शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती साक्षर प्रदेश घोषित

सोमबार, ११ असोज २०७८, १८ : १२
सोमबार, ११ असोज २०७८

बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा सोमबार हेटौंडामा एक कार्यक्रमका बीच प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले साक्षर प्रदेश घोषणा गरेकी हुन् । प्रदेशको १३ जिल्लाको १५ देखि ६० वर्ष उमेर समूहका साक्षर नागरिकहरुको संख्या औषतमा ९७.३३ प्रतिशत रहेकाले साक्षर प्रदेश घोषणा गरिएको बागमती प्रदेश शिक्षा निर्देशनालय हेटौंडाका निर्देशक चन्द्रप्रसाद लुइटेलले जानकारी दिए ।

युनेस्कोको परिभाषा अनुसार बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको उनले बताए ।  १५ देखि ६० वर्ष उमेर समूहका नागरिकको संख्या न्यूनतम ९५ प्रतिशत पुगेपछि कुनैपनि देश, प्रदेश वा स्थानीय तहले साक्षर क्षेत्र घोषणा गर्न सक्ने युनेस्कोको प्रावधान रहेको उनले बताए ।  साक्षर प्रदेश घोषणा सन्देश र मार्ग निर्देशन भएकाले यसको निरन्तरता र वृद्धिदर प्रदेश सरकारको चुनौतीको विषय रहेको उनले बताए ।

प्रदेश सरकारले संघीय सरकार र स्थानीय तहहरुसंग समन्वय गरेर साक्षर उमेर समूहका व्यक्तिको निरन्तर सिकाइका कार्यक्रम र सिप विकासमा जोड दिनुपर्ने उनले बताए ।  बागमती प्रदेशका १५ वर्ष मुनिका र ६० वर्ष भन्दा माथिकासहित गरेर ४५ हजार ३४५ जना व्यक्तिहरु निरक्षर रहेकाले उनीहरुको लागि पनि तिनै तहका सरकारले क्षमता विकास र सिप सिकाइका योजनाहरु लागु गरी औपचारिक शिक्षामा जोड्नु पर्ने उनको भनाइ छ ।

वर्तमान समयमा साक्षरताको परिभाषा विद्यालयको शिक्षामा मात्र सीमित नहुने भएकाले सिप विकास र जीविकोपार्जनको लागि क्षमता विकासमा अबको साक्षरता अभियान केन्द्रीत हुनुपर्ने निर्देशक लुइँटेलले बताए ।

सृजनात्मक साक्षर अभियानमा लाग्न मुख्यमन्त्री शाक्यको निर्देशन

प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्दै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सृजनात्मक रुपमा साक्षर प्रदेशको अभियानमा लाग्न र प्रदेशभर सक्रिय रुपमा अभियान अगाडी बढाउन निर्देशन दिएकी छिन् ।  प्रदेशका हरेक क्षेत्रमा शिक्षा र सिप विकासको कार्यक्रम संचालन गर्न मुख्यमन्त्री शाक्यले जोड दिइन् ।

‘बागमती प्रदेश साक्षर प्रदेश घोषणा भएपनि पूर्ण साक्षर भएको छैन् । प्रदेशका हरेक नागरिकहरु साक्षर हुन जरुरी छ । बागमती प्रदेश सतप्रतिशत साक्षर गराउनका लागि सबै स्थानीय तह, जिल्ला समन्वय समितिहरु लाग्नुपर्छ ।’ उनले भनिन् ।

कुनै समय महिलाहरु बेलुकाको समयमा प्रौढ कक्षा पढ्नुपर्ने बाध्यता रहेको भएपनि हाल बागमती प्रदेशमा सो अवस्था नरहेको उनले बताइन् ।  प्रदेशको हरेका जिल्लास्तरबाट सबै अभियन्ताहरु साक्षर अभियानमा लाग्नु पर्ने समय आएकाले समन्वयात्मक भुमिका निर्वाह गर्न सम्बन्धित सरोकारवाला पक्षलाई मुख्यमन्त्री शाक्यले निर्देशनसमेत दिइन् ।

घोषणा गर्नु अन्त्य नभएको भन्दै मुख्यमन्त्री शाक्यले यसको कार्यान्वयनको निरन्तरतामा लाग्नुपर्ने बताइन् । प्रदेशका सबै स्थानीयतहमा शान्तिपूर्ण र विभेद रहित तवरमा शिक्षण सिकाई हुनुपर्ने भन्दै आगामी योजना समृद्ध नेपाल निर्माण गर्नुभएको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप