लालबहादुर शास्त्री : होचा कदका अग्ला मानिस

person explore access_timeअसोज १२, २०७८ chat_bubble_outline0

लालबहादुर शास्त्री स्वतन्त्र भारतको दोस्रा प्रधानमन्त्री थिए । शारीरिक दृष्टिले जति होचा थिए वैचारिक दृष्टिले त्यति नै उचा थिए उनी । २ अक्टुवर १९०४ मा भारत यूपीको मुगलसरायमा जन्मेका शास्त्रीजीको मृत्यु ११ जनवरी १९६६ मा रुसको तास्कन्दमा भएको थियो । उनी नेहरुको मृत्युपछि सन् १९६४ देखि १९६६ सम्म करीव १८ महिना भारतको प्रधानमन्त्री भएका थिए । उनको कार्यकाल छोटो भए पनि विशेष किसिमको थियो । उनकै कार्यकालमा पाकिस्तानसित युद्ध भएको थियो, जहाँ पाकिस्तानलाई नराम्ररी हारको स्वाद चखाएका थिए ।   


स्वतन्त्रता आन्दोलनमा करीव अढाई वर्ष जेल जीवन बिताएका शास्त्रीजी भारत स्वतन्त्र भएपछि उत्तर प्रदेश राज्यको पुलिस तथा परिवहनमन्त्री भएका थिए । यतिबेला उनले कुशलतापूर्वक दायित्व निर्वाह गर्नुका साथै केही नयाँ नियम बसाउने कामसमेत गरेका थिए । सर्वप्रथम सवारी साधनमा महिलाले पनि कन्डक्टर हुन सक्ने नियम उनैले बसाएका हुन् । यस बाहेक पहिले आन्दोलनका बेला भीड नियन्त्रण गर्न लाठी, मुङ्ग्री गर्ने चलन थियो तर उनले यसको बदला पानीको फोहरा प्रयोग गर्नुपर्ने नियम बसाए ।



नेहरु सरकारमा गृहमन्त्रालय, सञ्चारमन्त्रालय, रेलमन्त्रालय, परिवहनमन्त्रालय, वाणिज्य तथा उद्योगमन्त्रालय जस्ता थुपै्र केन्दीय मन्त्राल समालिसकेका शास्त्रीजीले जुनजुन पदमा पुगे सबैमा उच्च नैतिकता देखाएका छन् । रेलमन्त्री भएको बेला एउटा रेल दुर्घटना भएको थियो, जसमा उनको दोष थिएन । तथापि नैतिकताको आधारमा पदबाट राजीनामा दिएर उच्च नैतिकता देखाउने काम गरे । त्यतिबेला उनको यस कदमको सबैले खुलेर प्रशंसा गरेका थिए । स्वयं प्रधानमन्त्री नेहरूले समेत प्रशंसा गर्दै भनेका थिए–



‘शास्त्रीजीको राजीनामा कुनै दोषको कारण नभई नैतिकताको नजिर बसाउन स्वीकृत गरेको हुँ ।



शास्त्रीजी हमेशा अधिकार, कर्तव्य र इमान्दारीलाई सँगै लिएर हिँड्थे । जहाँ जाँदा पनि राजकीय काम बाहेक सरकारी सुविधा प्रयोग गर्दैनथे । यहाँसम्म कि प्रधानमन्त्री भएको बेला उनलाई सरकारको तर्फबाट उपलब्ध भएको कारसमेत विशेष राजकीय कामबाहेक अन्य बेला प्रयोग गरेनन् । एकपटक उनका छोरा सुनील शास्त्रीले निजी काममा उक्त कार प्रयोग गरेका रहेछन्, जुन कुरा शास्त्रीले चाल पाएछन् र डाइभरलाई बोलाएर गाडीले हिँडेको किलो मिटर सोधेछन् । जब डाइभरले किलो मिटरको जानकारी दिए तब पत्नीलाई भनेर सचिव मार्फत् प्रतिकिलोमिटर सात पैसाको दरले सरकारी कोषमा रकम दाखिला गर्न लगाएछन् ।



उनले जीवनमा कहिल्यै न आफूले सरकारी सम्पत्तिको दुरुपयोग गरे न अरूलाई गर्नै दिए । सरकारी काम बाहेक सरकारको सामान्य सवारी साधनसम्म प्रयोग गरेनन् । निजी काममा जानुपर्दा हमेशा सार्वजनिक सवारी साधन प्रयोग गर्थे । सरकारी काममै जानुपर्दा पनि सकेसम्म कम सुविधा प्रयोग गर्ने गर्थे । एक पटक रेलमन्त्री भएको बेला कतै जानुपर्दा उनी बसेको रेलको डिब्बामा एयर कन्डिशनको व्यवस्था गरिएको रहेछ । गाडीमा बाहिरको भन्दा बढी चिसो भेटेपछि पिएलाई सोधेछन्–

‘रेलको डिब्बामा बाहिरको भन्दा बढी चिसो छ नि किन ?’

उत्तरमा पिएले भनेछन्–

‘किनकि यहाँ एसीको व्यवस्था गरिएको छ मन्त्रीज्यू !’

त्यसपछि उनले असन्तुष्टि जनाउँदै भनेछन्–

‘कसले गरेको हो यस्तो काम ? जनता गर्मी सहेर यात्रा गरिरहेका छन् भने तिनै जनताले तिरेका करबाट सुखभोग गर्ने हामी को हौँ ? यात्रा त हामीले पनि तृतीय श्रेणीकै डिब्बाबाट गर्नुपर्ने थियो । यतिसम्म त भैगो भनियो तर यसको अर्थ यो होइन कि चाहिनेभन्दा बढी सुविधा भोग गरौँ । जसले गरेको भए पनि राम्रो भएन । तत्कालै हटाउन लगाउनु ।’

यस्तै अर्को घटना पनि उत्तिकै चासो पर्दो छ । एक पटक रेलमन्त्री भएकै बेला सरकारी कामले कतै जाँदै रहेछन् । उनका निम्ति प्रथम श्रेणीको टिकट व्यवस्था गरिएको थियो तर उनी चड्दा उनको सिटमा एक जना बिरामी सुतिरहेका रहेछन् । उनले यताउता हेरेछन् र केही  नभनी आफ्नो टिकट बिरामीलाई दिएर बिरामीको तेस्रो श्रेणीको टिकट आफूले लिएछन् र सिटमा गएर सुतेछन् । थकाइका कारण सुत्नासाथ निदाएछन् पनि । कन्डक्टरले सिटमा मानिस सुतेको देखेर हप्काउँदै उठाएछन् । उनलाई देख्ने बित्तिकै कन्डक्टरले रातोपीरो हुँदै प्रथम श्रेणीको सिटमा लान खोज्दा उनले भनेछन्–

‘सुत्न देउन भाइ ! किन निद्रा खराब गर्छौ ?’

यति भनी उनी च्यादर तानेर ओडेछन् घुर्न लागेछन् । कन्डक्टर हेरेकोहे–यै भएछन् ।

त्यस्तै अर्को एक घटना पनि उत्तिकै मननीय छ । एक पटक गृहमन्त्री भएको बेला एकजना मित्रले आएर भनेछन्–

‘शास्त्रीजी ! छोरो प्रहरी इन्स्पेक्टरमा भर्ना हुन चाहन्छ तर आधा इञ्ची उचाइ पुगेन, भनिदिनुप–यो ।’

मित्रको कुरा सुनेपछि शास्त्रीजीले भनेछन्–

‘उचाइ पुग्दैन भने तपाईँको छोराले मात्र होइन मित्र ! म आफैँ पनि भर्ना हुन सक्दिन ।’

त्यसपछि मित्रले रिसाउँदै भनेछन्–

‘उचाइकै कुरा गर्नुहुन्छ भने तपाईँ पनि कहाँ अग्लो हुनुहुन्छ र । तपाईँ होचो भएर पनि गृहमन्त्री हुनसक्नुहुन्छ भने मेरो छोरो इन्स्पेक्टर हुन किन नसक्ने ? उसको उचाइ जम्मा आधा इञ्ची नपुगेको न हो ।’

उनको कुरा सुनेर शास्त्रीजीले मुस्कुराउँदै भनेछन्–

‘हो, उचाइ नपुगेपछि म पनि इन्स्पेक्टर बन्न सक्दिन तर तपाईँको छोरा भने एक दिन गृहमन्त्री बन्न सक्छन् ।’

त्यसपछि मित्र रातो मुख लगाउँदै घरतिर हिँडेछन् ।

शास्त्रीजीका जीवनमा यस्ता अनगन्ती घटना छन्, जसले उनको सादगी र इमान्दारीको प्रमाण दिन्छ । हाल उनी त छैनन् तर उनको चर्चा भने अहिले पनि बरोबर भइरहन्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।