शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सर्वदलीय बैठक : केपी ओली बालुवाटार जालान् ?

माधव नेपाल र सभामुख नजाने बैठकमा एमाले सहभागी हुने सत्तापक्षको आश
बुधबार, १३ असोज २०७८, २० : ५१
बुधबार, १३ असोज २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको अवरोध हटाउनेबारे छलफल गर्न विहीबार बिहान १० बजे बालुवाटारमा सर्वदलीय बैठक आयोजना गरेका छन् । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने–नहुने निश्चित छैन ।

‘विहीबार दिउँसो प्रतिनिधिसभाको बैठक बस्दैछ, त्यसअघि संसदको अवरोधबारे छलफल गर्न प्रधानमन्त्रीले बिहान १० बजे बालुवाटारमा सर्वदलीय बैठक राख्नुभएको छ,’ प्रधानमन्त्रीको प्रेस सल्लाहकारको भूमिकामा रहेका गोविन्द परियारले रातोपाटीसँग भने, ‘सर्वदलीय बैठकमा नेकपा एमालेसहित संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई निम्त्याइएको छ ।’

बिहीबारको सर्वदलीय बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निमन्त्रणा गरिएको बालुवाटार स्रोतले बतायो ।

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी हुने–नहुने निश्चित छैन । यसअघि सभामुखले आयोजना गरेको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो । आफूहरुले कारवाही गरेका माधव कुमार नेपाल बैठकमा सहभागी भएको भन्दै एमालेले सभामुखद्वारा बोलाइएको सर्वदलीय बैठक बहिस्कार गरेको हो । साथै आफूहरुले सभामुखको निर्णयमा आपत्ति जनाएर संसद अवरुद्ध गरेको हुनाले सभामुखको निम्तो अस्वीकार गरिएको एमाले नेताहरुले बताएका थिए ।

​नेकपा एमालेले माधव नेपालहरुमाथिको कारवाहीको सूचना सभामुखले नटाँसेसम्म संसद अवरुद्ध गर्ने बताउँदै आएको छ । शुक्रबारको बैठक पनि अवरुद्ध पार्ने एमालेको तयारीको छ । सत्तापक्षले भने एमालेले माग गरे वमोजिम राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिइसकेको हुनाले संसदको अवरोध खोल्न प्रतिपक्षलाई आग्रह गर्ने तयारी गरेको छ । त्यसैका लागि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक राखेको काँग्रेस नेताहरु बताउँछन् ।

तर, प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा एमाले नेताहरु सहभागी हुने, नहुने बुधबार रातिसम्म स्पष्ट भइसकेको छैन । ‘बैठकमा जानेबारे अध्यक्षज्यूबाट कुनै खबर आइसकेको छैन’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले रातोपाटीसँग भने, ‘खबर आउला, अध्यक्षबाट जस्तो निर्देशन आउँछ, एमाले सोहीअनुसार अगाडि बढ्छ ।’

बिहान बालुवाटारको सर्वदलीय बैठक सकिएपछि दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । संसद बैठक सकिएपछि अपरान्ह सत्ता गठबन्धन दलहरुले मन्त्रिमण्डल विस्तारका लागि बालुवाटारमा छलफल गर्ने कार्यसूची छ । प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा माधव नेपाल भने उपस्थित नहुने स्रोतले बतायो । बिरामी भएका कारण नेता नेपाल बैठकमा आउने भएका हुन् । नेता नेपालको अनुपस्थितिले एमाले अध्यक्ष ओलीलाई बालुवाटार जान सहज हुने सत्तापक्षका नेताहरु बताउँछन् ।

भाइरल ज्वरोका कारण बिरामी परेका नेता नेपाल बुधबार साँझ शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनको अवस्था सामान्य नै रहेको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले रातोपाटीलाई बताए । प्रधानमन्त्रीले देउवाले आयोजना गरेको दलहरूको बैठकमा सभामुख अग्नि सापकोटा पनि नजाने भएका कारण ओलीले यो बैठकमा भाग लिने काँग्रेस नेताको अपेक्षा देखिन्छ ।    

यसैबीच, प्रधानमन्त्री देउवाले शुक्रबार बिहान १० बजेका लागि सर्वदलीय बैठक राखेकै समय पारेर एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी नेता प्रभु साहलाई बिहान १० बजे नै बालकोटमा बोलाएका छन् । साह एमालेमा असन्तुष्ट रहँदै आएकाले छलफल गर्न ओलीले उनलाई बालकोट बोलाएको एमालेका एक नेताले रातोपाटीलाई जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप