यौन दुर्व्यवहारको उजुरी गर्दा पनि सुनुवाइ नभएपछि बालिकाद्वारा आत्महत्या
धनुषाको जनकनन्दनी गाउँपालिका–४ बस्ने १२ वर्षीया ममता कामतले न्याय नपाउँदा आवेगमा आएर विषपान गरी आत्महत्या गरेकी छन् । उनले असोज १२ गते विष खाएर आत्महत्या गरेकी हुन् । कक्षा ७ मा अध्ययनरत उनीमाथि भदौ २३ मा ट्युसन पढेर घर फर्किने क्रममा सोही गाउँका तीन युवाले यौन दुर्व्यवहार गरेको आरोपका साथ परिवारले स्थानीय प्रहरी चौकीमा उजुरी दिएको थियो ।
ती युवाले मोबाइल नम्बर लेखिएको एउटा पर्ची ममताको हातमा जबर्जस्ती थमाएको बताइन्छ । दुर्व्यवहारबारे बालिकाले परिवारजनलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय खजुरीमा भदौ २४ मा आफूहरुले जाहेरी दिएको मृतकका पिता सुरेश कामतले बताए । प्रहरीले गाउँमै घटना मिलाउन भनेपछि आफूहरुले जनकनन्दनी गाउँपालिका– ४ का वडा अध्यक्ष हरिचन्द्र कामतलाई गुनासो गरेको उनको भनाइ छ ।
वडा कार्यालयमा भदौ २५ मा सो घटनाबारे छलफल भए पनि कुनै निष्कर्ष निस्किएन । दुर्व्यवहार गर्ने पक्षका रामउदगार दासले होहल्ला गरेपछि छलफल कुनै टुङ्गोमा नपुगेको वडा अध्यक्ष हरिचन्द्र कामतले जानकारी दिए । न्यायमा ढिला हुँदा बालिकाले आत्महत्या गरेको स्थानीयवासी धुपु कापरले बताए । ईलाका प्रहरी कार्यालयमा जाहेरी दिँदा समेत प्रहरीले कारवाही प्रक्रिया नबढाउँदा बालिकाले आत्महत्या रोजेको उनको भनाइ छ ।
इप्रका खजुरीका इन्सपेक्टर रवि मैनालीले पीडित परिवारले उजुरी दिँदा पीडित बालिकालाई नल्याएका कारण दर्ता प्रक्रिया अघि बढ्न नसकेको बताए । पीडित परिवारको उजुरीको आधारमा आरोपित तीन जनालाई प्रहरी कार्यालयमा बोलाएर आफूहरुले सोधपुछसमेत गरेको उनको भनाइ छ ।
घटना अनुसन्धानको क्रममा पीडित बालिकाको समेत बयान आवश्यक रहेकाले उनलाई बोलाएको तर नआउँदा आफूहरुले घटना दर्ता गर्न नसकेको उनले बताए । प्रादेशिक अस्पताल जनकपुरधाममा बालिकाको शव पोस्टमार्टम गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको प्राथमिकतामा परेन एकता वार्ता समिति
-
जनक शिक्षा सामाग्री केन्द्रको प्रबन्ध सञ्चालकका लागि दरखास्त आह्वान
-
सन्तान सम्बन्धको आँसु !
-
एनआईसी एशिया लघुवित्तको साढे चार लाख कित्ता शेयर रूपान्तरण हुँदै
-
पछिल्लो आठ पालीमा एक शतक, ६ अर्धशतक र पाँच सयभन्दा बढी रन
-
ट्रम्पले भने, ‘प्यालेस्टिनीहरूलाई आफ्नो देशमा राख्न अस्वीकार गर्ने देशहरूको सहयोग रोक्छु’