शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यौन दुर्व्यवहारको उजुरी गर्दा पनि सुनुवाइ नभएपछि बालिकाद्वारा आत्महत्या

बिहीबार, १४ असोज २०७८, २१ : १३
बिहीबार, १४ असोज २०७८

धनुषाको जनकनन्दनी गाउँपालिका–४ बस्ने १२ वर्षीया ममता कामतले न्याय नपाउँदा आवेगमा आएर विषपान गरी आत्महत्या गरेकी छन् । उनले असोज १२ गते विष खाएर आत्महत्या गरेकी हुन् । कक्षा ७ मा अध्ययनरत उनीमाथि भदौ २३ मा ट्युसन पढेर घर फर्किने क्रममा सोही गाउँका तीन युवाले यौन दुर्व्यवहार गरेको आरोपका साथ परिवारले स्थानीय प्रहरी चौकीमा उजुरी दिएको थियो ।

ती युवाले मोबाइल नम्बर लेखिएको एउटा पर्ची ममताको हातमा जबर्जस्ती थमाएको बताइन्छ । दुर्व्यवहारबारे बालिकाले परिवारजनलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय खजुरीमा भदौ २४ मा आफूहरुले जाहेरी दिएको मृतकका पिता सुरेश कामतले बताए । प्रहरीले गाउँमै घटना मिलाउन भनेपछि आफूहरुले जनकनन्दनी गाउँपालिका– ४ का वडा अध्यक्ष हरिचन्द्र कामतलाई गुनासो गरेको उनको भनाइ छ ।

वडा कार्यालयमा भदौ २५ मा सो घटनाबारे छलफल भए पनि कुनै निष्कर्ष निस्किएन । दुर्व्यवहार गर्ने पक्षका रामउदगार दासले होहल्ला गरेपछि छलफल कुनै टुङ्गोमा नपुगेको वडा अध्यक्ष हरिचन्द्र कामतले जानकारी दिए । न्यायमा ढिला हुँदा बालिकाले आत्महत्या गरेको स्थानीयवासी धुपु कापरले बताए । ईलाका प्रहरी कार्यालयमा जाहेरी दिँदा समेत प्रहरीले कारवाही प्रक्रिया नबढाउँदा बालिकाले आत्महत्या रोजेको उनको भनाइ छ ।

इप्रका खजुरीका इन्सपेक्टर रवि मैनालीले पीडित परिवारले उजुरी दिँदा पीडित बालिकालाई नल्याएका कारण दर्ता प्रक्रिया अघि बढ्न नसकेको बताए । पीडित परिवारको उजुरीको आधारमा आरोपित तीन जनालाई प्रहरी कार्यालयमा बोलाएर आफूहरुले सोधपुछसमेत गरेको उनको भनाइ छ ।

घटना अनुसन्धानको क्रममा पीडित बालिकाको समेत बयान आवश्यक रहेकाले उनलाई बोलाएको तर नआउँदा आफूहरुले घटना दर्ता गर्न नसकेको उनले बताए । प्रादेशिक अस्पताल जनकपुरधाममा बालिकाको शव पोस्टमार्टम गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप