शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेवासुविधा बढेपछि सिभिल अस्पतालका नर्स हर्षित

डाक्टरहरुले भने जनाए आपत्ति
बुधबार, १३ असोज २०७८, १६ : २६
बुधबार, १३ असोज २०७८

निजामती कर्मचारी (सिभिल) अस्पतालले एकतर्फी रुपमा सेवा सुविधा र करार कार्यविधि ल्याएको भन्दै कर्मचारीहरुले असन्तुष्टि जनाएका छन् । डक्टर्स एसोसिएशन अफ सिभिल हस्पिटलले हालको सेवा सुविधालाई परिमार्जन गर्न अस्पतालसँग माग गरेको छ । तर, आर्थिक वर्ष ०७८/०८९ को साउन महिनाबाट लागू हुने गरी अस्पताल बोर्डले ल्याएको सेवा सुविधा तथा तलबबारे स्टार्फ नर्सहरुले भने सन्तुष्टि जनाएका छन् ।

विगत १२ वर्षदेखि न्यूनतम् पारिश्रमिकभन्दा ३० प्रतिशत कममा श्रम बेच्न बाध्य भएका नर्सहरुको मुहारमा नयाँ सेवा सुविधासम्बन्धी व्यवस्थाले खुशी छाएको छ । विगत पाँच वर्षदेखि सिभिल अस्पतालमा कार्यरत नर्स मिना ढकालले न्यूनतम पारिश्रमिकबिना बिरामीकोे सेवा गरेको सुनाइन् ।

ढकालले भनिन्, ‘बिरामीको सेवा गर्ने रहरले नै नर्स पेसा त रोजेँ । अस्पतालसँग न्यूनतम पारिश्रमिकका लागि बारम्बार आवाज उठाउँदा समेत सुनुवाइ भएन, काम गरेअनुसार तलब नपाउँदा निरास थिएँ, असारबाट अस्पतालले ल्याएको सेवा सुविधाप्रति ममात्रै नभएर सबै नर्स खुशी भएका छौँ ।’

यस्तै, विगत १२ वर्षदेखि सिनियर नर्सका रुपमा सिभिल अस्पतालमै काम गर्दै आएकी बिना प्रजापति (नाम परिवर्तन)ले कामको दायरा पनि बढाउने, पोष्ट पनि बढाउने तर, तलबचाहिँ नबढाउने प्रवृत्ति अस्पतालमा नयाँ निर्देशक आएपछि अन्त्य भएको र आफूहरुको माग सम्बोधन भएको सुनाइन् ।

‘करिब १२ वर्षदेखि सरकारले तोकेको न्यूनतम् पारिश्रमिक माग गर्दै आएका थियौं, यस भन्दाअघि पटकपटक अस्पतालसँग कुरा राख्दा कार्यान्वयन गर्छौं भन्नेमात्रै, व्यवहारमा लागू भएन,’ उनले भनिन् ।

सिभिल अस्पतालमा कार्यरत नर्सले तहका आधारमा न्यूनतम् पारिश्रमिकसँगै ५० प्रतिशत भत्ता गत आर्थिक साउनबाट पाउन थालेको अस्पताल प्रसाशनका एक उच्च अधिकारीले बताए ।

कोरोना महामारीका बेला केही अस्पतालले फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्तासमेत नदिएको अवस्था छ । सिभिल अस्पतालले तहका आधारमा न्यूनतम् पारिश्रमिकसँगै ५० प्रतिशत भत्ता र कोभिड भत्तासमेत कोभिड बिरामीको उपचारमा संलग्नलाई स्वास्थ्य मन्त्रालयले बजेट पठाएकोमा सो भत्ता पनि नर्सहरुलाई उपलब्ध गराएको ती अधिकारीले सुनाए ।

सिभिल अस्पतालमा १४ वर्षदेखि नर्सको रुपमा कार्यरत विद्या नेपाल (नाम परिवर्तन)ले नयाँ व्यवस्थापनले नर्सहरुको पीडा बुझिदिएको भन्दै काम गर्ने ऊर्जा थपिएको सुनाइन् । पाँचौं तहको स्वास्थ्यकर्मी भए पनि कामचाहिँ आठौं तहको गरिरहेको उनले सुनाइन् ।

