बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा देउवा–पौडेल समूह छैनन्, सिटौला–शर्मा मात्र !

१५ स्थानीय तहमा रस्साकस्सी, अब जिल्ला सभापतिको पालो !
मङ्गलबार, १२ असोज २०७८, १२ : ५९
मङ्गलबार, १२ असोज २०७८


 

सुदूरपूर्वको झापा जिल्ला कम्युनिस्टको खानी त हो नै, काँग्रेसको पनि मलिलो जिल्ला हो । सीपी मैनालीदेखि केपी शर्मा ओलीसम्मका एमाले नेता जन्माउने झापाले नेपाली काँग्रेसका वैचारिक नेता सिके प्रसाईदेखि कृष्णप्रसाद सिटौला हुँदै युवा नेता विश्वप्रकाश शर्मासम्म जन्माएको छ ।

यहाँको रोचक पक्ष के छ भने १४ औँ महाधिवेशनको सँघारमा रहेको  नेपाली काँग्रेसमा देउवा पक्ष र पौडेल पक्षबीच प्रतिस्पर्धा चलिरहेका बेला झापामा चाहिँ न देउवा पक्षको प्रभाव छ, न पौडेल पक्षको । न त यहाँ कोइराला पक्षको गुट नै छ । काँग्रेसका झापाली नेता भन्छन्– यहाँ त सिटौला पक्ष र शर्मा पक्ष मात्र छ ।  

झापाका काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले यसपटक पनि केन्द्रीय सभापतिमा चुनाव लड्ने इच्छा देखाएका छन् । १३ औँ अधिवेशनमा गगन थापासहित बेग्लै समूह बनाएर चुनावमा होमिएका सिटौला यसपटक पनि गृह जिल्ला पुगेर आफ्नो शक्ति आँकलन गरिरहेका छन् ।

अर्कोतर्फ झापाबाटै राजनीतिमा उदाएका प्रवक्ता विश्वप्रकाश शर्माले देउवा समूहबाट टाढिएर महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् । अहिलेसम्म एक नदीका दुई किनाराजस्तै देखिएका सिटौला र शर्माले आफ्नो गृहजिल्लामा एक अर्काका प्रतिस्पर्धी गुट चलाइरहेका छन् ।

शर्मा र सिटौलाका अगाडि झापामा देउवा समूह र पौडेल समूह फिक्का देखिएका छन् । सिटौलाका सामु विगतमा कमजोर देखिएका शर्माले जिल्लामा आफ्नो शक्ति बढाएको उनी निकट दाबी गरेका छन् ।

झापा जिल्लाबाट १३१ जनाले १४ औँ महाधिवेशनमा प्रतिनिधित्व गर्नेछन् । जिल्लाबाट ३ हजार ३६८ जना क्षेत्रीय प्रतिनिधि चुनिएका छन् । यिनै क्षेत्रीय प्रतिनिधिमध्येबाट १३१ जना महाधिवेशन प्रतिनिधि चुनिन्छन् ।

१३१ मध्ये शर्मा र सिटौलाबीच ४०/६० को अवस्था हुन सक्ने शर्मा निकट नेताहरूको दाबी छ । तर, सिटौला पक्षले भने झापामा आफ्नो पुरानै वर्चस्व रहने दाबी गरेको छ । झापा जिल्लामा पहिले र सिटौला र शर्माको अवस्था २५/७५ को स्थिति थियो । क्षेत्रीय प्रतिनिधिहरूको पछिल्लो मत परिणामले ४५/५५ को अवस्थामा पुर्‍याएको दाबी शर्मा निकटस्थहरूको छ । त्यति नै नपुगे पनि सिटौला र शर्माबीच ६०/४० को शक्ति सन्तुलन बनेको नेताहरू बताउँछन् । 

यसैबीच, १५ वटा स्थानीय तहको अधिवेशनमा भने शर्मामाथि सिटौला हाबी भएका छन् ।   

१५ स्थानीय तहमा रस्साकस्सी

झापाका कुल १५ वटा स्थानीय तहका अधिवेशन सकिँदा सिटौला बलियो देखिएका छन् । १५ मध्ये चारवटा स्थानीय तहमा सहमतिमै नेतृत्व छानिएको छ भने बाँकी ११ वटामा चुनाव भएको छ । १५ जना स्थानीय सभापतिमध्ये विश्वप्रकाशतर्फ खुलेका कमल, बुद्ध शान्ति र शिव सताक्षीका गरी तीनजना छन् । बाँकी प्रायः सिटौला पक्षका छन् । १५ स्थानीय तहमा छानिएका काँग्रेस सभापतिहरूको विवरण यस्तो छ–

१. हल्दीबारी गाउँपालिका– गंगा प्रसाईं 

२. बाह्रदशी गाउँपालिका – इन्द्र बस्नेत

३. कचनकवल गाउँपालिका– तुलाराम अधिकारी 

४. कमल गाउँपालिका–बुद्धि नेउपाने 

५. झापा गाउँपालिका– सागिरथ गणेश 

६. गौरीगञ्ज गाउँपालिका–अघनप्रसाद राजबंसी 

७. बुद्ध शान्ति गाउँपालिका– चक्र सेर्मा 

८. भद्रपुर नगरपालिका– राम बहादुर कँडेल

९. कन्काई नगरपालिका– दुर्गा प्रसाईं

१०. दमक नगरपालिका– प्रकाश प्रसाईं

११. मेचिनगर नगरपालिका– सुदय पनेरू 

१२. अर्जुन धारा नगरपालिका– हेमराज खरेल

१३. गौरादह नगरपालिका– यादवराज सेढाई 

१४. शिवसतासी नगरपालिका– अशोक बस्नेत 

१५. बिर्तामोड नगरपालिका– भोजराज सिटौला
 

झापाका एक काँग्रेस नेताले दिएको जानकारीअनुसार बुद्ध शान्ति, हल्दीबारी, कचनकवल र झापा गाउँपालिकामा सर्वसम्मत नेतृत्व छानिएको छ । सर्वसम्मत भन्नाले यी चार स्थानीय तहमा सिटौला र विश्वप्रकाश दुबै पक्षको सहमतिमै नेतृत्व छनोट भएको हो ।

हल्दीबारीमा सिटौलाको पक्षबाट अर्कै मान्छे सभापतिको आकाङ्क्षी रहेका बेला उनलाई ‘ब्याक’ सारेर गंगा प्रसाईँलाई सर्वसम्मत सभापति बनाइएको छ । सर्वसम्मत सभापति बनेका बुद्धशान्तिका चक्र सेर्मा भने विश्वप्रकाशको टिमका मान्छे रहेको शर्मा निकटस्थहरूको दाबी छ ।

कमल गाउँपालिकाका बुद्धि न्यौपाने ६५/६५ मत आएपछि गोला प्रथाबाट सभापति बनेका छन् । उनी विगतमा  विश्वप्रकाशले बनाएको नेविसंघको टिममा झापाको कोषाध्यक्ष थिए । त्यसैले उनी विश्वप्रकाशसँगै नजिक मानिन्छन् । शिव सताक्षीका अशोक बस्नेतले सभापतिमा जितेका छन्, जो विश्वप्रकाशकै निकट रहेको काँग्रेस नेताहरूको दाबी छ ।

झापा गाउँपालिकाका सभापति न विश्वप्रकाशका मान्छे हुन्, न सिटौलाका । उनी कसैका मान्छे होइनन् । बरु त्यो केशवकुमार बुढाथोकीको पकड क्षेत्र हो । अहिले बुढाथोकीको पक्षबाट जिल्ला सभापति दाबी गरिरहेका देउमान थेबेको पनि पकड क्षेत्र मानिन्छ झापा गाउँपालिका ।

कन्काई नगरपालिकामा दुर्गा प्रसाईंले सभापति जितेका छन् । उनी  सरिता प्रसाईं नजिकका मान्छे हुन् । सरिता प्रसाईं विश्वप्रकाशसँगै नजिक छिन् । गौरादह नगरपालिकामा भने सभापतिको चुनाव दुई मतले तलमाथि भएको छ । त्यहाँ विश्वप्रकाश निकट गोपाल कोइराला दुई मतले हारेका छन् ।

जिल्ला सभातिमा सिटौला भर्सेस शर्मा

झापामा काँग्रेसभित्रको समीकरणबारे चर्चा गर्दै एक नेताले रातोपाटीसँग भने, ‘झापामा रामचन्द्र पौडेल र शेरबहादुर देउवाको कित्ता छैन । शेरबहादुर देउवा भन्दा पनि विश्वप्रकाश जता लाग्यो, त्यतै हुने हो । यहाँ त कृष्ण सिटौला र विश्वप्रकाशको मात्रै कुरा हुन्छ । देउवा र पौडेलको हुँदैन । शर्मा र सिटौलाको हुन्छ ।’

स्थानीय तहको अधिवेशन सकिएपछि अब सिटौला र शर्माको ध्यान जिल्ला अधिवेशनतर्फ सोझिएको छ । वर्तमान जिल्ला सभापति उद्धव थापाको ठाउँमा आफू निकटस्थलाई जिताउन सिटौला र शर्मा लागिपरेका छन् ।

विगतमा सिटौला टिममा रहेका वर्तमान उपसभापति राम कट्टेल अहिले झापाको सभापतिका बलिया दाबेदार हुन् । तर, उनी अहिले विश्वप्रकाशको प्यानलबाट चुनावी मैदानमा उत्रँदैछन् । अर्कोतर्फ पूर्व उपसभापति देउमान थेबे सभापतिका प्रबल दाबेदार हुन् । उनी केशवकुमार बुढाथोकीको प्यानलबाट सभापतिका दाबेदार बनेका छन् । क्षेत्र नम्बर ४ मा राम्रो प्रभाव रहेका बुढाथोकी र कृष्ण सिटौलाबीच झापामा टक्कर पर्दै आएको छ । यसपटक जिल्ला सभापतिको चुनावमा कट्टेल र थेबेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

पछिल्लो समय जिल्ला कार्यसमितिको संरचनामा फेरबदल आएको र विश्वप्रकाशले सिटौलालाई टक्कर दिन थालेको शर्मा निकटस्थ युवा नेताहरूको तर्क छ ।  जस्तो– राम कट्टेल सिटौलाको खेमाबाट उपसभापति बनेका थिए अहिले उनी विश्वप्रकाशसँगै छन् । मेचीनगरबासी उनीहरू एउटै वडाका बासिन्दा पनि हुन् ।

त्यस्तै प्रेम सम्बाहाङ्फे हिजो विश्वप्रकाशकै खेमाबाट सचिव बनेका हुन् । हिजो सिटौला खेमामा रहेका तारावीर कटुवाल पनि अहिले विश्वप्रकाशसँगै छन् । सहसचिव राजेन्द्र भण्डारी पनि अहिले विश्वप्रकाशसँगै छन् । अहिले जिल्ला कार्यसमितिमा रहेका धेरैजना विश्वप्रकाशको लाइनमा ढल्किएका छन् । अर्का सचिव देवी राजवंशी पनि विश्वप्रकाशकै खेमामा छन् । जिल्ला सचिव तारावीर कटवाल एक नम्बर क्षेत्रमा पर्ने मेचीनगरका बासिन्दा हुन्, जसले राम कट्टेललाई सहयोग गर्ने देखिन्छ । अर्का सचिव प्रेम सम्बाहाङफे पनि मेचीनगरकै भएकाले उनी पनि राम कट्टेलतिरै नजिक छन् ।

केशव कुमार बुढाथोकीको साथ रहेकाले देउमान थेबे जिल्ला सभापतिका बलिया दाबेदार मानिन्छन् ।  विश्वप्रकाश शर्मा निकट रहेर चुनाव लड्न लागेका राम कट्टेलले देउमानलाई हराउन त्यति सजिलो नरहेको नेताहरू बताउँछन् ।

केशव बुढाथोकी ‘फ्याक्टर’

झापा काँग्रेसको राजनीति ‘सिटौला भर्सेस शर्मा’ मा मात्रै सीमित छैन । यहाँ केशव कुमार बुढाथोकी फ्याक्टरलाई पनि बिर्सन मिल्दैन । पूर्व मन्त्री केशवकुमार बुढाथोकीलाई झापामा काँग्रेसको तेस्रो धार भन्दा पनि हुन्छ । उनी न विश्वप्रकाशसँग सहकार्य गर्न तयार छन्, न सिटौलासँग । बुढाथोकी झापाका लागि आफैँ एउटा शक्ति हुन् ।

विगतमा केन्द्रीय राजनीतिमा बुढाथोकी र शर्मा दुबैजना देउवा निकट मानिन्थे । तर, सामान्य प्रशासन मन्त्रीबाट हटिसकेपछि बुढाथोकी अहिले कोहीसँग पनि छैनन् । उनले झापामा आफ्नै गुट चलाइरहेका छन् । र, शर्माले पनि अहिले देउवा समूहबाट टाढिएर महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।

जिल्ला कमिटीको समीकरण हेर्दा शक्तिशाली नेता केशव बुढाथोकी अहिले शर्मा र सिटौलाभन्दा बेग्लै शक्ति आर्जन गर्न लागेका छन् । बुढाथोकीको तेस्रो धार शर्माका लागि चुनौती बन्ने देखिन्छ ।

बुढाथोकीको प्रभाव क्षेत्र भनेको झापाको ४ नम्बर क्षेत्र हो । त्यहाँ यसपटकको वडा अधिवेशनमा तीन पक्षका नेता मिलेको जस्तो देखिएको छ । केशवकुमार बुढाथोकी, कृष्णप्रसाद सिटौला र पूर्व जिल्ला सभापति सुधीर सिवाकोटी एकै ठाउँमा उभिँदा चार नम्बर क्षेत्रमा विश्वप्रकाशको उपस्थिति कमजोर बन्ने देखिन्छ ।

चार नम्बर क्षेत्रमा रहेका देउवानिकट केही नेता तटस्थ बसेका छन् भने काँग्रेसका ‘पैसावाल नेता’ राजेश खड्का वडामै निर्वाचित भएपछि देउवाको टिम यहाँ छिन्नभिन्न भएको छ ।

केन्द्रीय राजनीतिमा हस्तक्षेपकारी भूमिकामा प्रस्तुत हुन खोजिरहेका सिटौला र शर्माका लागि झापाको १३१ मत निकै कै महत्त्वपूर्ण हुनेछ । यसका साथै झापा जिल्ला सभापतिमा आफ्नो पक्षले जित्छ या हार्छ भन्ने विषय पनि शर्मा र सिटौलाका लागि चुनौतीको विषय बनेको छ । उता झापाबाट आउने १३१ भोटमध्ये कति मत केन्द्रीय सभापतिमा देउवा, निधि वा अन्य सभापतिका उम्मेदवारलाई खस्ला भन्ने पनि अनिश्चित नै देखिन्छ ।

पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला झापाबाट उदाएका काँग्रेसका पुराना केन्द्रीय नेता हुन् । राष्ट्रिय राजनीतिमा प्रभाव र पहुँच राख्ने सिटौला राजनीतिमा अलि पछि नै आए पनि झापामा केपी ओलीसँग टक्कर गर्न सक्ने समकालीन नेता मानिन्छन् । उता, विश्वप्रकाश शर्माचाहिँ विद्यार्थी राजनीतिबाट उदाएका कनिष्ठ तर युवा पुस्तामा आकर्षण भएका उदीयमान नेता मानिन्छन् । सिटौलामा पुरानो लिगेसी छ, शर्मामा युवा पुस्ताको आकर्षण छ ।

तर, एउटै जिल्लाका यी दुई काँग्रेस नेताबीच सहकार्यको सम्भावना छैन त ? के उनीहरू एउटै प्यानलबाट महाधिवेशनमा उभिने सम्भावना छैन ? यो प्रश्न भने अहिलेसम्म निरुत्तरित नै छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप