काँग्रेस अधिवेशन : कपिलवस्तुका पालिकामा को–को भए विजयी
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कपिलवस्तुमा एक नगरपालिकासहित ९ वटा स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ । १० स्थानीय तह रहेको कपिलवस्तुमा एउटा गाउँपालिकाको वार्ड अधिवेशन रोकिएका कारण त्यहाँ पालिका अधिवेशन हुन सकेको छैन ।
यशोधरा गाउँपालिकाको वार्ड नम्बर ७ मा अधिवेशन हुन नसक्दा पालिकाकै अधिवेशन रोकिएको छ । त्यहाँ चाँडै समस्या टुङ्ग्याउने जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्तले जानकारी दिएका छन् ।
बुधबार अधिवेशन सम्पन्न भएका ९ पालिकामध्ये ८ वटामा चुनावबाट र एउटा पालिकामा सहमतिबाट नेतृत्व छनौट भएको छ । पूर्व मन्त्री एवं काँग्रेसका नेता दीपकुमार उपाध्यायको गृह जिल्लामा देउवा र पौडेल पक्षबीच मुख्य प्रतिस्पर्धा भएकोमा मिश्रित परिणाम आएको काँग्रेसका जिल्लास्तरका नेताहरु बताउँछन् ।
वाणगंगाको सभापतिमा विष्णु थापा
नेपाली काँग्रेस वाणगंगा नगरपालिकाको नगर सभापतिमा विष्णु थापा निर्वाचित भएका छन् । नगर अधिवेशनमा उनले प्रतिस्पर्धी वीरेन्द्र श्रेष्ठ र रविराज आचार्यलाई पछि पार्दै जित हासिल गरेका हुन् । उनी वाणगंगा नगर समितिका पूर्व उपसभापतिसमेत हुन् ।
यस्तै उपभापतिमा भवानदास चौधरी, रमेशचन्द भुसाल, सचिवमा सूर्यप्रसाद बराल र गोविन्दप्रसाद आचार्य, सह–सचिवमा सुवास पौडेल, शान्ता पोखरेल निर्वाचित भएका छन् ।
कृष्णनगरमा देवानन्द शुक्ला विजयी
जिल्लाको अर्को नगरपालिका कृष्णनगरमा देवानन्द शुक्ला नगर सभापतिमा विजयी भएका छन् । उनले प्रतिस्पर्धी अजय उपाध्यायलाई पराजित गरे । शुक्लाले ९५ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी अजय उपाध्यायले ७९ मत प्राप्त गरेका छन् ।
कपिलवस्तु नगर सभापतिमा खुर्सेद अहमद खाँ
जिल्लाको अर्को पुरानो नगरपालिका कपिलवस्तु नगरपालिका सभापतिमा खुर्सेद अहमद खाँ निर्वाचित भएका छन् । यो नगरपालिका नेपाली काँग्रेसको राम्रै पकड छ ।
नगर अधिवेशनमा तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै खाँ निर्वाचित भएका हुन् । उनले ८२ मत पाएका थिए भने उनका प्रतिस्पर्धी प्रशान्त कार्कीले ५७, गोपीकृष्ण शर्माले ६४ र माया ज्ञवालीले ७ मत ल्याए ।
महाराजगन्ज नगर सभापतिमा सर्वसम्मत
महाराजगन्ज नगरपालिकामा काँग्रेसले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । नगर अधिवेशनले रामअचल कुर्मीको नेतृत्वमा निर्विरोध नेतृत्व चयन गरेको हो ।
अन्य पालिकामा को को भए विजयी ?
बुद्धभूमि नगर कार्यसमितिको सभापतिमा माधव दमासे निर्वाचित भएका छन् । शुद्धोधन गाउँपालिका सभापतिमा विश्वम्भर कुर्मी, मायादेवी गाउँपालिकाको सभापतिमा शैलेन्द्र दुवे निर्वाचित भएका छन् ।
त्यस्तै विजयनगर गाउँपालिकामा जानकीप्रसाद यादव निर्वाचित भएका छन् भने शिवराज नगरपालिका सभापतिमा मधुसुदन पोख्रेल विजयी भएका छन् ।