गत साउन यता वरिष्ठ वा सो सरहका नर्सले न्यूनतम् पारिश्रमिक र भत्तासहित ४५ हजार पाइरहेको अस्पताल प्रसाशनका ती अधिकारीले बताए । योसँगै चाडपर्व खर्च र पोशाक खर्च वर्षको एक पटक, मासिक रुपमा महँगी भत्ता उपलब्ध गराउँदै आएको उनले बताए ।  

डाक्टरहरुको सेवासुविधा राम्रो छ : अस्पताल 

सिभिल अस्पतालमा वर्षौंदेखि काममा पेलिएका नर्सहरुले न्यूनतम तलबबिना नै काम गरिरहँदा डाक्टरहरुले सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा उच्च तलब सुविधा र २०० प्रतिशतसम्म भत्ता पाउने गरेका थिए ।

यस्तो अवस्थामा अस्पताल बोर्डका अध्यक्ष नेपाल सरकारका मुख्य सचिवसहित कानुन मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयका सचिव र अस्पतालका निर्देशकको उपस्थितिमा भएको बैठकले डाक्टरहरुले पाउने भत्तालाई ७५ प्रतिशतमा झारेको छ ।

सिभिल अस्पताल प्रशासनका एक उच्च अधिकारीले डाक्टरहरुले पाउने भत्ता घटे पनि नेपालका सरकारी अस्पतालमा कार्यरत चिकित्सकको तुलनामा यहाँका डाक्टरले उच्च पारिश्रमिक पाइरहेको दाबी गरे ।

‘१२ वर्षदेखि माथिल्लो तहमा काम गर्नेहरुले बढी तलब खाने, तल्लो तहमा कार्यरत स्वास्थ्यकर्मीलाई काममात्रै पेल्ने प्रवृत्तिको अन्त्य भएको छ,’ उनले भने, ‘कतिपय सरकारी अस्पतालमै उचित पारिश्रमिक नपाउँदा चिकित्सकहरुले धमाधम राजीनामा दिइरहेको अवस्थामा सिभिल अस्पतालले भत्तासहित राम्रो तलब दिएको छ ।’

अस्पतालका सबै कर्मचारीलाई पद, तह र कामका आधारमा कसैलाई पनि भेदभाव नगरिकन सेवा सुविधा पाइरहेको उनले बताए ।

डाक्टरहरुको ध्यानाकर्षण

डाक्टरर्स एसोसिएशन अफ सिभिल सर्भिस हस्पिटलका डाक्टरहरुले हालको सेवा सुविधा सम्बन्धी नियम परिमार्जन गर्न अस्पतालसँग माग गरेका छन् । निजामती कर्मचारी अस्पतालले ल्याएको करार कार्यविधि र कर्मचारीको सेवा सुविधाप्रति उनीहरुले असहमति जनाउँदै आएका छन् । तर, अस्पताल प्रशासनले वीर, त्रिवि शिक्षण अस्पताल (टिचिङ) जस्तो एकेडेमिक अस्पताल सिभिल नभएकाले क्लिनिकलले १०० प्रतिशत एनाउन्स दिन नसक्ने अस्पताल स्रोतको भनाइ छ । अन्य अस्पतालको तुलनामा धेरै राम्रो सेवासुविधा सबै कर्मचारीले पाएकाले कसैले पनि काममा बाधा पु¥याउन नहुने उनले बताए ।

डाक्टर्स एसोसिएशन अफ सिभिल सर्भिस हस्पिटलका अध्यक्ष डा. सुमनबाबु मरहठ्ठाले आफ्ना माग सम्बोधनका लागि अस्पताललाई ध्यानाकर्षण गराएको बताए । हालको सेवा सुविधा नियम परिमार्जन र करार कार्यविधिलाई सुधारका विषयमा अस्पतालसँग छलफलको प्रक्रिया थालिएको उनले बताए । डाक्टर्स एसोसिएशनले असोज १ गते सेवा सुविधा र करार कार्यविधि सुधार सम्बन्धमा अस्पतालका कार्यकारी निर्देशक प्राडा विधाननिधि पौडेललाई ध्यानाकर्षण गराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप