शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : मन्त्रिपरिषदमा मिलाइयो दलीय भागवण्डा, १० बुँदे समस्या समाधान गर्ने एमाले कार्यदलको निष्कर्ष

मङ्गलबार, १२ असोज २०७८, २० : ५१
मङ्गलबार, १२ असोज २०७८

आज २०७८ असोज १२ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं– आजका मुख्य समाचारहरुमा मन्त्रिपरिषदमा बल्ल मिलाइयो दलीय भागवण्डा, चुनावमै जान ओलीको जोड, १० बुँदे कार्यान्वयनको समस्या समाधान गर्ने एमाले कार्यदलको निष्कर्ष, परराष्ट्रमन्त्री खड्काको शपथ बदरको माग गर्दै रिट निवेदन, जब सांसद नै ठगिए लगायत छन् । 
 
१. मन्त्रिपरिषदमा बल्ल मिलाइयो दलीय भागवण्डा
सत्तारुढ गठबन्धनले बल्ल मन्त्रिपरिषद विस्तारका लागि भागवण्डा मिलाएको छ । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन आवद्ध दलबीच मन्त्रिपरिषदमा दलीय भागवण्डा मिलाइएको हो । शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री भने कसैलाई नबनाइने भएको छ । भागवण्डाअनुरुप नेकपा एकीकृत समाजवादी पार्टी र जसपा नेपालले आफ्ना तर्फबाट मन्त्री हुनेको नाम प्रधानमन्त्री देउवालाई बुझाइसकेका छन् ।

२. चुनावमै जान ओलीको जोड
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमै जान जोड गरेका छन् । मंगलबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा ओलीले संसदको भूमिका प्रभावकारी हुन नसकेको भन्दै ताजा जनादेशमै जानुपर्नेमा जोड दिएका हुन् ।

३. परराष्ट्रमन्त्री खड्काको शपथ बदरको माग गर्दै रिट निवेदन
परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट निवेदन परेको छ । मंगलबार अधिवक्ता विशाल न्यौपानले मन्त्री खड्काको शपथ कुनै पनि कानुनी व्यवस्था र कानुनी स्रोतबिनै भएको भन्दै सर्वोच्चमा रिट हालेका हुन् ।

नेकपा एमालेले पार्टीको एकतालाई अझै सुदृढ बनाउने गरी १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको उच्चस्तरीय कार्यदलको बैठकले नीतिगत व्यवस्था गरेर पार्टीको आन्तरिक एकता अझै सुदृढ हुने गरी समस्या समाधान गरेर जाने निष्कर्ष निकालेको हो ।

५. काठमाडौंमा प्रहरीको दसैँ सुरक्षा योजना
महानगरीय प्रहरी परिसर काठमाडौंले दसैँ, तिहार र छठलाई केन्द्रित गरेर सुरक्षा योजना लागु गरेको छ । चाडपर्वमा हुने अपराधका घटना न्यूनीकरण गर्न प्रहरीले घरधनीहरुलाई डेरामा बस्ने र घरमा काम गर्नेहरुको फोटोसहितको विवरण राख्न सार्वजनिक सूचना जारी गरेको छ ।

६. जब सांसद नै ठगिए
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मंगलबार संसद् सचिवालयमा डाकेको बैठकमा सांसद तथा आगन्तुकलाई खुवाइएको बिस्कुट नै गुणस्तरहीन पाइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले समितिको बैठकमा खाजाका रुपमा ल्याइएको बिस्कुटमा उत्पादन मिति, लेबल लगायत एउटा उत्पादनमा हुनुपर्ने न्यूनतम मापदण्डसमेत नरहेको देखाएका हुन् ।

७. माओवादी केन्द्रको बैठक सारियो
मंगलबार बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तताका कारण बुधबार ११ बजे बस्नेगरी स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

८. एमालेको विधान महाधिवेशनको तयारी तीव्र
असोज १५–१७ मा हुने एमालेको विधान महाधिवेशनमा भाग लिन देशैभरका ५ हजार बढी प्रतिनिधि काठमाडौँमा भेला हुँदैछन् । विधान महाधिवेशन व्यवस्थापन समितिका सदस्य खिमलाल भट्टराईले १४ गतेसम्ममा आयोजनास्थलमा सबै तयारी पूरा भइसक्ने जानकारी दिए ।

९. नेकपा एकीकृत समाजवादी निकट युवा संघले दुई महिने अभियान चलाउने
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले दुई महिने संगठन निर्माण तथा पुनर्जागरण अभियान सञ्चालन गर्ने भएको छ । युवा संघ नेपालको असोज ७ र ८ गते बसेको केन्द्रीय सचिवालय कमिटीको बैठकले दुई महिने संगठन निर्माण तथा पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको मंगलबार पत्रकार सम्मेलनमा जनाइएको हो ।  

१०. पछिल्लो २४ घण्टामा एक हजार १५८ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट एक हजार १५८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ३१८ जना संक्रमणमुक्त भएका छन् ।

११. र यो पनि,
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संसदबाट विश्वासको मत लिने भएकी छन् । मुख्यमन्त्री शाक्यले सरकार टिकाउन साना दलसहित अन्य दलहरूसँग गठबन्धनको प्रयास विफल भएपछि संसदबाट विश्वासको मत लिने तयारी थालेकी हुन् ।

विराटनगर विमानस्थलमा अवतरणको क्रममा एक इन्डिकेटरले दायाँ तर्फको पाङ्ग्रा नखुलेको जानकारी नगराएपछि काठमाडौं फर्किएको बुद्ध एयरको जहाजले आज बिहानैबाट उडान सुरु गरेको छ । सोमबार प्राविधिक समस्या देखिएको भनिएको उक्त जहाज काठमाडौंमा करिब दुई घण्टा आकाशमा घुमेर सफल अवतरण गरेको थियो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप