वसतर्कताका सम्बन्धमा मात्र जारी गरिएको विज्ञप्तिमा भनिएको छ । 

यसअघि बिहीबार साँझ गृह मन्त्रालयले पनि सूचना जारी गरी नेपालको संविधान, प्रचलित कानुन र कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य मापदण्डभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप