शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता : खाँण

बुधबार, १३ असोज २०७८, २० : २२
बुधबार, १३ असोज २०७८

गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको जीवन रक्षा गर्ने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । गृहमन्त्री खाँणले बुधबार ठमेल पर्यटन व्यवसायीहरूसँगको छलफलमा कोभिड–१९ को सङ्क्रमणले मृत्यु हुनु भएन भनेर सरकारले खोपलगायतका व्यवस्थालाई चुस्त बनाएको पनि स्पष्ट पारे । 

उनले पर्यटन व्यवसायलाई सहज ढङ्गले सञ्चालन गर्ने वातावरण बनाउन सरकारले पर्यटन व्यवसायीहरूलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको पनि स्मरण गराए । उनले भने, ‘कुनै पनि नेपालीको अकालमा मृत्यु हुनु भएन । अकाल मृत्युबाट नागरिकलाई कसरी रक्षा गर्ने अहिलेको सरकारको सबैभन्दा मूल फोकस नै यही हो । कोभिड– १९ को सङ्क्रमणले पनि कसैले मृत्यु हुनु भएन । दुर्घटनामा पनि कसैको मृत्यु हुनु भएन । एक आपसमा हानाहानले पनि कसैको मृत्यु हुनु भएन । कुनै पनि कारणले नागरिकको अकालमा मृत्यु हुन्छ भने हामी सबैलाई त्यसको पीडा हुन्छ ।’

गृहमन्त्री खाँणले ठमेललगायतका पर्यटन व्यवसायीहरूको व्यवसाय सहज ढङ्गले सञ्चालनका लागि सरकारले गम्भीरतापूर्वक छलफल गरिरहेको पनि बताए । छलफलमा पर्यटन व्यवसायीहरूले पर्यटन व्यवसाय पूर्ण रूपमा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन गृहमन्त्री खाँणको ध्यानाकर्षण गराएका थिए । उनीहरूले कोभिड १९ का थला परेको पर्यटन व्यवसायलाई माथि उठाउन सरकारले आवश्यक वातावरण बनाउन ढिलाइ गर्न नहुनेमा पनि जोड दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप