शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले सांसदको नाराबाजीपछि सभामुखले सम्झाए संविधानको धारा १०५

सोमबार, ११ असोज २०७८, १५ : ०१
सोमबार, ११ असोज २०७८

सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदहरुलाई संविधानको धारा १०५ को स्मरण गराएका छन् । सोमबार एमाले सांसदहरुले प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्दै सभामुख विरुद्ध नाराबाजी गरेपछि उनले मुद्धा अदालतमा विचाराधीन रहेकाले मुद्दालाई प्रतिकुल पार्नेगरी छलफल हुन नसक्ने धारणा राखे । 

अति आवश्यक विधेयकहरु पारित गरेर जानुपर्ने भएकाले पनि संसद बैठक अवरुद्ध पारिरहन नहुने उल्लेख सापकोटाले गरे । ‘नेपालको संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्धाहरुमा न्याय निरुपणमा प्रतिकूल असर पर्ने विषयमाथि संघीय संसदको कुनै पनि सदनमा छलफल गर्न बन्देज गरेको कुरा पुनः स्मरण गराउन चाहन्छु ’, उनले भने, ‘प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को खण्ड ग, घ का प्रावधानहरु हामीले सबैले पालना गर्नुपर्ने प्रावधानहरु हुन । उल्लेखित प्रावधानहरु पालनाका लागि पुनः अनुरोध गर्दछु ।’

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त नगरेर सभामुख सापकोटाले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए ।  सोही मुद्धा अदालतमा विचाराधीन रहेकाले न्याय निरुपणमा प्रतिकूल असर हुने गरी संसदमा ती विषयमा छलफल गर्न लगाउने नमिल्ने सभामुख सापकोटाको तर्क छ ।

सभामुख सापकोटाले बैठक सुचारु गराउन गरेको आग्रहलाई एमालेका सांसदहरुलाई अस्विकार गर्दै बेलमा नाराबाजी गरिरहे । यसैबीच सभामुख सापकोटाले राष्ट्रपति विद्या भण्डारीले प्रमाणीकरण गरेर संसदमा पठाउनु भएको विनियोजन विधेयक २०७८ पढेर सुनाउनु भयो । त्यसैगरी बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बारे बैठकलाई जानकारी गराए । प्रतिनिधिसभाको अर्को बैठक असोज १४ गते बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप