बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दार्चुलाको त्रिदेशीय नाकाको सञ्चार विच्छेद

बुधबार, १३ असोज २०७८, १० : ४१
बुधबार, १३ असोज २०७८

सामरिक महत्व बोकेको यहाँको त्रिदेशीय नाकाको सञ्चार विच्छेद भएको छ । व्यास गाउँपालिकाको छाङ्गरु र तिंकरमा मोबाइल फोनले काम नगर्दा सञ्चार सम्पर्कविहीन बनेको हो । गत वर्षबाट अवरुद्ध बनेको नेपाल टेलिकमको स्काइ फोनले काम नगर्दा स्थानीयवासीले समस्या भोग्नुपरेको छांगरुका बासिन्दा योगेश बोहराले बताए । गत वैशाख÷जेठमा कुञ्चा सरेका स्थानीयवासीले फोन गर्न पाएका छैनन् । “छांगरुमा कहिलेकाहीँ भायनेटले काम गर्छ”, बोहराले भने, “भायनेट नचलेको भए हामी केही खबर गर्न सक्ने अवस्थामा हुने थिएनौँ ।”

भायनेट पनि सँधै नचल्दा समस्या हुने गरेको छ । कहिलेकाहीँ महिना दिनसम्म सम्पर्कविहीन बस्नुपरेको उनले बताए । नेपाल टेलिकमको स्काइ फोन चल्दैन । टेलिकमका प्रमुख कृष्णबहादुर गुरुङले दुईपटक गएर मर्मत गरे पनि स्काइले काम गर्न नसकेको स्थानीयवासी बताउँछन् ।

एक वर्ष छांगरुमै फोरजी सेवा चल्ने नमस्तेको टावर जडान गरिएको भए पनि अझै सञ्चालनमा ल्याइएको छैन । टावरको काम भए पनि आवश्यक उपकरण आइनपुग्दा सञ्चालन हुन नसकेको टेलिकमले जनाएको छ । तिंकर गाउँमा भने कुनै पनि फोनले काम गर्दैन । छांगरुमा राखिएको स्काइ टावरले तिंकर गाउँमा काम गर्दैन ।

तिंकरका लागि यस वर्ष नमस्ते टावर राख्ने गरी सर्वेक्षण गरिएको टेलिकमका प्रमुख गुरुङले बताए । छांगरुमा रहेको स्काइ टावरमा सोलारपावर अभावले पनि काम गर्न नसकेको गुरुङले जानकारी दिए । नियमित घाम नलाग्दा पावर बचत हुनसकेको छैन । छांगरुका लागि थप सोलार प्यानल माग गरिएको उनले बताए । मोबाइल फोनले काम नगर्दा नेपाल प्रहरी, सशस्त्र प्रहरीले पनि समस्या भोग्दै आएका छन् । छांगरुस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्ममा ल्याण्डलाइन फोन जोडिएको छ । ल्याण्डलाइन पनि नियमित सञ्चालन नहुँदा समस्या हुने गरेको सुरक्षाकर्मी बताउँछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप