बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

इमानका सतिसाल, अर्थात पोष्टबहादुर बोगटी

बुधबार, १३ असोज २०७८, १६ : ०८
बुधबार, १३ असोज २०७८

-नारायण नेपाल
समयको गतिसँगै कमरेड दिवाकर (पोष्टबहादुर बोगटी) को निधन भएको ७ वर्ष पुगेछ । मनमा अनेकन् प्रश्नहरू घुमिरहे । जम्माजम्मी ७ वर्षमा कता–कता हराएजस्तो, धुमिल भएजस्तो देखिँदै गयो कमरेड दिवाकर (पोष्टबहादुर बोगटी) को त्याग, निष्ठा र आदर्शको राजनीति ! किन होला ? त्योभन्दा बढी बारम्बार मनमा उठिरहेको एउटा कौतुहल थियो, जो यो जीवनमा पूरा नहुने निश्चित छ ।

पहिलोपटक धक लागेको थियो उहाँलाई प्रश्न सोध्न । तैपनि साहस गरेर सोधेको थिएँ, विद्यार्थी संगठन अखिल क्रान्तिकारी नुवाकोटको प्रकाशन थियो छाल र त्यसमा उहाँको अन्तर्वार्ता राख्ने सोचमा जिल्ला नेतालाई प्रस्ताव गरेको थिएँ । २०६४ मा जिल्लाको सचिवालय बैठक सकिएपछि त्यो अवसर मिलेको थियो । अलि साहस नै गरेर सोधेको प्रश्न थियो, “पार्टीभित्र गुटबन्दीले गर्दा क्रान्तिकारीहरूलाई घेराबन्दी गर्दै सुधारवादतिर लाने खतरा छ भन्ने विश्लेषण छ नि ?”

बुढाले मुस्कुराउँदै जवाफ दिएका थिए, “स्वभाविकै रूपमा विभिन्न दृष्टिकोण आउनुलाई हामीले अन्यथा लिनुहुन्न । मैले सचिवालय बैठकमा पनि राखेँ, पार्टीमा अलिकता छलफल र बहसहरू थिए । बुझाइमा एकरूपता ल्याउने कुराहरू थिए । त्यतिबेला अलिअलि विषयहरू नतन्किएका होइनन् । तर, अहिले केन्द्रीय समितिको बैठक बसिसकेपछि हामीले त्यहाँ उच्चस्तरको जनवादको साथ छलफल गरिसकेपछि पार्टीमा सबै गुटबन्दीहरू अन्त्य भएको छ । पार्टी एकीकृत, केन्द्रीकृत र सुदृढ भएको छ ।”

प्रसङ्ग दिवाकर कमरेडको निधन हुनुभन्दा १५ दिन अगाडिको हो । म राजनीतिक कामको सिलसिलामा चितवनमा थिएँ, उहाँसँग टेलिफोन संवाद भएको थियो । मेरो पुस्तक ‘विद्यार्थी आन्दोलन र नुवाकोट’का बारेमा केही कुरा गर्ने भन्दै उहाँले काठमाडौँ फर्किएर भेट्न भन्नुभएको थियो । त्यो पुस्तकको बारेमा उहाँको धारणा सुन्न मनमा खट्किरहने एउटा कौतुहल भयो जीवनभर ! त्यस्तै संयोगको घटना थियो जीवनमा । दुई बहिनीको बिवाहको पाँच दिनमा बुबाको हृदयघातबाट निधन भयो, जसले जीवनमा धेरै कुरा अधुरै बनायो र विपत्तिको सामना गर्न सिकायो । अर्काे घटना नुवाकोटका वामपन्थी बुद्धिजीवी श्यामसुन्दर श्रेष्ठले गरेका अधुरा सपनाका योजनाहरू ! उहाँहरूको निधन जति अप्रिय लाग्यो, त्योभन्दा बढी कौतुहलता र विस्मात लागिरहन्छ जीवनमा । मनको कुरा मनमै रह्यो.... ।

कमरेड पोष्टबहादुर बोगटीसँगको खट्केको त्यो प्रश्नको जवाफ खोज्दै आफ्नो लेखनयात्राको खोजमेलमा आजसम्म नुवाकोटको वामपन्थी आन्दोलनलाई नियालिरहेछु । हुन त पछिल्लोसमय माओवादी पार्टी विभाजनसँगै हामी किरण–विप्लव नेतृत्वको पार्टी गतिविधिमा अगाडि बढ्यौँ, विभाजनको तुष र आरोप–प्रत्यारोपको ठुलै श्रृङ्खला थियो । जिल्ला इन्चार्ज लक्ष्मी मुडवरी र मीना वाइबालगायतका केही नेताहरूसहितको सानो पङ्क्तिले सम्बन्धविच्छेदको नेतृत्व गरेको थियो । हाम्रो बहस, छलफल, कोणसभा, मसाल जुलुस देखेर मान्छेहरूले अनुमान लगाउँदै थिए— बोगटीको जिल्लामा ठुलै साहस होे कार्यकर्ताको, कोहीले भन्थे— यिनीहरू सखाप हुन्छन् । यस्तै यस्तै, अनेकौँ बाधा–अवरोधको चुनौतीलाई सामना गर्दै हामी पार्टी निर्माणको अभियानमा थियौँ ।

एकदिन म विदुरमा खाना खाँदै थिएँ होटलमा । अचानक बोगटी फुत्त भित्र छिरे, म झसङ्गै भएँ । पार्टी विभाजनपछि उनीसँगको यो पहिलो भेट थियो । के भन्ने होला भन्दै अक्क–वक्क परेँ । खानापछि बुढाले गफगाफको प्रसङ्ग निकाले । मैले अलि राहत महसुस गरेँ र गफिएँ । पार्टीभित्रका विभिन्न राजनीतिक–वैचारिक भिन्नताको बारेमा धेरै कुरा राख्दै पार्टी विभाजनको विषय सैद्धान्तिक–वैचारिक भएकोले जिल्लामा देखिएको अराजनीतिक र निकृष्टतापूर्ण अन्तरविरोध अन्त्य गर्ने सुझाव दिए । जिल्लाका नेताहरूको घटिया गालीगलौजले हैरान भएका हामी बोगटीको कुराले दङ्ग भयौँ । लामो छलफलमा धेरै कुरा भयो ।

त्यहाँ पार्टीमा विभाजित भएका नेताहरूको बारेमा पनि उनले धारणा राख्दै भनेका थिए— विप्लव जे चाहन्छ र सोच्छ, त्यो अरूले सोच्दैन । यी सबै पङ्क्तिका नेता एक मतले अगाडि बढ्दैनन् । राम्रोसँग बुझ । मैले तिमीलाई होच्याउन भनेको होइन । बुढाको कुराले हामी छक्कै पर्‍यौँ । उनको निधन भयो । तर, बोगटीको यो भनाइ वर्ष दिन नपुग्दै किरणले नेतृत्व गरेको पार्टी तीन भागमा विभाजन भयो । त्यसपछि बुढाको यो कुरा सम्झेर मनमा थप कुराहरू खेलिरह्यो । तर पनि खोज र अध्ययनको यात्रा जारी छ । दिवाकरबारे नेकपा महासचिव विप्लव दिवाकर स्मृति ग्रन्थमा लेखेका छन्, “भेटमा भन्नुभयो विप्लव तपाईंले सोचेको र अरूले सोचेको मिलेको छैन । तपाईंहरू केही गर्ने भन्नेमा हुनुहुन्छ । अरूको म त्यस्तो पाउँदिनँ । सक्दा तपाईंले भनेको ठिकै छ, सफल होला नहोला तर केही गर्नुपर्छ भन्ने सही छ । त्यसमा पनि केही कुरा मिलाउन सक्नुभयो भने सफल हुन सक्नुहुन्छ ।

(दिवाकार स्मृति ग्रन्थ पृ.१०१)

कमरेड दिवाकर स्मृति ग्रन्थको खोजमेल गरी अध्ययन गरेँ, तृष्णा मेटिएन । उनका बालसखा र राजनीतिक सहयात्रीहरूसँगको छलफलमा निकै रोचक विषय पनि प्रस्फुटन भयो । एउटा सामान्य किसान परिवारमा जन्मिएर तीन दशकको राजनीतिक रङ्गमञ्चमा उदाए । एउटा आस्था र निष्ठाको छाप छोडेर बिदा भए । त्यसभित्रका यथार्थहरू रहस्यमै छन् । पञ्चायतकालमा दरबारिया–पञ्चहरूको प्रभावमा रहेको जिल्लाको राजनीतिमा वामपन्थी धारमा उदाएका बोगटीको यात्राको जोखिम र चुनौतीको यात्रा किसान–मजदुर वर्गको लागि असल पाठ हुन सक्छ । कतिपय तथ्यहरू बोगटीसँगै हामीबाट बिदा पनि भए ।

पञ्चायतकालमा सामाजिक कुरीतिविरुद्ध एक पञ्चलाई अन्य महिलासँग अनैतिक सम्बन्ध राखिरहेको बेला समाती सामाजिक कारबाही गरेका थिए बोगटीले । योसँगै समाज सुधारकको रूपमा तुप्चेमा उदाएका थिए बोगटी । पञ्चहरूभित्र तल्लो गुट जोगमेयर त्रिशुलीबजार र माथिल्लो जितसिंह गुट नुवाकोट बजारको अन्तरविरोधमा खेल्दै अगाडि बढेका थिए बोगटी । पञ्चायतविरोधी आन्दोलनमा रहेकाहरूलाई पञ्चसमर्थक बजारियाहरूले लखेट्दै हैरान पारेपछि काङ्ग्रेसीहरूसमेत उनैको सेप लागेर विदुरतिर जुलुसमा उफ्रने गर्दथे ।

पञ्चायतकालमा उनीसँगै जेल परेका विष्णु आचार्य फरक राजनीति विचार बोक्ने भएपनि उनको निडर स्वभावबाट प्रभावित छन् । जेलका घटना स्मरण गर्दै भन्छन्, “हामी जेलबाट छुट्ने तरखरमा थियौँ, सिडिओले भन्दैथिए— म छोडिदिन्छु तर बाहिर गएर पञ्चायतविरोधी गतिविधि नगर्नू । बोगटीले उनको कुरालाई तत्काल प्रतिवाद गर्दै “तँ को होस्, हामीलाई यसो गर, यसो नगर भन्ने ? हामी हाम्रो पार्टी नेताले के भन्छन्, त्यही गर्छौँ” भने । स्थिती सम्हाल्न निकै गाह्रो परेको थियो ।”

विष्णु मात्र होइन, तुप्चेमा हँसिया–हथौडाको झण्डा राखेका आरोपमा पक्राउ परेका बोगटी छुटाउन गएका प्रधानपञ्च तीर्थराज अधिकारी पनि हैरान भएछन् । अधिकारीले बोगटी गाउँको समाज सुधारक मान्छे हो भन्दै जिम्मा जमानतमा छुटाउन प्रशासन गएछन् र झण्डा बोगटीले नराखेको भन्ने कुरा मिलाएछन् तर सिडिओसामु छुटाउने बेला बोगटीले भने झण्डा आफैँले राखेको भनेपछि उनी नाजवाफ भएर फर्किएका रहेछन् । साहसी र इमानदारिताको पहिचान पहिलो थियो समाजमा बोगटीको । त्यसपछि बोगटीको अगुवाइमा भएको मालपोत घेराउमा पञ्चनेता जितसिंह खड्कादेखि काङ्ग्रेस नेता विष्णु आचार्यसम्म सामेल भएर घेराउ प्रभावकारी भएसँगै प्रतिपक्षहरूको नेता बनेका थिए बोगटी ।

हुन त नुवाकोटको वामपन्थी आन्दोलनमा गणेश पण्डित, शारदारमण नेपाल, कुमार पण्डितहरू नै अगाडि थिए । कम्युनिस्ट पार्टीको प्रचार प्रसार थियो शिक्षकहरूको अभियान । तर पार्टी विभाजनसँगै मशालको नेतृत्व सम्हाल्न उनै किसान पृष्ठभूमिका नेता बोगटी पुगे । उतिबेला विद्यार्थी राजनीतिसँगै राजनीतिमा उदाएका दिपक महत र तोयानाथ थपलियाहरू नै स्थापित नेता थिए । २०४८ को निर्वाचन तालमेल १ नं. क्षेत्रमा जनमोर्चाका तोयानाथलाई एमालेले सहयोग गर्दै उम्मेदवारी नदिएपनि जनमोर्चाले सफलता हात पार्न सकेन । तर, राजनीतिकभन्दा व्यवहारिक र सामाजिक अन्तरविरोधको पहिचान गर्दै त्यसलाई सही ढङ्गमा परिचालन गरेर उदाएका थिए बोगटी नुवाकोटको राजनीतिमा । नुवाकोटको राजनीतिमा मध्यमवर्गीय तप्काको नै हालीमुहाली चलेको छ । कम्युनिस्ट आन्दोलनमा समेत मध्यमवर्गबाट आएका नेताहरूले नै नेतृत्व गरेका छन् । त्यसमा बोगटी मात्र त्यस्तो उदाहरण हुन्, जो सामान्य किसान परिवारमा जन्मेर भेडा गोठालो दुवै देशको राष्ट्रिय व्यक्तित्व बन्न सफल भए ।

नुवाकोटको राजनीतिमा उदाएका ललितमान घलेदेखि आजका बहादुरसिंह लामासम्म र कम्युनिस्टको नाममा गणेश पण्डितदेखि बद्री मैनालीसम्म हुनेखानेहरू आर्थिक सम्पन्नताले नै राजनीतिक रङ लेपिएको देखिन्छ । मध्यमवर्गका मन जित्दै उनीहरूको नेतृत्व गरी जिल्ला विकास समितिमा सभापति सम्हालेका भरत ढुङ्गाना विद्रोह गरी क्रान्तिमा लाग्दा सर्वहारा जनसमुदाय बढि नै उत्साहित थियो र मध्यमवर्गले पनि माओवादीलाई मित्र ठान्दै गयो । उनको अधिक लोकप्रियताको कारण पनि त्यही थियो । यो यथार्थताको विषय आफ्नो लागि प्रतिकूल नहुने ठानी कब्जामा लिएको भरत ढुङ्गानालाई जेल नहाली हत्या गरियो । विद्यार्थी नेता शहिद केशव पाण्डे र प्रथम शहीद गजेन्द्र वाइवाभन्दा भरत ढुङ्गाना धेरै हाइहाइ भएको त्यही कारण हो । त्यस्तो राजनीतिक मैदानबाट किसान पारिवारिक वर्गको नेता उदाउनु चुनौती जेलेका थिए बोगटीले । चानचुने छैन किसान मजदुरवर्गको नेताका लागि नुवाकोट । आजसम्म वाम आन्दोलनले भोगेको नेतृत्व सङ्कट त्यही हो ।

वर्तमानमा उभिएर हेर्दा त्यस्तो सामान्य किसानको छोराले गरेको सङ्घर्ष र निष्ठाको राजनीति गर्वको विषय हो । त्योभन्दा रहस्यको विषय आज चारतिर फर्केका मोहन वैद्य, प्रचण्ड, बाबुराम, सिपी गजुरेल, गौरवजस्ता विद्वान्, अध्ययनशील, कुटनीतिक र दार्शनिक भनेर कहलाइएका नेताहरूको हुलमुलमा कसरी त्यो उच्च स्थानमा पुग्न सके एक सामान्य मान्छे बोगटी ? त्यो पनि विप्लव, प्रभाकर, अनन्त, पासाङजस्तो दोस्रो पुस्ताको आजको जुझारुपनले पनि हिजोको टकराबलाई चित्रित गर्न सक्छ । दिवाकर स्मृति ग्रन्थमा नेकपा क्रान्तिकारी माओवादीका महासचिव कमरेड किरण लेख्छन्, “कतिपय प्रसंगमा कमरेडहरूबिचमा मनमुटाव पैदा भएको अवस्थामा उहाँले स्थिति बुझेर समस्याको हल गर्ने र कमरेडहरूलाई मिलाउने प्रयास गर्नुहुन्थ्यो (पृष्ठ ६६) ।”

 राजनीतिक आन्दोलनको आरोह अवरोहमा उनको परिवारले भोगेका दुःख, पीडा, वेदनाको आँसु बेचेर चर्चा कमाउन मन नहोला उनका सन्तानको । तर बोगटीपछि राजनीति बिट मारेका हुन् त ? बोगटी बहिनी मैयाँ दिदी भक्कानिँदै भन्छिन्, “जनयुद्धसँगै दाजु बेखबर भए । हामीलाई तर्साउँदै थर्काउँदै तेरो घरमा लास उठ्दैन भन्नेहरू नै माओवादी छन् । हाम्रा दाजु बितेर हो कि प्रचण्डले दुःख पाएको बाबु !” उनको भनाइजस्तै माओवादीका अध्यक्ष प्रचण्ड दिवाकर स्मृति ग्रन्थमा लेख्छन्, “बोगटी असल कम्युनिस्ट र असल राजनीतिज्ञ हुनुहुन्थ्यो (पृष्ठ.२३) ।

बोगटीका जेल बसाइँका बेला उध्रेको चोलीमा गहभरि आँसु बोक्दै विदुर जेल र तुप्चे घर भौतारिँदै रहेकी राममाया बोगटी आज दिवाकरको बिँडो थाम्न नुवाकोट र काठमाडाैं राजनीतिमा दौडिरहेछिन् । माओवादी पार्टी  र कार्यालयलाई मात्र योगदान गरेका थिए बोगटीले ? कि यो समाजका लागि पनि ? उनलाई सङ्कीर्णता र सङ्कुचनको घेराभित्र हाल्न खोज्दै गर्दा निष्ठाको धरोहरको व्यक्तित्व विस्तारै धुमिल बन्दै गएको त होइन ?

स्वस्थानी कथामा चन्द्रावती रानी शाली नदीबाट बाजागाजासहित नवराजको लावण्य देशको दरबारमा जाँदा गाउँले नरनारी हुलमुल गर्दै खानाको थाल छोडेर हेर्न दौडिएझैँ आँधीमय जनयुद्धको दिनहरूपछि २०६३ मा बोगटी तुप्चे गाउँ फर्कंदा सिङ्गो रसुवा–नुवाकोट नै अक्करे सोले फाँटतिर उर्लिएको थियो । बोगटीको झुपडी उस्तै थियो । तर आजको उनको घरबारको चर्चा चलेको होइन ।

 संविधानसभा निर्वाचन तिर युवाहरूको स्वस्फुर्त नारा थियो, “पोष्टबहादुर बोगटी : जनताको ओखती ।” गरिबहरूको उज्यालो जीवनका लागि रगत बगाउनेहरूको हुलमा बोगटीका एकलपुत्र रवि पनि थिए । गरिबका सपनाहरू पनि अधुरै थिए तर आज बोगटीको स्मृति झुण्डझुण्ड एक–दुई दल र सामाजिक सञ्जालको फर्जी खेलमा किन सीमित भयो ? न अँध्यारो समाजमा उज्यालो आयो न त गरिबको रोगमा ओखती, न त उनको निष्ठाको सम्मान ! यो कस्तो दुर्दीन देखियो समाजवादको नारा लागेको बेला ?

बोगटीको निष्ठाको राजनीतिलाई दाउमा राखेर केही राष्ट्रघातीले आफ्नो स्वार्थ पूरा गर्न खोजेकै हुन् । जलस्रोत सम्झौता त्यही निरन्तरता थियो । मजदुर विवाद र माओवादीभित्र भृकुटीमण्डप भेलामा चर्चित बोगटी आयोगजस्ता घटनाले भने उनको भावना, इमानदारिता, निष्ठावान राजनीतिमा हिलो छ्यापेकै हो ।

उनको इमानदारितालाई अनुशरण गर्दै समाजलाई अग्रसर गराउन जरुरी छ । माओवादी भ्रष्टाचारको महाभारत र बोगटी आयोगको प्रतिवेदन सार्वजनिक गर्दै अगाडि बढ्न नसक्नेले सालिक, माला र तस्बिरमा अबिर हाल्दैमा, श्रद्धाञ्जली दिएको नाटक गर्दैमा होला त उनको सपना पूरा ? प्रश्न मन भित्रभित्रै रुमल्लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप