उपभोक्ता समिति : समृद्धिको बाधक कि साधक ?
समृद्धि हामी सबैको शान हो । समृद्धिका खातिर सुन्दर योजना आएका छन् । समसामयिक र समावेशी कार्यक्रम पनि ल्याइएको छ । आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक लगायतका विषयहरूमा गुणात्मक परिवर्तन आउनु समृद्धि हो ।
समृद्धि आफैं हुँदैन । समृद्धि समान हिसावले सरल पनि हुनु पर्दछ । केवल नारामा सीमित रहनुहुँदैन । साविकको भन्दा सबै क्षेत्रमा सकारात्मक वृद्धि भएको अवस्थालाई समृद्धि भनिन्छ । समृद्धि सारा जनताले महसुस गर्ने खालको हुनुपर्छ । यसका लागि जनताका स‐ साना समूहमा साना साना कामले नै खासमा समृद्धिको जग बलियो बन्छ । त्यस्ता समूह भनेका उपभोक्ता समूह हुन् ।
अहिलेका साढे सात सय बढी स्थानीय तहका ६ हजार सात सय बढी वडामा उपभोक्ता समितिहरु क्रियाशील छन् । एउटा वडामा हाराहारी ३० देखि ४० को संख्यामा उपभोक्ता समिति गठन भएको पाइन्छ । यस्ता उपभोक्ता समितिलाई थुप्रै खालका आरोप नलागेका पनि होइनन् । तर, अनेक खालका विकल्पहरू भए तापनि यसको प्रयोगमा कुनै कमी आएको छैन ।
उपभोक्ता समिति भनेको उल्लेख्य रुपमा काम गर्ने स्थानीय जागरुक समूह हो । यो पक्षपात रहित ढंगबाट सञ्चालित हुनुपर्छ । यसले आफ्नो कामलाई भोक तिर्खा नभनी कार्यसम्पादन गर्दछ र सबैसँग तारतम्य मिलाएर अगाडि बढ्छ भने सरसल्लाह र समन्वयलाई आत्मसात गर्दछ । तोकिएको बजेटको सीमाभित्र रहेर मितव्ययी तरिकाले खर्च व्यवस्थापनमा लाग्छ । कार्यादेश बमोजिम तीब्र गतिमा आफ्नो जिम्मेवारी पूरा गर्छ, गर्नुपर्छ ।
उपभोक्ता समितिका मुख्य काम कर्तव्यहरूमा आयोजना सम्झौता बमोजिमको कार्य सम्पादन गर्ने¸ उपभोक्ताहरूलाई कार्यालयबाट प्राप्त सूचना तथा मार्गदर्शनको जानकारी गराउने¸ कार्य शुरु गर्दा कार्यालयबाट निर्देशन प्राप्त गर्नुपर्ने भए प्राप्त गरेर मात्र सुरु गर्ने हुन् । त्यसैगरी आफ्नो कार्य सम्पादनलाई प्रभावकारी बनाउन समितिका सदस्यहरूको कार्य विभाजन र जिम्मेवारी बाँडफाँड गर्ने, आफ्ना सदस्यहरुको क्षमता विकास गर्ने¸ सम्झौता बमोजिमको कामको परिमाण, गुणस्तर, समय र लागतमा परिवर्तन गर्नुपर्ने देखिएमा कार्यालयलाई अनुरोध गर्ने तथा आयोजनाको दिगो व्यवस्थापन सम्बन्धी आवश्यक अन्य कार्य गर्ने रहेका छन् ।
यसै तवरले आफ्नो दायित्वभित्र रहेर पनि केही काम कारवाही गर्नुपर्ने हुन्छ । आयोजनाको दिगो व्यवस्थापनको लागि मर्मत सम्भार गर्ने सम्बन्धी आवश्यक कार्य गर्ने, आयोजना कार्यान्वयनबाट पर्न सक्ने वातावरणीय सन्तुलन कायम गर्ने सम्बन्धी कार्य गर्ने, अन्य आयोजनाहरुसँग अन्तरसम्बन्ध कायम गर्ने, असल नागरिकको आचरण पालना गर्नुपर्ने, आफ्नो आयोजनाको फरफारकका लागि कार्यालयमा कागजात पेश गर्ने एवं तोकिए बमोजिमको ढाँचामा आयोजनाको भौतिक तथा वित्तीय प्रतिवेदन पेश गर्ने आदि पर्दछन् ।
उपभोक्ता समितिलाई आमरुपमा केही आरोपहरू लाग्ने गरेको सुनिन्छ । जस्तै– यसले बिचौलियाको काम गर्छ । सधैं ऋण मात्र देखाउँछ । श्रमदान नाम मात्रको देखाउँछ । गुणस्तरीय काम गर्न सक्दैन । राजनैतिक भागबण्डामा रमाउँछ वा कतै एकलौटी पनि गर्दछ । स्थानीय सीपको प्रयोग हुँदैन आदि ।
निर्वाचित जनप्रतिनिधिहरू, राजनैतिक दलका पदाधिकारी, सरकारी कर्मचारीहरू तथा शिक्षण पेसाका कर्मचारीहरूलाई उपभोक्ता समितिमा राख्न नपाइने व्यवस्था विपरीत पनि अप्रत्यक्ष रुपमा राखेर काम गरे÷गराएको पनि पाइन्छ । आज यस्ता आरोपलाई आम उपभोक्ताहरूले न्यूनीकरण गर्नु जरुरी छ ।
खास विकास चाहिएको गाउँमा नै हो । गाउँमा विकास गर्ने अगुवा भनेकै उपभोग गर्नेवाला नै हुन् । उपभोग गर्नेहरूमध्येबाटै उपभोक्ता समिति बन्छ । यिनीहरूले सबै प्रकारका विकासका काम गर्दछन् । यस्ता विकासको वृद्धि उपभोक्ता समितिबाटै हुने देखिन्छ । सबै उपभोक्ता समितिहरूबाट भए गरेका सम्पूर्ण कामहरूको समष्टि नै समृद्धिको सूचक हो । यस्ता सूचकमा सहयोग गर्नका लागि गाउँ गाउँमा उपभोक्ता समितिहरु बाह्रै महिना क्रियाशील रहेको पाइन्छ । यसैले उपभोक्ता समितिलाई समृद्धिका सम्वाहक भन्न सकिन्छ ।
यिनीहरूले सबैजसो विकासका कामहरू गरेकै छन् । राम्रो तरिकाले सम्पन्न भएका योजनाले गाउँ–गाउँमा समृद्धिको खाका कोरेको देखिन्छ । यस अर्थमा उपभोक्तालाई समृद्धिका सम्वाहक मान्न सकिन्छ । जसले जुन कुरा प्रयोग गर्ने हो, उसैको मातहतमा रही निर्माण वा कार्यान्वयन गर्ने समूह नै उपभोक्ता समूह हो । यो पहिलो गणतान्त्रिक निर्वाचित जनप्रतिनिधिको कार्यकालमा समृद्धिको जग थाप्ने काम उपभोक्ता समितिहरूले गरेका छन् ।
( घर्ती बगनासकाली गाउँपालिका, पाल्पाका प्रमुख प्रशासकीय अधिकृत हुन् )