बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वमाओवादी एक हुनुपर्ने प्रचण्डको प्रस्तावमा बाबुरामले भने, ‘भावनात्मक कुरा मात्रै’

चुनावी तालमेल गर्न सकिने
शुक्रबार, १५ असोज २०७८, १९ : ०३
शुक्रबार, १५ असोज २०७८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विभिन्न समूहमा रहेका पूर्व माओवादीहरू एक हुनुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार प्रगतिवादी कवि दिलीपकुमार श्रेष्ठको ‘सपनाको पाण्डुलिपि’ गीतिसंग्रह विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई भ्रष्टीकरण र बिसर्जित गर्ने षड्यन्त्र भइरहेको भन्दै अहिलेको आवश्यकता पूर्वमाओवादीहरू एक ठाउँमा उभिनुपर्ने रहेको बताएका हुन् । 

उनले भने – ‘अहिले जसरी माओवादी जनयुद्धलाई बिद्रुपीकरण गर्ने, त्यसलाई भ्रष्टीकरण गर्ने, माओवादी आन्दोलनलाई विखण्डित र बिसर्जित​ गर्ने षड्यन्त्रहरू तीव्र भइराखेका छन् अहिले पनि । त्यसका विरुद्ध एक हुने उपायहरूको खोजी गर्नु बुद्धिमानी हुन्छ । अहिलेको बुद्धिमानी त्यो चाहिँ हो । अहिलेको मार्क्सवाद त्यही हो । हामी हिजो सँगै लडाइँ लडेका र यसलाई बिद्रुपीकरण गर्ने, यसलाई भ्रष्टिकरण गर्ने, यसलाई विखण्डित गर्ने, यसलाई बिसर्जित​ गर्न चाहने प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध एकजुट हुने आजको आवश्यकता हो । एकताको खोजी गरौँ हामी सबैले । त्यसको खोजी आत्मसमीक्षाबाट सुरु हुन्छ ।’

अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुले आफूहरूलाई सखाप पार्ने षड्यन्त्र गरेकाले त्यसका विरुद्ध नयाँ खालको जनयुद्धको खोजी गर्नुपर्ने बताए । लाखौँ जनतालाई लिएर आन्दोलित भई वर्तमान निर्वाचन प्रणालीलाई परिवर्तन गर्न सकिने उनले बताए । सबै एक भए शासकीय स्वरूप फेर्न र वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचान र अधिकारलाई धेरै माथि पु–याउन सकिने उनले उल्लेख गरे । उनले भने – ‘अहिले नै हतियार बोक्ने र भूमिगत हुने त मैले सोचेको छैन । तर नयाँ खालको जनयुद्धको खोजी चाहिँ गर्नु छ यो प्रतिक्रियावादीले यसरी नै हेप्ने हो हामीलाई, यसरी नै घेरा हालेर सखाप पार्ने हो भने लाखौँ जनता लिएर सडकमा हामी मिलेर उत्रिने हो भने अहिले पनि यस्ता यिनीहरूको दलाल पुँजीपतिका निर्वाचन प्रणालीहरूलाई ध्वस्त पारिदिन सकिन्छ । यिनीहरूले बनाएको शासकीय स्वरूप फेरिदिन सकिन्छ हामी । हामीले हाम्रो वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचान र अधिकारलाई धेरै माथि पु-याउन सकिन्छ । हामीले गर्न सकिने धेरै छ, किनकि दुई पटक प्रतिनिधि सभा विघटन गरेर देशी विदेशी सबै मिलेर प्रतिक्रियावादी मिलेर हामीलाई सखाप पार्न खोज्दा हामी जनताको साथमा बसेर लाखौँ जनतालाई लिएर तिनीहरूलाई परास्त गर्न हामी सफल भएका छौँ । हामी अहिले हिजोका जनयुद्धका सहयात्रीहरू सबैले आ–आफ्नो आत्मसमीक्षा इमान्दारीता साथ, मार्क्सवादी स्प्रिटको साथ गर्न तयार हुने हो र समाजवादप्रति इमान्दार भएर कार्यक्रम बनाएर अगाडी लाग्ने हो भने हामी अझै पनि यो देशको मुख्य शक्तिको रूपमा, निर्णायक शक्तिको रूपमा अगाडी बढ्ने सम्भावना छ । हामी सबै आत्मसमीक्षाको लागि तयार हौँ ।’  

कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वमाओवादीहरू एकै ठाउँमा आउने कुरा भावनात्मक कुरा मात्रै भएको टिप्पणी गरे । उनले पूर्वमाओवादी एक ठाउँमा आउने भन्दा पनि नयाँ विचार र संगठनको आवश्यकता रहेको औँल्याए । 

पूर्व माओवादीहरू एकै ठाउँमा नभई नयाँ ठाउँमा आबद्ध हुनुपर्ने उनको भनाई छ । उनले भने – ‘भावनाको हदसम्म साथीहरूले भनेको कुरा सही छ । तर त्यो भावनाले ज्ञान र विज्ञानमा पनि त परिणत गर्नुप-यो । विवेकसँग ज्ञानमा पनि बदल्नुप-यो । त्यो भनेको नयाँ विचार हो । नयाँ विचार सँगसँगै पार्टीको पनि नयाँ संगठन, नयाँ ढाँचा हो । त्यसैले त्यसमा पहिले बहस छलफल गरौँ । अनि त्यसको आधारमा हामी मात्रै भएर मात्रै पनि त पुग्दैन । नयाँ जनसङ्ख्या आयो, तिनलाई समेट्नु परेन ? हामीले हिजोका मात्रै गला मिलाएर बस्छौ भनेर हुन्छ ? सही विचार, नीति, कार्यक्रम र योजनाको आधारमा फेरी नयाँ ढंगले चाहिँ हामी अगाडी बढौँ । सबै पूर्वमाओवादी एकै ठाउँ आउँ भन्ने होइन, सबै पूर्वमाओवादीहरू नयाँ ठाउँमा जाऊँ भन्नुप-यो क्या । नयाँ ठाउँमा गएपछि त्यसले चाहिँ यो देशको मात्रै होइन विश्व मानव जातिकै निम्ति योगदान गर्न सक्छ ।’

अध्यक्ष भट्टराईले केपी ओलीले गरेको प्रतिगमन परास्त भएपनि प्रतिगमनको नयाँ संस्करण आउनसक्ने बताए । उनले भने – ‘प्रतिगमनको नयाँ संस्करण आउने सङ्केत देखिरहेको छु । दोस्रो संस्करण नयाँ ढंगले आउँदैछ । अर्लि इलेक्शनको नाममा फेरी उही पुरानै काँग्रेस र ओलीको एमालेलाई अगाडी ल्याउने र बाँकी माओवादी, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतको जुन पछिल्ला आन्दोलनको जगमा यो संविधान बन्यो त्यसलाई संवैधानिक ढंगले संसद् भित्रैबाट त्यसलाई उल्ट्याइदिने प्रयत्न फेरि पनि दोस्रो संस्करणको रूपमा आउँदैछ । अग्रगामी शक्तिहरू प्रतिगमनका विरुद्ध एक हुने, सहकार्य गर्ने, आवश्यक परे चुनावी तालमेल पनि गर्ने र भोली गएर बहस, छलफल गरेर फेरी एकै ठाउँमा आउने यो सम्भव छ ।’

अध्यक्ष भट्टराईले अग्रगामी शक्तिहरू प्रतिगमनको विरुद्ध एक हुनुपर्ने र आवश्यकता अनुसार चुनावी तालमेलसम्म गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप