साफ च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध कस्तो रहला नेपालको प्रदर्शन ?

साफ च्याम्पियनसिप फुटबलमा आज आयोजक माल्दिभ्स र नेपालबीच भिडन्त हुँदैछ । यो खेल नेपाली समयअनुसार ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ । राउन्ड रोबिन लिगका आधारमा हुने यस संस्करणको प्रतियोगितामा पाँच टिम सहभागी छन् । सहभागी पाँच टिममध्ये शीर्ष स्थानमा रहने दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
दुईपटक साफ च्याम्पियनसिप जितिसकेको माल्दिभ्सले घरेलु मैदानमा भने उपाधि जित्न सकेको छैन । त्यसैले यसपटक राजधानी माले शहरमा आयोजना हुने प्रतियोगितालाई लिएर माल्दिभ्स निकै उत्साहित छ । सन् २००८ मा माल्दिभ्सले पहिलोपटक साफ च्याम्पियनसिप जितेको थियो । यतिबेला माल्दिभ्स र श्रीलंका सह–आयोजक थिए । तर, समूह चरणका खेल घरेलु भूमिमै खेले पनि भारत विरुद्धको फाइनल खेल माल्दिभ्सले श्रीलंकामा जितेको थियो ।
२०१८ मा आयोजित साफको पछिल्लो संस्करणमा पनि माल्दिभ्सले नै उपाधि जितेको थियो । यता, नेपालले अहिलेसम्म प्रतियोगिताको फाइनलमा स्थान बनाउन सकेको छैन । यसका बाबजुद यसपटक नेपालको आँखा उपाधिमै केन्द्रीत छ । ‘हामी यहाँ उत्कृष्ट टोलीका रुपमा आएका हौं । हामी नतिजाका लागि मैदानमा भिड्नेछौँ,’ नेपालका कप्तान किरण चेम्जोङले बिहीबार आयोजक पत्रकार सम्मेलनमा भनेका छन् ।
नेपालले प्रतियोगिताको तयारी स्वरुप काठमाडौंमा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो । यसमध्ये एक खेल बराबरीमा सकियो भने दोस्रो खेलमा भारत विजयी भयो । त्यसैगरी नेपालले कतारको दोहामा पनि प्रतियोगिताका लागि बन्द प्रशिक्षण गर्यो ।
नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठ माल्दिभ्स कठिन प्रतिस्पर्धी भएको स्वीकार्छन् । ‘उनीहरु एउटा राम्रो टिम र साबिक विजेता पनि हुन् । त्यसमाथि घरेलु मैदानमा खेलिरहेका छन् । हाम्रा लागि यो खेल कठिन हुनेछ’ श्रेष्ठले भने,‘यदि प्रतियोगिताका दाबेदार टिमहरूका विषय सोध्नुभयो भनेर भारत र माल्दिभ्सको नाम अगाडि आउँछ । भारतले सात र माल्दिभ्सले दुईपटक उपाधि जितेका छन् । तर यसपटक नेपालको तयारी राम्रो छ ।’
गोलकिपर किरण चेम्जोङ नेपालको इतिहासमै सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी हुन् । त्यस्तै, इन्डोनेसियाको पर्सिया जर्काताबाट व्यवसाहिक फुटबल खेल्ने रोहित चन्द नेपालका अर्का अनुभवी खेलाडी हुन् । सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र अन्जन विष्टसँग पनि अन्तर्राष्ट्रिय खेलको राम्रो अनुभव छ । सँगसँगै नेपाली नेपाली टिममा युवा खेलाडीहरूको पनि राम्रो उपस्थिति छ । युवा तथा अनुभवी खेलाडीहरूले भरिएको टिम भएकाले नेपालले राम्रो नतिजा ल्याउनेमा प्रशिक्षक अब्दुल्लाह आलमुताइरी विश्वस्त छन् ।
यता, माल्दिभ्स आफ्ना सर्वाधिक गोलकर्ता अलि अस्फाकको कप्तानी मैदानमा उत्रनेछ । उनले ७२ खेलमा माल्दिभ्सका लागि ५३ गोल गरेका छन् । आशादुल्लाह अब्दुल्लाह र अली फसिर माल्दिभ्सका अन्य अनुभवी स्ट्राइकर हुन् । टोलीमा हसन नजिमजस्ता युवा स्टार पनि छन् । माल्दिभ्ससँग अहिलेसम्म खेलेका १६ अन्तर्राष्ट्रिय खेलमध्ये नेपालले चारवटा खेल जितेको छ । त्यस्तै, चार खेल बराबरीमा टुंगिएको छ भने ८ खेल माल्दिभ्सले जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटर दीपेन्द्रसिंह ऐरी एनएसएल फुटबलमा धनगढी एफसीको सद्भावनादूत नियुक्त
-
जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर ’ निर्माण
-
सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि इन्स्पेक्टर जोशी पक्राउ
-
माओवादी अभियान : प्रचण्डसहितको टोली मोरङमा, सहिद परिवारसँग भेट
-
केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो
-
मस्कले संघीय कर्मचारीलाई इमेलको जवाफ दिन अर्को मौका पनि दिने