बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले सार्वजनिक गर्‍यो थप तीन जिल्लाका क्रियाशील सदस्यको नामावली

मङ्गलबार, १२ असोज २०७८, २२ : ३०
मङ्गलबार, १२ असोज २०७८

काठमाडौं । नेपाली काँग्रेसले थप तीन जिल्लाको क्रियाशील विवाद टुङ्ग्याएको छ । कैलाली, धनुषा र सर्लाहीको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरिएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलालीमा अब काँग्रेस अधिवेशनको ढोका खुलेको छ । सुदूरपश्चिमका ८ जिल्लामा पालिका अधिवेशन भइसक्दा पनि कैलालीमा वडा अधिवेशन समेत हुन सकेको छैन । 

यस्तै १४ औं महाधिवेशनमा सभापतिका दाबेदार तथा वर्तमान उपसभापति विमलेन्द्र निधिको गृहजिल्लामा पनि क्रियाशील सदस्यता विवाद टुंगिएको छ । क्रियाशील सदस्यता विवादकै कारण पार्टी कार्यालय सानेपामा प्रदेश २ का खेलकुद वीरेन्द्रप्रसाद सिंह र सर्लाहीका बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोबीच कुटाकुट भएको थियो । 

क्रियाशील छानविन समितिका सदस्य योगेन्द्र चौधरीका अनुसार कैलालीको टिकापुर वडा नम्बर एकमा १३ औं महाधिवेशनका क्रियाशील सदस्यबाट अधिवेशन गर्ने गरी नयाँ क्रियाशील सदस्यता स्थगन गरिएको छ । 

कैलालीमा राप्रपाबाट काँग्रेसमा आएकाहरुको विषयमा पनि विवाद थियो । राप्रपाबाट काँग्रेस प्रवेश गरेका आमन्त्रित केन्द्रीय सदस्य आशाराम चौधरीलाई १२५ सदस्य दिइएको चौधरीले रातोपाटीलाई बताए ।

६४ जिल्लामा अधिवेशन प्रक्रिया सुरु भइसक्दा पनि १३ जिल्ला अधिवेशन रोकिएको छ । शनिबारमा महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँकेको क्रियाशील सदस्यको सूची सार्वजनिक गरिएको छ । अब पर्सा, बारा, रौतहट, सप्तरी र रसुवाको क्रियाशील सदस्यको सूची सार्वजनिक हुन बाँकी छ ।

सोमबार नेतात्रय कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकबीच भएको छलफलबाट सैद्धान्तिक सहमति भएको छ । क्रियाशील सदस्यता विवाद भएका वडामा कसरी टुंग्याउने भनेर उनीहरु प्रस्ट निर्देशन दिएका छन् । त्यसको कार्यान्वयन हुँदा विवाद टुंग्याउन समस्या नभएको चौधरीको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप