आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

लोसपाले प्रमुख प्रतिपक्षको भूमिका सशक्त ढङ्गले निर्वाह गर्छ : जितेन्द्र सोनल

मङ्गलबार, १२ असोज २०७८, १३ : १०
मङ्गलबार, १२ असोज २०७८

जनकपुर । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेश २ का संसदीय दलका नेतामा जितेन्द्र सोनलले आफूहरुले प्रमुख प्रतिपक्षको भूमिका सशक्त ढंगले निर्वाह गर्ने बताएका छन् । सोमबार राति लोसपा प्रदेश २ को संसदीय दलको नेता चयन भएका सोनलले रातोपाटीसँग मंगलबार कुरा गर्दै आफ्नो पार्टीले जनताको पक्षमा आवाज उठाउने बताए । प्रदेश २ मा जसपा, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रसहितको संयुक्त सरकार रहँदा लोसपा नै सबैभन्दा ठुलो विपक्षी दल बनेको छ । विपक्षमा रहेको एमालेको ८ सांसद छन् भने लोसपाका १६ सांसद छन् ।

सोनलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग प्रष्ट दृष्टिकोण नरहेकै कारण प्रदेश सरकार जनताप्रति उत्तरदायी हुन नसकेको टिप्पणी गरे । उनले आफ्नो दलले अब सरकारलाई खबरदारी गर्ने पनि बताए ।उनले मुख्यमन्त्री लालबाबु राउतले सरकारमा टिक्नका लागि मात्र ध्यान दिएको आरोप लगए । ‘यो सरकारसँग मधेसको उन्नति, प्रगति, समृद्धि, संघीयतालाई संस्थागत गर्ने सवालमा कुनै प्रष्ट दृष्टिकोण छैन, प्रष्ट योजना छैन,’ उनले भने, ‘एनी हाउ, सरकार बचाउ भनेजस्तो मात्र हो ।’

उनले प्रदेश २ सरकारमा भद्रगोल देखिएको बताए । ‘अहिले क्याबिनेटको बैठक बसिरहेको छैन, संसद बन्द छ, मन्त्री–मन्त्रीमा मुद्दा चलिरहेको छ,’ उनले भने, ‘मन्त्रीहरुलाई बस्ने क्वाटर छैन, अफिस छैन । यो सरकारसँग व्यवस्थापन गर्ने कुनै व्यवस्थापकीय दृष्टिकोण नै छैन ।’

विभिन्न सञ्चारमाध्यममा प्रदेश सरकारका गलत कामबारे समाचार आइरहे पनि त्यसको बारेमा सरकारले जवाफसमेत दिन नसकेको सोनल बताउँछन् । प्रदेश सरकार जसरी भए पनि समय काट्ने उद्देश्यमा मात्र केन्द्रित रहेको उनले बताए । तर आफूहरुले त्यसरी जनताको समय खेर जान नदिने उनको भनाइ छ ।

आफूहरुलाई ‘प्रतिगामी’ भनिएकोमा आपत्ति जनाउँदै सोनलले संसद विघटनकै आधारमा अग्रगमन र प्रतिगमन भनेर छुट्याउन नसकिने बताए । उनले भने, ‘अहिलेको यो संसदले कुनै प्रोडक्ट दिन सकेको छैन । न संसद चलिरहेको छ, न कुनै कानुन बनाउन सकिरहेको छ, यस्तो संसद राखिराख्नुभन्दा लोकतन्त्रमा ताजा जनादेशका लागि जानुभन्दा राम्रो के हुन्छ ?’

प्रधानमन्त्री शेरबहादुर देउवाले नै यसअघि पटक पटक प्रतिनिधिसभा विघटन गरेको जिकिर गर्दै सोनलले भने, ‘बाबुरामजीले हाँसी हाँसी प्रथम संविधानसभालाई विघटन गर्नुभयो । त्यो संविधान सबैभन्दा समावेशी, हरेक शोषित, पीडित, उपेक्षित, प्रताडितहरुको प्रतिनिधित्व भएको संविधानसभा थियो ।’

संसद विघटनले मात्र अग्रगमन र प्रतिगमनको मापन गर्न नहुने उनले प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप