बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युत अनियमित हुँदा उपभोक्तालाई सास्ती

मङ्गलबार, १२ असोज २०७८, १३ : ३५
मङ्गलबार, १२ असोज २०७८

 रुकुम पूर्व र रुकुम पश्चिममा विद्युत अनियमित हुँदा समस्या हुने गरेको छ । सल्यानको शितलपाटी सव–स्टेसनदेखि रुकुम पश्चिमसम्म आउने ११ केभीए विद्युत लाइनमा समस्या आउदा दुई जिल्ला रुकुम पूर्व र रुकुम पश्चिममा विद्युत अनियमित हुने गरेको हो ।

शितलपाटीदेखि यता कुन ठाउँमा के समस्या छ भन्ने पत्ता नलाग्दा यी दुई जिल्लामा बारम्बार विद्युत अवरुद्ध हुने समस्या छ । रुकुम पूर्वमा पनि रुकुम पश्चिम भएर नै केन्द्रीय प्रसारण लाइन जोडिएको छ । केही समय यता विद्युत अनियमित भइरहँदा दुई जिल्लाका उपभोक्ताले निकै सास्ती खेप्नु परेको छ ।

विद्युत सेवा बारम्बार अवरुद्ध हुँदा दैनिक कामकाजमा समस्या भएको सिस्ने गाउँपालिका–५ का मदन शाहले बताए । विद्युत अनियमित हुने समस्याका कारण राति बत्ती बाल्न लगायत विद्युतबाट हुने विभिन्न काम प्रभावित हुने गरेको उनको भनाइ छ ।

शितलपाटीदेखि रुकुम पश्चिमबीचको विभिन्न ठाउँमा फल्ट आएका समस्याका कारण विद्युत नियमित हुन नसकेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र खलंगाका प्रमुख त्रिलोचन भट्टराईले बताए । त्यहाँ समस्या आउँदा दुवै जिल्लामा विद्युत अवरुद्ध हुन्छ ।

यता नेपाल विद्युत प्राधिकरण रुकुम पूर्व वितरण केन्द्रका प्राविधिक देवप्रसाद ओलीले रुकुम पूर्व भागमा कुनै समस्या नदेखिएको बताए । रुकुम पश्चिमदेखि उताको लाइनमा समस्या आउँदा यता पनि विद्युत अनियमित हुने उनको भनाइ छ ।

एक ठाउँमा बनाए पनि अर्काे ठाउँमा बिग्रदा विद्युत आपूर्तिमा निकै समस्या भएको र कुन ठाउँमा के समस्या छ भन्ने पत्ता लगाउनै समय लाग्ने गरेको प्राधिकरणले जनाएको छ ।

विद्युत अनियमित हुने समस्या समाधानका लागि रुकुम पश्चिमको धैरेनीचौरको सव–स्टेसन निर्माण भए पनि सञ्चालनमा भने ढिलाइ भएको छ । साउनदेखि ३३ केभीए प्रसारण लाइन परीक्षण सुरु गरिएको भए पनि बर्खाको कारण देखाउँदै उक्त काम रोकिएपछि सव–स्टेसन सञ्चालन हुन नसकेको हो ।

भदौ पहिलो साता सव–स्टेसन सञ्चालन गरी जिल्लामा सहज विद्युत आपुर्ति गर्ने योजना बनाएको नेपाल विद्युत प्राधिकरणले ३३ केभीए प्रसारण लाइनको परीक्षणको काम रोकेको छ । जिल्लामा विद्युत आपूर्तिमा समस्या हुने भएकाले ३३ केभीए प्रशारण लाइनको परीक्षणको काम रोकिएको वितरण केन्द्र खलंगाका प्रमुख भट्टराईले जानकारी दिए । धैरेनीचौरमा निर्माण भएको सव–स्टेसन सञ्चालनमा आएपछि जिल्लामा विद्युत आपूर्तिमा सहज हुने प्राधिकरणको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप