बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

औषधिको मूल्य नतोकिएको औषधि व्यवस्था विभागको स्पष्टोक्ति

मङ्गलबार, १२ असोज २०७८, १२ : ११
मङ्गलबार, १२ असोज २०७८

औषधि व्यवस्था विभागले हाल कुनैपनि औषधिको मूल्य निर्धारण नगरिएको जनाएको छ । विभिन्न मिडियामा औषधि व्यवस्था विभागले कानुनभन्दा बाहिर गएर औषधिको मूल्य बढाएको भन्दै भ्रमपूर्ण समाचार आएकाले भ्रममा नपर्न आग्रह गरेको हो ।

औषधि व्यवस्था विभागले सूचना जारी गर्दै सरकारले कुनैपनि औषधिको मूल्य नबढाएको जानकारी दिएको छ । औषधि ऐन, २०३५ को दफा २६ मा विभागले आवश्यक देखेमा नेपाल सरकारको  स्वीकृति लिई औषधिको मूल्य निर्धारण गर्न सक्ने व्यवस्था छ ।

हालसम्म विभिन्न ९६ प्रकारका औषधिहरूको मितिमा ०७२–०४–१८ मा नेपाल राजपत्रमा प्रकाशित गरेर मूल्य निर्धारण गरेपनि हालचाल भने कुनै औषधिहरूको मूल्य निर्धारण नगरिएको व्यवस्था विभागका बरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकारले मूल्य निर्धारण गरेका बाहेक अन्य औषधिहरूको मूल्य स्वयं उत्पादक कम्पनीले नै निर्धारण गरी औषधि बजारीकरण भई आएकोमा सोलाई नियन्त्रण गर्ने र औषधि मूल्यलाई पारदर्शी बनाउन विभागले अनुगमन गर्ने बताइएको छ ।

औषधिहरूको सिफारिस तथा प्रमाणपत्रहरूको नवीकरण गर्दा अधिकतम खुद्रा मूल्य वृद्धि भएको अवस्थामा साबिकको अधिकतम खुद्रा मूल्यमा १० प्रतिशतभन्दा बढी नबढ्ने गरी नियन्त्रण गर्ने प्रक्रिया अवलम्बन गरिएको छ ।

कुनै पनि औषधि मूल्य सम्बन्धित देशको सन्दर्भ मूल्यभन्दा अधिकतम खुद्रा मूल्य कायम गर्ने अनुमति नदिएको औषधि व्यवस्था विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप