मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बढ्दो अनलाइन ठगी : कतै प्रेमजाल, कतै लोभ

प्रहरी भन्छ– सचेत बनौं, हामी रिङ ब्याक टोन राख्दैछौँ
मङ्गलबार, १२ असोज २०७८, १० : २०
मङ्गलबार, १२ असोज २०७८

घटना–एक : संखुवासभा खाँदबारीकी सपना सामाजिक सञ्जाल फेसबुकमा नास्नी माइकल नामका एक युवासँग प्रेममा परिन् । आफूलाई युकेको नागरिक बताउने माइकलले ती युवतीलाई आफैं फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाएर प्रेममा पारे । कुराकानी लम्बिँदै गएपछि माइकलले सपनालाई करोडौँको उपहार पठाएको बताए ।

उपहार लिनका लागि कुरियर गर्दा लाग्ने खर्चबापत माइकलले ५ लाख (नेपाली रुपैयाँ) पठाउनुपर्ने बताए । आफ्नो अनलाइन प्रेमीले करोडौँको बहुमूल्य उपहार पठाउन लागेकाले पैसा जम्मा गरिदिन सपनाले आमाबुबासँग रोइकराई गरिन् ।

रकम जम्मा गरेपछि उनी उपहार लिन काठमाडौँ आइन् । उनलाई माछापुच्छ«्रे बैंकको पोखरा शाखामा रहेको रुद्रमाया राईको खातामा रकम जम्मा गर्न लगाइयो । सपनाले काठमाडौंबाट रुद्रमायाको खातामा आधा रकम जम्मा गरिदिइन् । आधा रकम प्रभु बैंकको काकरभिट्टा शाखामा रहेको चम्पा तामाङको खातामा हालिन् ।

भारतको सिलिगुढीस्थित प्रेन्टि क्रोस्टल चर्चका पादरी ३३ वर्षीय सन्दीप क्षेत्रीले धार्मिक मण्डलीमा भेट भएका चम्पा र रुद्रमायालाई सपनाले पठाएको भौचरको फोटो समेत पठाएर रकम एसबीआई बैंकमा जम्मा गरिदिन आग्रह गरेका थिए । क्रिश्चियन धर्ममा आस्था राख्ने चम्पा र रुद्रमायाले आफ्ना पास्टरले भनेका सबै कुरा पत्याए र माने ।

सपनाले पाँच लाख रुपैयाँ दिइसकेपछि पनि माइकलले उपहार पठाउन प्रहरी, कुरियर, यताउता मिलाउन गाह्रो भएको भन्दै थप ३ लाख रुपैयाँ मागे । काठमाडौँमा रहेकी सपनाले थप पैसाका लागि छिमेकी दाइलाई अनुरोध गरिन् । तर, उनका छिमेकी दाइले यसमा ठगी हुन सक्ने भन्दै सचेत गराएपछि सपना झसंग हुँदै अपराध महाशाखामा पुगिन् ।

महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङका अनुसार चम्पाको सहयोगमा अहिले पास्टर सन्दीप क्षेत्री (नास्सी माइकल) पक्राउ परेका छन् । अनलाइनमार्फत ठगी गरेको अभियोगमा उनीमाथि अनुसन्धान भइरहेको छ ।

घटना-दुई :
झापा कमल गाउँपालिका–६ स्थायी घर भई काठमाडौँ बस्दै आएका समीर (नाम परिवर्तित) ले फेसबुकमा Career opportunity, Urgent need in Eden solution in Canada लेखिएको विज्ञापन देखे । रोजगारीको अवसर देखेपछि समीरले उक्त विज्ञापनमा भएको ह्वाट्सएप नम्बरमा सम्पर्क गरे ।

क्यानडामा फुड प्याकिङका लागि जागिरको अवसर भएको भन्दै जानका लागि ४ लाख खर्च लाग्ने समीरले जानकारी पाए । त्यसपछि उनले ह्वाट्स एपमार्फत फोटो, पासपोर्ट लगायतका कागजात पठाए । लगत्तै उताबाट अफर लेटर आयो ।

अफर लेटरपछि विभिन्न बहानामा समीरलाई ३ लाख रुपैयाँ पठाउन लगाइयो । ३ लाख पठाएपछि उनी क्यानडा जान भन्दै काठमाडौँ आए । पशुपतिमा मान्छे लिन पठाउने बताइयो । तर, पशुपतिमा समीरलाई लिन कोही आएन । बरु अनलाइनबाट थप रकम मागियो । त्यसपछि समीर गुनासो बोकेर अपराध महाशाखामा पुगे ।

ठगीको उजुरी आएपछि प्रहरीले आईएमईसँग समन्वय गरी समीरलाई पछिल्लोपटक पठाउन भनिएको २० हजार रुपैयाँको नक्कली कोड बनाएर सुशील कुमार भुजेलका नाममा पठायो । तर, रकम लिन सुशीलकुमार भुजेल आएनन् । उनको सट्टामा नगेन्द्र बिक आए । उर्लाबारी इलाका प्रहरी कार्यालयले उनलाई सोधखोज गर्ने क्रममा ठगीको मुख्य योजनाकार मोरङ निवासी प्रवेज आलम रहेको पत्ता लगायो ।

फेसबुक पेजमा झुटो विज्ञापन बनाएर ह्वाट्सएप नम्बर राखेर विभिन्न व्यक्तिहरुको नाममा रकम पठाउन लगाउने र  भौचरको फोटो ह्वाट्स एपमा पठाउन लगाएर विभिन्न व्यक्तिहरुलाई ठगी गर्दै आएका मोरङ सुनवर्षी नगरपालिका–८ का ३७ वर्षीय प्रवेज आलम र पथरी शनिश्चरे–१० घर भएका ३६ वर्षीय नगेन्द्र विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

यी माथिका घटनाहरु अनलाइन ठगीका केही उदाहरण मात्रै भएको एसएसपी खापुङ बताउँछन् । उनका अनुसार अनलाइन ठगीका एउटा वा दुईवटा मात्रै घटना छैनन् । पछिल्लो समय हरेक दिनजसो सर्वसाधारण ठगिन थालेका छन् । उनी भन्छन्, ‘पछिल्लो समय अनलाइन ठगीका अति संवेदनशील एवं फरक–फरक किसिमका घटना आउन थालेका छन् ।

एसएसपी खापुङका अनुसार आगामी दिनमा नेपालीहरु ठगिने पहिलो माध्यम अनलाइन हुन सक्ने खतरा बढ्दै गएको छ । यसले भविष्यमा विकराल रुपसमेत लिन सक्ने खतरा देखिएको छ ।

अनलाइन ठगीबाट शारीरिक शोषणसमेत हुने गरेको एसएसपी खापुङ बताउँछन् । अनलाइनमा भेटिएका अपरिचितसँग प्रेममा लिप्त हुनु र लोभ लाग्नु नै अनलाइन ठगीको मुख्य कारक भएको उनी बताउँछन् । युवतीहरुलाई विभिन्न प्रलोभन देखाएर यौन क्रियाकलापमा संलग्न गराइएका घटना प्रहरीसम्म आउने गरेको भन्दै उनले अनलाइनमा भेटिने र देखिने सबै कुरालाई विश्वास नगर्न सचेत गराए ।

उपहार पठाउने बहाना बनाउने, चिठ्ठा वा लोटरी परेको बताउने, वैदेशिक रोजगारीमा पठाइदिने र जागिर दिलाइदिने बहानामा ठगी हुने गरेको खापुङ बताउँछन् । त्यस्तै सामानहरु सस्तोमा दिने विज्ञापनको बहानामा पनि ठगी हुने गरेको उनी बताउँछन् । सिमकार्डमार्फत हुने ठगीको विषयमा जानकारी दिँदै उनले सिमकार्डमार्फत् विभिन्न सूचना चोरी गरेर बैंकमा रहेको रकमसमेत निकालिएका घटना भएको सुनाए ।

अनलाइन ठगीलाई रोक्नका लागि मोबाइल सेवा प्रदायक कम्पनीसँग सहकार्य गरी रिङब्याक टोन राख्न लागिएको एसएसपी खापुङले बताए । कसैको लालच, लोभमा नफस्न र अपरिचित व्यक्तिलाई सजिलै विश्वास नगर्न सचेत गराउनका लागि मोबाइलमा रिङब्याक टोन राख्ने तयारी भइरहेको उनले रातोपाटीलाई बताए ।

बढ्दो अनलाइन ठगी नियन्त्रणका लागि सबै निकायले साथ दिनुपर्ने पनि खापुङले बताए । सरकारी निकाय, प्रहरी र सम्बन्धित सरोकारवाला निकायहरुले अनलाइन ठगीलाई रोक्न पहल गर्नुपर्ने उनने बताए ।

टेलिभिजन, रेडियो र आमसञ्चार माध्यमबाट अनलाइन ठगीलाई रोक्नेखालका कार्यक्रम उत्पादन तथा प्रकाशन गर्न सके यस्ता ठगी रोकिने एसएसपी खापुङको विश्लेषण छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रतिक्षा भट्ट
प्रतिक्षा भट्ट
लेखकबाट थप