शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकीका मुख्यमन्त्रीसहित मन्त्रीहरुले गरे विमानस्थल निरीक्षण

बुधबार, १३ असोज २०७८, २१ : ३३
बुधबार, १३ असोज २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री सहितका आधादर्जन मन्त्रीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । बुधबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का, अर्थमन्त्री रामजी बराल, पर्यटन मन्त्री मणिभद्र शर्मा, सञ्चार, कानून तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापा सहितका मन्त्रीहरु पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणमा पुगेका हुन् । 

गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएको एकसय दिन पुगिसक्दा समेत जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप खेपिरहेको पोखरेल नेतृत्वको सरकार बुधबार आधा दर्जन मन्त्री र एक हुल मानिस सहित आफ्नै योजनामा काम भइरहेको विमानस्थलको निरीक्षणका लागि पुगेका हुन ।

कोरोना संक्रमणका कारण आवश्यक उपकरणसहित प्राविधिक ल्याउन नपाएर एक वर्षको समय थप भएको आयोजनाको प्रगतिका वारेमा मुख्यमन्त्री पोखरेल सहितको टोलीले जानकारी लिएका थिए ।  मुख्यमन्त्री पोखरेल सहितको टोलीलाई विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले आयोजनाको काम थपिएको समय अगावै सक्ने गरि काम भइरहेको जानकारी गराएका थिए । 

मुनकर्मीले पृथ्वी राजमार्गसहित पोखरा क्षेत्रको ढलको पानी विमानस्थलतर्फ आउदा समस्या देखिएकाले त्यसको नियन्त्रणका लागि आवश्यक ब्यवस्था मिलाउन मुख्यमन्त्रीको ध्यानाकर्षण गरेका थिए । त्यसैगरी उनले विमानस्थलको काम ८३ प्रतिशत सकिएको जानकारी गराउँदै एयरपोर्ट पूर्व दक्षिणतर्फ रहेका ल्याण्ड फिल्ड साइड स्थानान्तरण गर्न र रिठ्ठेपानी डाँडा कटानको काम तत्कालै अगाडी बढाउन आग्रह गरे ।

मुख्यमन्त्री पोखरेलले विमास्थलमा आउने बाढी नियन्त्रणका लागि संघ सरकारसंग आर्थिक स्रोत व्यवस्थापनका लागि पहल गर्ने बताउदै ल्याण्ड फिल्ड साइड र रिठ्ठेपानी डाँडा कटानको प्रक्रिया अगाडि बढेको बताए ।  चिनियाँ एक्जिम बैंकको झण्डै २२ अर्ब रुपैयाँ ऋण सहयोगमा विमानस्थल निर्माणको काम भइरहेको छ । एक्जिम बैंकको ऋण रकममध्ये ७५ प्रतिशत (बैंकको २ प्रतिशत ब्याजमा) र २५ प्रतिशत चीन सरकारको बिना ब्याजको ऋणमा विमानस्थल निर्माण भइरहेको हो ।

झण्डै ३७ सय रोपनी क्षेत्रफलमा निर्माण भइरहेको विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) को मापदण्डअनुसार ४ ‘डी’ मोडलमा निर्माण गरिएको छ ।  विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० का जहाज अवतरण हुने छन् । विमानस्थलको धावन मार्गको लम्बाइ २५ सय मिटर र रन वे को चौडाइ ४५ मिटर छ । 

विमानस्थलका लागि सरकारले २०३२ मा ३ हजार १ सय ६ रोपनी जग्गा लिएको थियो । त्यतिले नपुगेपछि ६ सय २९ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो । तर, परियोजनाले भने अझ जग्गा अधिकरण गर्न पर्ने बताउँदै आएको छ ।

२०७४ असारदेखि निर्माण सुरु गरिएको विमानस्थल सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी काम थालिएको थियो । तर, अप्रत्याशितरुपमा कोरोना संक्रमण फैलिएपछि निर्माणको काम अवरुद्ध भएपछि एक वर्षको समय थपिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप