शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कुमनलाई हटाउने बार्सिलोनाको तयारी

शुक्रबार, १५ असोज २०७८, १७ : ००
शुक्रबार, १५ असोज २०७८

बार्सिलोनाले म्यानेजर रोनाल्ड कुमनलाई हटाउने तयारी गरेको छ । स्पेनिस फुटबल विज्ञ गुलियम बालागका अनुसार अर्को खेलअघि नै बार्साले कुमनलाई हटाउने सम्भावना प्रबल रहेको छ ।

बार्सिलोनाले यो सिजन च्याम्पियन्स लिगको दुवै खेल गुमाएको छ । बुधबार बेनफिकासँग बार्सा ३–० ले पराजित भएको थियो । ला लिगामा टोली अपराजित रहे पनि ६ खेलमध्ये ३ मा बराबरी गर्दै लिगको छैटौँ स्थानमा सीमित रहेको छ ।

‘खाली समयको मात्र कुरा हो, हामीले छिट्टै कुमानलाई हटाएको समाचार सुन्ने छौँ,’ बालागले भने, ‘लिसबनबाट बार्सिलोनामा फर्किएपछि अध्यक्ष जोआन लापोर्टा र निर्णयकर्ताहरुबीच छलफल रहेको थियो । उनीहरू त्यसपछि प्रशिक्षण केन्द्रमा पुगेर नयाँ योजना तयार गरेका थिए । कुमनलाई हटाउन सही समय र सही योजना आवश्यक रहेको छ ।’

गत मार्चमा अध्यक्ष निर्वाचित भएयता कुमन र लापोर्टाबीच सम्बन्ध सुमधुर छैन ।  ‘शनिबार एथ्लेटिको विरुद्धको खेलमा निलम्बनका कारण कुमन मैदानमा उपस्थित हुन पाउनेछैनन् । त्यसैले अहिले नै वा अर्को खेलअघि बर्खास्त गर्ने बारे छलफल भएको छ,’ बालाग भन्छन् ।

कुमनको स्थानमा बेल्जियमका म्यानेजर रोबार्टो मार्टिनेजलाई क्लबले भित्र्याउने तयारी गरिएको समाचारहरू बाहिर आएका छन् । त्यस्तै, रिभर प्लेटका मार्सेलो गलार्डो तथा युभेन्टसका पूर्व म्यानेजर आन्द्रे पिर्लोको नाम पनि चर्चामा छ । बालागका अनुसार पूर्व खेलाडी ज्याभीको पनि म्यानेजरका रुपमा पुनरागमन हुने सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप