एनआरएनएको चुनाव हुनेमै मलाई शंका छ : कुल आचार्य
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आगामी अक्टोबर २० मा चुनावको मिति तय भएको छ । नेतृत्व चयनलगत्तै अक्टोबर २३ गतेदेखि विश्वसम्मेलन गर्ने एनआरएनएको तयारी छ । तर, चुनावको मिति नजिकिँदै गर्दा एनआरएनएभित्रको विवाद पनि सतहमा आइरहेको छ ।
महाधिवेशन प्रतिनिधि चयनको विवाद परराष्ट्र मन्त्रलयमा पुगेर छानविन चल्दै गर्दा नेतृत्वका आकांक्षी मध्येका एक कुल आचार्य तोकिएको मितिमा चुनाव हुनेमा आफू द्विविधामा रहेको बताउँछन् । यद्यपि विवाद निरुपण गरेर समयमा चुनाव हुने वातावरण तयार गरिनुपर्नेमा आचार्यको जोड छ ।
आचार्यले रातोपाटीसँगको अन्तर्वार्तामा भने, ‘विवादमा तीन सदस्सीय कार्यदल बनेर त्यो समितिले छानबिन गरिरहेको अवस्था छ । तर, समयमा महाधिवेशन अथवा चुनाव हुन्छ कि हुँदैन भन्नेमा म आफैं पनि द्विविधामै छु ।’
एनआरएनएमा पछिल्लो देखिएको राजनीतिकरण र अध्यक्षका प्रत्याशी कुल आचार्यको चुनावी एजेण्डा लगायतका विषयमा रातोपाटीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :
तपाईं अघिल्लो चुनावमा एनआरएनएको अध्यक्षमा पराजित हुनुभएको थियो । अहिले फेरि उम्मेदवारी घोषणा गर्नुभएको छ, तपाईं नै नेतृत्वमा आउनुपर्ने कारण के छ ?
गैरआवासीय नेपाली संघ (एनआरएनए)मा लामो काम गरेको हिसाबले एनआरएनएका संसारभर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले जुन एनआरएनएका ईस्यु उठाउनुभएको छ, त्यसमा काम पनि गरिराख्नुभएको छ । एनआरएनए बेलायतबाट सुरु भएको हो । एकचोटि बेलायतलाई नेतृत्व दिनुपर्छ भन्ने संसारभरका एनआरएनहरुको चाहनाअनुसार नै मैले उम्मेदवारी दिएको हुँ ।
तपाईंले एनआरएनएको नेतृत्वमा दावी गर्दैगर्दा कस्ता एजेन्डाहरू अघि सार्नुभएको छ ?
एनआरएनएमा व्यक्तिका भन्दा पनि संस्थागत एजेन्डाहरु बनाउनुपर्छ भन्ने मेरो मत छ । यस संस्थालाई संसारभर मर्यादित र प्रतिष्ठित बनाउने बेला हो, यो संस्था ठूलो भइसकेको छ भन्ने मलाई लाग्छ ।
बुँदागत रुपमा भन्नुपर्दा, डायस्पोरामा ८० लाख नेपालीहरु छन् । सक्षम नेपालीहरु छन् । उनीहरुको ज्ञान, सीप र पुँजीलाई नेपालमा भित्र्याउनु र नेपालको विकास गर्नु नै मेरो मुख्य लक्ष्य हो ।
गैरआवासीय नेपाली नागरिकता भनेर संविधानले जुन व्यवस्था गरेको छ, त्यसलाई कानूनमा व्यवस्था गर्नुपर्ने व्यवस्था छ । गैरआवासीय नेपाली नागरिकतामार्फत हामीले पासपोर्टको पनि व्यवस्था गर्नुपर्ने अवस्था छ । त्यो हामीले पाइसकेका छैनौं । नेपालको सम्पत्ति पलायन भयो, बेचबिखन भयो र बाहिर गयो भनेर मैले सधैं भनिरहेको हुन्छु । त्यसलाई नेपालमा रोक्नुपर्ने छ । त्यसलाई रोक्नका निम्ति गैरआवासीय नेपाली नागरिकताले तपाईंको सम्पत्ति सुरक्षित हुन्छ भन्ने अनुभूति हामीले दिन सक्यौं भने त्यो सम्पत्ति रोकिन्छ । हामीले त्यतातिर कानूनीरुपमा काम गर्नुपर्ने आवश्यकता छ ।
दोहोरो श्रम स्वीकृति नहुँदा धेरै नेपाली दाजुभाइ दिदीबहिनीले विदेशमा दुःख पाएको अवस्था छ । नेपालीलाई सकभर स्वरोजगारको व्यवस्था गर्नुपर्छ । यदि, बाहिर जानैपर्ने अवस्था भयो भने पनि सक्षम बनाएर पठाउनुपर्छ । दक्ष बनाएर बाहिर पठाउँदा अहिलेकोभन्दा तीन गुणा बढी कमाइ हुन्छ भन्ने मलाई लाग्छ । त्यसैले ७ वटै प्रदेशमा तालिम केन्द्रको व्यवस्था गर्ने विषयलाई पनि मैले प्राथमिकतामा राखेको छु । म्यान्मार, थाइल्यान्ड, मलेसियालगायतका देशमा लामो समयदेखि बसिरहनुभएका नेपाली मुलका व्यक्तिहरुलाई नेपालसँग जोड्ने योजना पनि बनाएको छु ।
संघमा सदस्य संख्या ५ लाख पु–याउने लक्ष्य राखेको छु । राष्ट्रिय समन्वय समितिहरुलाई स्वायत्तता दिँदै अहिले ६५ मुलुकहरुमा अधिवेशन भएकोमा मेरो नेतृत्वमा राष्ट्रिय समन्वय समितिको संख्या १ सयभन्दा धेरै पु–याउने पनि प्रतिवद्धता छ ।
कोभिडको समयमा धेरै युवाहरुले रोजगारी गुमाएर घर फर्किएका छन् । उनीहरुलाई रोजगारी कसरी दिन सकिन्छ भन्ने विषयमा पनि छलफल गरेको थिएँ । र, ‘एक एनआरएन एक रोजगार’ कार्यक्रम पनि ल्याउने सोचको छु ।
विदेशमा हुर्किरहेका बालबालिकालाई नेपाली भाषा सिकाउन अनलाइन एप्स र पाठ्यपुस्तकको पनि व्यवस्था गर्ने विषय हाम्रो योजनामा छ । यसले कला, संस्कृतिको जर्गेनामा ठूलो भूमिका खेल्छ । एनआरएनका खेल प्रतिभाहरुको विकासमा सघाउन हाम्रो एनआरएन एकेडेमी छ । यसको घर नै बनाउने लक्ष्य हामीले राखेका छौं ।
समग्रमा भन्नुपर्दा संसारभरीका गैरआवासीय नेपालीलाई परेका समस्याको समाधान गर्ने र उहाँहरुले सिकेका सीप, ज्ञान र पुँजीलाई नेपालसँग जोड्ने नै हो । संसारभरका नेपालीहरुलाई नेपालसँग जोड्ने मेरो लक्ष्य हो ।
हामीले केहीअघिदेखि नै लगानी सुरु गरिसकेका छौं र यो मुनाफामुलक छ । अझै धेरै मुनाफाका लागि साथीहरुले साना ठूलो सबैखाले क्षेत्रमा लगानी गरिरहनुभएको छ ।
युवा र महिलाहरुको विषयमा हामीले अझ चाहेजति उहाँहरुलाई संलग्न र प्रोत्साहन गर्न सकेका छैनौं । युवाहरुलाई आफ्नै कार्यक्रम गर्न दिने, महिलाहरुलाई आफ्नै तरिकाले कार्यक्रम गर्न दिने, प्रभावकारी कार्यक्रमहरु ल्याउने सोच ल्याएका छौं ।
म युरोप संयोजक हुँदा हामीले डेनमार्कमा युवाहरुलाई काम गर्ने अवसर दिएका थियौं, उहाँहरुले त्यहाँ ३२ लाख रुपैयाँ दृष्टिविहीन बालबालिकाका लागि संकलन गर्नुभएको थियो । त्यसैगरी युवाहरुलाई उद्यमी बनाउनुपर्छ भनेर मेरै नेतृत्वमा एउटा कार्यक्रम बन्यो, जसअन्तर्गत युवाहरुले माइक्रो फाइनान्स बनाउनुभयो र हामीले त्यसलाई सहजीकरण ग–यौं । र, संसारभर रहेका नेपाली संघ संस्थाहरुसँग सहकार्य गर्ने अर्को मुख्य उद्देश्य छ । गैरआवासीयनेपाली संघलाई साझा संस्था बनाउनका लागि हामीले उहाँहरुसँग सम्बन्धित जस्तो ः खेलकुदसँग रिलेटेड हो भने खेलकुदसँग सहकार्य गर्नेलगायत योजना बनाएका छौं ।
मैले युकेको अध्यक्ष हुँदा नेपालबाट पहिलो ओलम्पियन भूपेन्द्र सिलवाललाई लण्डन ओलम्पिकमा लगेको थिएँ, हामीले त्यहाँ उहाँलाई सम्मान गरेका थियौं । त्यसक्रममा हामीले बेलायतमा रहेका खेल सम्बन्धी संस्था एन्टा युके, साहारा युकेसँग सहकार्य गरेका थियौं ।
अहिले एनआरएन हेड अफिसमा पत्रकार अक्षय कोष स्थापना भएको छ । त्यो पत्रकार अक्षय कोष पनि मैले युकेको अध्यक्ष हुँदा गठन गरेको थिएँ, जतिबेला हामीले पत्रकार महासंघको बेलायत शाखासँग सहकार्य गरेका थियौं । जुम्लाको सानी गाउँ भन्ने ठाउँमा प्रसुती गृह बनाएर हामीले सरकारलाई हस्तान्तरण गरिसकेका छौं । प्रसुतीगृह बनाउनका लागि नर्सिङ युकेसँग सहकार्य गरेका थियौं ।
हामीले संसारभर रहेका केही गर्न चाहने नेपालीका संघ संस्थाहरुसँग सहकार्य गरेर काम अघि बढायौं भने त्यो सहज हुन्छ । र, यो संस्था पनि साझा रुपमा स्थापित हुन सक्छ भन्ने पनि मेरो लक्ष्य छ ।
तपाईंले यी योजनाहरु अघि सारिरहँदा संस्थामा वास्तविक एनआरएनलाई समेट्ने कुनै योजना नै भएन भन्ने गुनासो पनि सुनिने गरेको छ नि ? उनीहरुलाई समेट्न नसक्नुका कारण के हुन् ? तपाईसँग उनीहरुका लागि के योजना छन् ?
सरकारले गैरआवासीय नागरिकताको विषय छिटो टुंगोमा पु–याइदिन सके अमेरिका, अस्ट्रेलिया वा युकेलगायतका देशमा बसेका नेपालीहरुले स्याबासी भन्नेछन् । मैले यसलाई मेरो योजनामा राखेको छु । यो एनआरएनको सुरुवातदेखि जोडिएको विषय हो । दोहोरो नागरिकता, नागरिकताको निरन्तरता, गैरआवासीय नागरिकता अझ त्यसबाट पासपोर्ट बनाउन मिल्ने वातावरण हुनुपर्छ भन्नेहरुमध्ये सम्भवतः कुल आचार्य एकजना हो र त्यसमा छलफल हुनुपर्छ भन्ने मलाई लाग्छ ।
अमेरिका, युरोप, अस्ट्रेलिया र हङकङजस्ता देशसँग जोडिएको यो टड्कारो विषय हो । यसको टुंगो लगाउन लामो समय लगाउन हुँदैन थियो । गत अधिवेशनमा पनि मैले यस विषय उठाएको थिएँ । विशेष अध्यादेश ल्याएर भएपनि गैरआवासीय नेपाली संघको नागरिकताको विषय टुंगोमा लगाइदिनुस्, नागरिकतामा व्यवस्था गरिदिनुस् जसले नेपालको सम्पत्ति बेचेर बाहिर पलायन हुँदैन र बाहिर भएका नेपाली दाजुभाई दिदीबहिनीले पनि मेरो सम्पत्ति सुरक्षित छ भनेर अनुभूति गर्नुहुनेछ र नेपालसँग जोडिनु हुनेछ भनेको थिएँ ।
यो धेरै आकर्षक र नेपालसँग जोडिएको र मैले पटक–पटक उठाउने गरेको विषय हो । यसका लागि मैले धेरै ठूलो पहल गरेको छु । दोस्रो कुरा श्रमको विषय हो । श्रमिकका समस्या मैले आफैंले पनि भोगेको समस्या हो । त्यसैले महामारीको समय पनि मैले घण्टौंसम्म बैठक गरेँ, नेपाल सरकारसँग पहल गरेर, श्रमिक फिर्ता गर्ने कुरामा निरन्तर लागेको थिएँ । महामारीको समयमा आफ्ना बाबुको निधनमा पनि नेपाल आउने अवस्था नरहेको र काजक्रिया गर्ने अवस्था नरहेका विदेशमा रहेका दाजुभाईलाई पनि सहयोग गरेको छु, यसक्रममा पोर्चुगलदेखि बेलायत ल्याएर, बेलायतबाट नेपाल पठाउने काममा पनि पहल गरेको छु ।
मेरो योजना नेपालीका समस्या जे हुन् ती समस्यासँग जुध्ने हो । त्यसलाई समाधान गर्ने हो । उहाँहरुले सिकेको सीप र ज्ञानलाई नेपाल लिएर आउने हो । थोरै रुपमा भइरहेको छ । यसैलाई विस्तृत रुपमा अघि बढाउन जरुरी छ ।
संघमा सबैभन्दा महत्त्वपूर्ण कुरा पद्दति र पारदर्शिता आजको अवश्यकता हो । ‘हाम्रो समावेशी एनआरएन’ भनेर मुल नारा पनि हामीले राखेका छौँ, त्यो नारा अनुसार यो संगठनलाई पद्दतिमा चलाउनुपर्नेछ, पारदर्शीता गर्नुपर्नेछ । धेरै प्रश्नहरु उठेका छन्, आर्थिक विषयमा पनि धेरै कुरा उठिरहेको अवस्थामा त्यतातिर पनि ध्यान दिनुपर्छ भन्नेमा हामीले हेरिरहेका छौँ । संस्थालाई बलियो बनाउनु नै हाम्रो मूल उद्देश्य हुनेछ । अघि नै पनि भनिसकेँ यो संस्थालाई पद्दति र पारदर्शीतासहित अगाडि बढाएर मर्यादित र प्रत्यक्ष संस्था बनाउनु मेरो अर्को मूल लक्ष्य हुनेछ ।
म चुनावी नाराजस्तो लोकप्रिय हुन सदस्यता शुल्क निःशुल्क वा अरु केही गुर्छ भनेर भन्दिनँ । पाँच लाख सदस्यता पु–याउने उद्देश्य राखेको छु । एकसय भन्दा एनसीसी बनाउने, उहाँहरुलाई पूर्ण स्वायत्तता दिँदै अगाडि बढाउने लक्ष्य राखेको छु ।
गैरआवासीय नेपाली संघमा व्यक्तिगत स्वार्थ र एजेण्डा भन्दा पनि संघका एजेण्डा बनाएर अगाडि जानुपर्छ । जुन कुरा संघका एजेण्डा हुन्छन् र ती कुराहरु हामीले तार्किक निष्कर्षमा पु–याउन सक्नुपर्छ । जो अहिलेसम्म निष्कर्षमा पुगेका छैनन् । मलाई विश्वास छ, म नेतृत्वमा आएपछि यी कुराहरु पुरा गर्नेछु ।
तपाईंले आर्थिक पारदर्शिताको कुरा गर्नुभयो, संघको अघिल्लो कार्यकालमा भ्रष्टाचारका कुरा पनि आएका थिए । तर, नेतृत्व परिवर्तन भएपछि थामुथुम पारेजस्तो देखियो । तपाईं पनि नेतृत्वमा आएपछि चुपचाप बस्ने त होला नि ?
कदापि होइन । मैले नेतृत्व गर्दैगर्दा हामीले अपनाएको पारदर्शिता तपाईंहरुले देख्न सक्नुहुनेछ । मैले बेलायत, यूरोपको एनसीसी चलाउँदाको अनुभवका कारणले पनि म त्यसरी आर्थिक आचरणमा कदापि आफूलाई एक प्रतिशत पनि कम्प्रोमाइज गरेर भैहाल्यो नि भनेर चुपचाप बस्ने मान्छे होइन । दूधको दूध पानीको पानी छुट्याएर आर्थिक पारदर्शिता हुनुपर्छ । जबसम्म संघमा आर्थिक पारदर्शिता हुँदैन, तबसम्म संघ धमिलो भइरहन्छ । त्यसतर्फ म अत्यन्त चनाखो छु । संसारले विश्वास पनि गरेको छ, अझै विश्वास गर्नुस्, म यस संस्थालाई सफा र पारदर्शी बनाउँछु । मेरो दृढ विश्वास पनि यही छ ।
नवौं विश्व सम्मेलनमा घोटालाकै विषयले आर्थिक प्रतिवेदन पारित भएन । अहिले आईएलओ घोटाला विवाद त्यस्तै छ । नेतृत्वमा आउनुभयो भने छानविन गर्नुहुन्छ ?
संघमा अडिट भैसकेका अथवा गएका कुराहरुलाई पछाडि गएर कसैलाई दोष लगाउने वा छानविन गर्छु, कारवाही गर्छु भन्नतिर जान चाहन्नँ । तर, संस्थामा भएका अनियमितता, दुरुपयोगको छानबिन हुन्छ । अहिले आईएलओको पैसा व्यक्तिगत खातामा ल्याएर राखियो, संस्थागत भएन भन्ने जे कुराहरु आएको छ, त्यसको सही र सत्य छानविन हुनुपर्छ । विश्वभरका एनआरएनएको टाउको बेचेर कसैले व्यक्तिगत लाभ लिन्छ भने त्यो कदापि मान्य हुँदैन । कसैको स्वार्थका लागि गैरआवासीय नेपाली संघका टाउकाहरु बेच्नुहुन्न भन्ने कुरा म दरिलोसाथ राख्न चाहन्छु । जुन कुराहरु उठिरहेका छन् त्यसतर्फ पनि चनाखो भएर काम गर्नेछौँ । यदि कसैले गल्ती गरेको छ भने ऊ सजायको भागिदार हुनुपर्छ ।
आईएलओको पैसामा घोटाला भएकै हो भन्ने तपाईंको बुझाइ हो ?
देखेका रिपोर्ट अनुसार, सुनिएका कुरा अनुसार र आएका निवेदनअनुसार आइएलओको पैसामा अनियमितता भएको स्पष्ट छ ।
एनआरएनमा अहिले बिना पैसा सदस्य बनाउने भन्ने महत्वाकांक्षी कार्ययोजना पनि आएको छ । के यसलाई निरन्तरता दिन सम्भव छ ? तपाईंले त विगतमा निःशुल्क सदस्यता हुनुहुँदैन भनेर विमति जनाएको पनि चर्चा थियो....
संस्थामा निःशुल्क सदस्य बनाउने कुरामा मैले विमति कहिल्यै पनि जनाएको छैन । तर, संसारमा हेर्नुभयो भने फ्री वा सित्तैको चिजको कुनै मूल्य हुँदैन । संस्थालाई मर्यादित र बलियो बनाउने हो भने सानोतिनो शुल्क तिर्नका लागि संसारका गैरआवासीय नेपाली साथीहरुले अप्ठेरो मानेको एउटा पनि घटना छैन । त्यसले गर्दा हाम्रा साथीहरु योगदान गर्न तयार हुनुहुन्छ भने हामीले पैसा नदिनुस् भन्नुपर्ने अवस्था पनि छैन ।
यो संघमा धेरै सदस्यहरु देखाएर अपचलन गर्ने काम केही साथीहरुले गरे पनि फ्री चिजको मूल्य नहुने हुनाले सदस्यताको केही न केही शुल्क राख्यो भने संस्था पनि आर्थिकरुपमा मजबुत बन्दै जान्छ भन्ने मेरो धारणा हो । संस्थामा लगानी गर्यो भने माया पनि बढेर जान्छ । त्यसकारण सदस्यता निःशुल्क भन्ने कुरामा म त्यति सहमत छैन ।
एनआरएनएमा नेपालमा पुँजी भित्र्याउने, कोष खडा गर्ने भनेर चुनावी एजेण्डा बनाउने गरेको पाइन्छ, तर निर्वाचनपछि ठोस परिणाम नदिने प्रवृत्ति देखिन्छ, यसलाई कसरी लिनुहुन्छ ?
हाम्रा केही केही एजेण्डा वा केही साथीहरुले बोलेका केही कुराले त्यस्तो भएको पक्कै पनि हो । तपाईंको भनाइमा केही सत्यता छ । तर म आफूले लिएको जिम्मेवारी समयमै बहन गर्नुपर्छ नकि जिम्मेवारी लिएर त्यसलाई कुरामा मात्रै सीमित गर्नुहुँदैन भन्नेमा सचेत छु । सुस्ता गएर स्कुल बनाउने कुरा होस् अथवा जुम्ला गएर प्रस्तुति गृह बनाउने कुरा नै किन नहोस् वा शंखमुलको पार्कको जिम्मा लिने कुरा होस्, पाएको जिम्मेवारी अनुसार त्यो मैले समयमै पुरा गरेको छु । हामीले कुरा मात्रै होइन, काम गरेर अघि बढ्नुपर्ने बेला आएको छ । त्यतातिर ध्यान दिनुपर्छ र म सचेत पनि छु ।
दोष लगाउनेहरुले धेरै राजनीति गरिरहेका छन् यहाँ । विगतमा राजनीतिक दुरुपयोग गरेरै नेतृत्वमा पुगेका तर हाल सानो समूहमा रहेकाहरुले अली ठूलो समूहमा रहेका हामीलाई राजनीति गर्यो भनेर दोष लगाउन खोजिएको छ त्यो गलत छ ।
एनआरएनए पैसाको बलमा चुनाव जित्ने संस्था हो भनेर चर्चा चल्ने गरेको छ । तपाईंले कति खर्च गर्दै हुनुहुन्छ ?
अघिल्लो अधिवेशनमा दश लाख रुपैयाँ मनोनयन शुल्क थियो, मैले त्यो दश लाख खर्च गरेको छु । पैसाको खेलले चुनावी माहोललाई तलमाथि गरेको छ, भन्ने पनि सुन्नमा आएको छ । यो संस्थामा लामो समय काम गरेको हैसियतले अब नेतृत्व गर्न पाउनुपर्छ भनेर दावी गर्दैगर्दा पैसाले पद र प्रतिष्ठा हुन्छ भन्ने सोच्न सक्दिनँ ।
हिँड्दा घुम्दा, बस्दा खाँदा खर्च हुने कुरा आफ्नो ठाउँमा छँदैछ । त्यसैले गैरआवासीय संघको जो मर्यादा छ, त्यसलाई कायम गर्नेगरी कामै गरेर अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता छ । हुन त तपाईंले भनेजस्तो मैले पनि सुनेको छु– संघमा यस्ता दुर्भाग्यपूर्ण वा पैसाले कब्जा गर्ने र पछि त्यो उठाउन कसैले गल्ती पनि गर्न सक्छ, दुरुपयोग गर्न पनि सक्छ, त्यसतर्फ म दृढताका साथ खबरदारी गर्न चाहन्छु ।
यो संस्थालाई कसैले पैसाको बलमा कब्जा गर्ने रणनीतिकै भरमा दुरुपयोग नगरियोस् । त्यसकारण चुनावी खर्चबाहेक मान्छे किन्ने बेच्ने खेलमा म कहिल्यै लागेको छैन र लाग्ने पनि छैन ।
एनआरएनएमा चरम राजनीति छ भनिन्छ, यसमा कुल आचार्यले झन् बढी राजनीति गर्न खोजेको आरोप पनि छ नि ?
गैरआवासीय नेपाली संघले नेपाल सरकारसँग काम गर्नुपर्छ । नेपाल सरकार राजनीतिक पार्टीहरुले बनेको हुन्छ । यो अवस्थामा हामीले राजनीतिक पार्टीहरुसँगको सम्बन्ध नजिक बनाउनुपर्छ । मेरो विचार कसैसँग सहमत हुन सक्ला । तर, गैरआवासीय नेपाली संघमा आइसकेपछि राजनीतिक आस्थाका आधारमा यो संघलाई तलमाथि हुनेगरी काम गर्न हुँदैन ।
दोष लगाउनेहरुले धेरै राजनीति गरिरहेका छन् यहाँ । विगतमा राजनीतिक दुरुपयोग गरेरै नेतृत्वमा पुगेका तर हाल सानो समूहमा रहेकाहरुले अली ठूलो समूहमा रहेका हामीलाई राजनीति गर्यो भनेर दोष लगाउन खोजिएको छ त्यो गलत छ ।
आत्मसात गरौं, हामीले गरेका कामका व्यवहार हेरौं । हामीले कसरी यो संस्थालाई लेराएका छौँ, त्यो कुरालाई हेरौं । जुन कुरा दोष लगाउनका लागि मात्रै दोष बनाइएको छ, त्यसमा सत्यता छैन । नेपाल सरकार अथवा यहाँका राजनीतिक दलहरुलाई बिच्काउने काम मात्रै गरिएको छ । उहाँहरुलाई बिच्काउन हुँदैन र सबै पार्टीहरुसँग अझ गाढा सम्बन्ध बनाएर सरकारसँग काम गर्नुपर्छ । त्यसकाण, कसैले आरोप लगाउँदैमा म त्यसमा कुनै आपत्ति जनाउँदिनँ । मेरो सबै पार्टीसँग राम्रो सम्बन्ध छ । म त्यसरी नै काम गर्न चाहान्छु । साथसाथै संसारभरिका नेपालीहरुलाई नेपाल सरकारसँग मिलेर गर्ने कामहरुमा अझ सहजीकरण गर्न चाहन्छु । दोष लगाउनेहरुलाई मेरो केही भन्नु छैन ।
तर, तपाईंलाई त धेरैले काँग्रेसको उम्मेदवार भन्दा रहेछन्, अझ सत्ता गठबन्धनको पनि समर्थन छ भनिरहेका छन् नि ? के तपाईं काँग्रेसको सहयोग र गठबन्धनको समर्थनमा नेतृत्वमा आउन खोज्नु भएको हो ?
मेरो उम्मेदवारी गैरआवासीय नेपाली संघको हो । अवश्य पनि डेमोक्र्याट भएका कारणले मलाई डेमोक्रेट्सहरुले सदासयता राख्नु अथवा नेपालका सत्ता गठबन्धनले सदासयता राख्नु र कुल आचार्यले गैरआवासीय नेपाली संघलाई मजबुद बनाएर काम गर्न सक्छ भनेर उहाँहरुले मलाई विश्वास गर्नुलाई सौभाग्य नै ठान्छु ।
तर, पार्टीको भन्दा पनि गैरवाआवासीय नेपाली संघको उम्मेदवार हुँ । पक्कै पनि लोकतन्त्रवादीहरुले मलाई सपोर्ट गर्नु स्वाभाविकरुपमा लिनुपर्छ । संसारभरबाट प्रतिक्रिया पनि राम्रो पाएका छु, सकारात्मक प्रतिक्रियाले चुनावी अभियानमा उत्साहित भएको छु ।
म तलैबाट आएको हुनाले तल्लो तहसम्म गैरआवासीय नेपाली संघलाई पुर्याउने लक्ष्य नै मेरो लक्ष्य हो । संस्थालाई बाहिरबाट अथवा आईसीबाट (केन्द्रबाट) कब्जा गर्ने अथवा नियन्त्रण गर्ने जुन मेकानिज्म बनाउँछौं , त्यसले हामी कमजोर हुँदै जान्छौं । त्यसकारण तलबाट हाम्रो फाउन्डेसन बलियो बनाउँदै जानुपर्छ ।
अर्को प्रसंग, तपाईं निकटका केही एनआरएनएहरुले परराष्ट्रमा उजुरी दिनुभएको थियो, त्यो विवाद कहाँ पुग्यो ?
म निकटभन्दा पनि केही साथीहरुले संघमा पदीय दुरुपयोग बढाउनुभयो । विधानलाई अपव्याख्या गरिसकेपछि, विधानभन्दा माथि हुनेगरी नियमावली बनाएर डेलिडेट्स चयन गर्न सुरु भएपछि गैरआवासीय नेपाली संघका उपाध्यक्षहरुले नोट अफ डिसेन्ट नै लेख्नुभएको छ । उहाँहरुले धेरैचोटि कुरा राख्नु भएको छ, इमेल गर्नुभएको छ । संसारभरका एनआरएनएहरुले अनियमितता भएको भन्नु भएको छ । इमेल वा निवेदन लेखेर धेरै प्रश्नहरु गर्नुभएको छ । तर, वर्तमान नेतृत्वले समस्या समाधान गर्नुको साटो एकाएक नामावली प्रकाशित गरेर जुन अन्याय गरेको छ, त्यसलाई सच्याइनुपर्छ भनेर केही साथीहरुले परराष्ट्रमा निवेदन दिनुभएको हो ।
मैले बुझेअनुसार विवादबारे तीन सदस्यीय कार्यदल बनेर त्यो समितिले छानबिन गरिरहेको अवस्था छ । समयमा महाधिवेशन अथवा चुनाव हुन्छ कि हुँदैन भन्नेमा म आफैं पनि द्विविधामै छु । म फेरि के भन्न चाहन्छु भने जेजे कुराहरुमा अनियमितता भएको छ, त्यो अनियमिततालाई छिटोभन्दा छिटो टुंग्याएर, जुनजुन गल्ती भएको छ, त्यसलाई सुधारेर समयमै संघको अनिवेशन र चुनाव गर्नुपर्छ भन्ने मेरो जोडदार माग छ ।
तपाईंले चुनाव हुने नहुनेमै द्विविधा छ भन्नुभयो । तपाईं उम्मेदवार नै चुनाव हुने–नहुनेमा अन्योलमा हुनुहुन्छ भने आम सदस्यहरूमा त झन् अन्योल हुने देखियो नि ?
मैले चुनावै हुँदैन भन्न खोजेको त होइन । मैले यो छानबिन प्रक्रियाले केही समय सर्न सक्छ, भन्न खोजेको हो । म के भन्न चाहन्छु भने जुन अनियमितता भएको छ, त्यसलाई छिटोभन्दा छिटो समाधान गरेर तोकिएकै समयमा चुनाव गर्नुपर्छ । नभए पनि धेरै लामो समय लिएर जानु हुँदैन ।
भन्नाले अक्टोबर २० मा चुनाव नभएर केही समय सर्न सक्छ भन्ने यहाँको आशंका हो ?
मेरो आशंका हो । सकभर अक्टोबर २० मै गर्नुपर्छ भन्ने मेरो जोडदार माग पनि हो ।
तपाईंहरु जो नेतृत्वमा आए पनि सत्तासँग फाइदा लिने तर तल्ला तहका एनआरएनएलाई फाइदा पुग्ने कुनै काम हुँदैन भन्ने आरोप छ नि ? यस्तो किन हुन्छ ?
सबै तहमा पहुँच बढाउने गरी म लागिरहेको छु । सबै तहले काम गर्न पाउने वातावरण हुनुपर्छ । तल्लो तह भनेको गैरआवासीय नेपाली संघको एनसीसीहरु हुन् । पूर्ण स्वायत्तता दिएर उहाँहरुले काम गर्न सक्ने वातावरण बनाउनुपर्छ । त्यसैले हामीले माथिबाट हस्तक्षेपकारी भूमिका खेल्न हुन्न भन्ने लडाइँ नै अहिलेको हाम्रो लडाइँ पनि हो ।
म तलैबाट आएको हुनाले तल्लो तहसम्म गैरआवासीय नेपाली संघलाई पुर्याउने लक्ष्य नै मेरो लक्ष्य हो । संस्थालाई बाहिरबाट अथवा आईसीबाट (केन्द्रबाट) कब्जा गर्ने अथवा नियन्त्रण गर्ने जुन मेकानिज्म बनाउँछौं , त्यसले हामी कमजोर हुँदै जान्छौं । त्यसकारण तलबाट हाम्रो फाउन्डेसन बलियो बनाउँदै जानुपर्छ ।
तपाईं एनआरएनएको नेतृत्वमा पुग्नुभयो भए एनआरएनएहरुले संस्थामा के–के फरकपन पाउँछन् ?
सच्चा गैरआवासीय नेपालीले राष्ट्रिय समन्वय समितिको स्वायत्तता के हो, गर्नुपर्ने के हो, साथै जोजो अहिले पदमा जान चाहनुहुन्छ उहाँहरुले माथिबाट भन्दा पनि तलबाट आउँदै गर्दा बल्ल हामीले सच्चा गैरआवासीय नेपाली संघ पायौँ भन्ने फिल हुनेगरी काम गर्नेछु । मेरा एजेण्डाअनुसार काम गर्न सकियो भने त्यतिबेला सबैले फरक फिल गर्नेछन् र त्यो फिल गर्ने बनाउँछु भन्ने रातोपाटीमार्फत प्रतिबद्धता पनि जाहेर गर्छु ।
अन्त्यमा, रातोपाटीमार्फत के भन्न चाहनुहुन्छ ?
संसारभरि रहेका आदरणीय गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, लामो समयदेखि तपाईंहरुको माया, ममता, सल्लाह, सुझावले गैरआवासीय नेपाली संघको अभियानमा खटिरहेको छु । फेरि एक पटक २०२१–०२३ को कार्यकालका लागि यहाँहरुकै सद्भावअनुसार गैरआवासीय नेपाली संघको नेतृत्वको लागि जुन मैले जमर्को गरेको छु, विगतका दिनहरुमा जस्तै फेरि पनि मलाई यहाँहरुको सहयोग, सद्भाव र मायाको आवश्यकता छ । र, यहाँहरुले मलाई अझै सिकाउनु हुनेछ र केही सिकेर संस्थालाई मर्यादित र प्रतिष्ठित बनाउने छु । एकपटक संस्थाको नेतृत्व गर्ने अवसर दिनुहुन म समस्त एनआरएनए दाजुभाइ तथा दिदीबहिनीहरुमा अपील गर्न चाहन्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
-
कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड
-
प्रियंका र सरोजको मन छुने प्रेमकथामा ‘मनको तिर्सना’
-
राष्ट्रिय परिचयपत्र विवाद : सरकारको भ्याकेटले सर्वाेच्चमा सुनुवाइको पालो नै नपाएपछि...
-
निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन