सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

रियलमा जमेको बेन्जेमा र भिनिसियसको जोडी

बिहीबार, १४ असोज २०७८, १६ : १८
बिहीबार, १४ असोज २०७८

स्पेनिस ला लिगाको सातौं चरणको खेल सकिँदा रियल म्याड्रिड बलियो अवस्थामा छ । अपराजित रियलको यात्रामा कप्तान करिम बेन्जेमा र भिनिसियस जुनियरले उत्कृष्ठ प्रदर्शन गरिरहेका छन् । रियलमा अहिले यी दुईको जोडी खास जमेको छ । रियलले ला लिगाको सात खेलमा २२ गोल गर्दा बेन्जेमा र भिनिसियसले मात्र १३ गोल गरिसकेका छन् । सात खेलमा आठ गोल गरेका बेन्जेमाले सात असिस्ट पनि दिए । बेन्जेमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष सुचीमा पनि छन् । पाँच गोल गरेका भिनिसियस दोस्रो स्थानमा छन् । भिनिसियसले सात खेलमा पाँच गोल गर्दै दुई असिस्ट दिएका छन् ।

च्याम्पियन्स लिगमा सेरिफ टिरास्पोलसँगको खेलको नतिजा विर्सने हो भने रियलको प्रदर्शन दमदार बनिहेको छ । मंगलबार च्याम्पियन्स लिगको समूह चरणको खेलमा रियल सेरिफ टिरास्पोलसँग २–१ गोलले पराजित भएको थियो । उक्त खेलमा बेन्जेमाले नै गोल गरे ।​सर्बकालीन खेलाडी क्रिस्टियानो रोनाल्डोले रियल छाडेयता रियलको कमान्ड सम्हाल्ने काम उनै बेन्जेमाले गरेका छन् । ३३ बर्षीय फ्रेन्च स्ट्राईकर बेन्जेमाले हरेक खेलमा आफुलाई थप उर्जाबान बनाई रहेका छन् । सन् २००९ देखि रियलको जर्सी लगाएका बेन्जेमाले ला लिगामा मात्र ब्यक्तिगत दुई सय गोल गरिसकेका छन् ।

उनी रियलमा सर्वाधिक गोलकर्ताको सुचीमा भने पाँचौं स्थानमा छन् । बेन्जेमाले रियलमा दुई सय ८८ गोल गरिसकेका छन् । चौथो स्थानमा उक्लन उनलाई अब दुई गोलको खाँचो छ । चौथो स्थानमा रहेका कार्लोस कासटिलानाको नाममा दुई सय ९० गोल छ ।

रियलमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्षसुचीमा रोनाल्डो छन् । सन् २००९ देखि २०१८ सम्म नौ बर्ष रियलमा विताएमा रोनाल्डोले रियलका लागि चार सय ५१ गोल गरेका छन् । ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि रोनाल्डोकै नाममा छ । रोनाल्डोले ला लिगामा तीन सय १२ गोल गरेका छन् । दोस्रो स्थानमा रहेका राउल गोन्जालेजले तीन सय २३ र तेस्रो स्थानमा रहेका अल्फ्रेडो डि स्टेफानोले तीन सय आठ गोल गरेका छन् ।

रियलमा बेन्जेमालाई अग्रपंक्तिमा बलियो साथ भिनिसियस जुनियरले दिईरहेका छन् । ला लिगामा रियलको यो जोडीलाई हल्लाउन अहिले जुनकुनै टोलीको रक्षापंक्तिलाई हम्मेहम्मे परिरहेको छ । २१ बर्षीय ब्राजिलियन विङगर भिनिसियस सन् २०१८ देखि रियलमा छन् । उनले रियलको सिनियर टोलीबाट ८९ खेलमा १३ गोल गरेका छन् । बेन्जेमासँग उत्कृष्ट तालमेल मिलाई रहेका भिनिसियसलाई यससिजन ब्यक्तिगत गोल संख्या बढाउने राम्रो मौका छ ।

स्पेनिस ला लिगाका आठौं चरणको खेलहरु सुक्रबार रातिदेखि सुरु हुँदैछ । शीर्षटोली रियलले भने आठौं चरणको खेल अक्टोबर ३ तारिख स्पान्योलसँग खेल्नेछ । लिगमा रियलले १७ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको रियल सोसिडाडको १६ अंक छ । तेस्रो स्थानमा रहेको सेभिया र चौथो स्थानमा रहेको साविक विजेता एट्लेटिको म्याड्रिडको समान १४ अंक छ ।

विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रत्यक्ष हेर्न पाइने ब्यवस्था छ । ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप