शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सेनाका अधिकृतहरू प्रहरी प्रधान कार्यालयमा

बुधबार, १३ असोज २०७८, १८ : ४२
बुधबार, १३ असोज २०७८

 नेपाली सैनिक वार कलेज नगरकोटमा तालिमरत ३१ जना महासेनानी र ४ जना प्रमुख सेनानीले प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन भ्रमण गरेका छन् । उनीहरूले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टर, केन्द्रीय पोलिग्राफ शाखा, डाटा सेन्टर, केन्द्रीय फरेन्सिक ल्याब, केन्द्रीय हेल्थ डेक्स र सङ्ग्राहलय समेतको अवलोकन गरेका हुन् ।

अवलोकन पश्चात आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले भ्रमणको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी संगठनको इतिहास एवम् कार्य प्रकृति सम्बन्धी यथेष्ट जानकारी हासिल गरेको विश्वास व्यक्त गरे । समाजमा शान्ति सुरक्षा स्थापना गर्न तथा अपराध अनुसन्धान एवं नियन्त्रण प्रहरीको प्रमुख दायित्व रहेको उनले चर्चा गरेका थिए ।

अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरुको निरुपण गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले समाजमा शान्ति सुरक्षा कायम गर्न दुवै संगठन बीच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहेको एवं आउँदा दिनमा समेत अझ प्रभावकारी रुपमा एक आपसमा सहयोग हुने चर्चा गरे । प्रहरी समायोजन कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै त्यसमा देखिन सक्ने समस्या तथा चुनौतिको समेत विश्लेषण गरी आवश्यक तयारी भइरहेको उनले बताए ।

    कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँवरले भ्रमण टोलीको स्वागत गर्नुहुँदै भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराएका थिए । नेपाली सेनाका महासेनानी सन्तोष कार्कीले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरुको तर्फबाट मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रहरी उपरीक्षक सविन प्रधानले नेपाल प्रहरीको काम, कर्तव्य र वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए ।

उक्त अवसरमा नेपाली सेनाका सहायक रथीहरु प्रेमध्वज अधिकारी, सागर बहादुर थापा, प्रेम पुन र टंक प्रसाद भट्ट, प्रहरी नायव महानिरीक्षक वसन्त कुमार लामा लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप