शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अदालतले नचिनेको अपहरणको अभियुक्त : सर्लाहीबाट नागरिकता लिएको प्रमाण भेटियो

सोमबार, ११ असोज २०७८, १४ : २१
सोमबार, ११ असोज २०७८

अपहरण मुद्दाका प्रतिवादी र पक्राउ परेका व्यक्ति फरक–फरक रहेको भन्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलाले सफाइ दिएका अभियुक्त भारतीय नभएर नेपाली नागरिक नै भएको पुष्टि भएको छ । व्यवसायी बाबुराजा रावलको अपहरणमा संलग्न रहेका आरोपित व्यक्ति नेपाली नागरिक दुर्गाबहादुर बुढाथोकी नै भएको पुष्टि भएको हो ।

२०६५ साल पुस १ गते साँझ बालाजु औद्योगिक क्षेत्र हाताबाट अपहरणमा परेका बाबुराजा रावलका बुवा हरिकृष्ण रावलले दिएको जाहेरीका आधारमा अपहरणकारीको समूहमाथि काठमाडौं जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक मुद्दा चलेको थियो । उक्त मुद्दामा प्रह्लाद महत, विष्णु जिसी, टासी गुरुङ, विकास कार्की लगायतका प्रतिवादीहरु तत्कालै पक्राउ परी उनीहरुमाथि मुद्दा चलेर दोषी ठहरसमेत भइसकेको थियो । घटनामा संलग्न भए पनि सोले र कुमार बुढाथोकी उपनाम भएका दुर्गा बहादुर बुढाथोकी भने घटनालगत्तै फरार भएका थिए ।

फरार अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले २०७७ साल पुस १४ गते भारतको दार्जिलिङ पुगेर पक्राउ गरी नेपाल ल्याएको थियो । पक्राउलगत्तै सीआइबीले बुढाथोकीलाई महानगरीय प्रहरी परिसरमा बुझाएको थियो । र, २०७७ साल माघ ११ गते सरकारी वकिलमार्फत काठमाडौं जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक मुद्दामा अभियोगपत्र दर्ता भएको थियो ।

​तर, पहिले ‘तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्ने नदेखिएको’ भन्दै थुनामा पठाएका न्यायाधीश निरौलाले पछि घटनामा संलग्न व्यक्ति र पक्राउ परेका व्यक्ति एकै हुन् भन्ने यकिन नभएको र फरक व्यक्ति हुन सक्ने भन्दै बुढाथोकीलाई सफाई दिएका थिए । जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले असोज ५ गते अभियोग दावी नपुग्ने भन्दै सफाई दिएको हो ।

वकिल राखेपछि अभियुक्तले फेरेका थिए बयान

प्रतिवादी बनाइएका दुर्गाबहादुर बुढाथोकीले मुद्दा अदालतमा पुगेलगत्तै वकिल राखे । बुढाथोकीले अधिवक्ता पुष्पराज उप्रेती र वरिष्ठ अधिवक्ता लव कुमार मैनालीलाई आफ्नो वकिल बनाए, उनीहरुसँग कुराकानी गरे । अनि न्यायाधीशसमक्ष दिने बयानमा एकाएक उनको नाम परिवर्तन भयो । अनि, सोले वा कुमार बुढाथोकी भन्ने व्यक्ति एकाएक प्रकाश क्षेत्री बने ।

 


 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौला समक्ष प्रतिवादी बुढाथोकीले बयान दिँदा आफ्नो नाम थर, ठेगाना, उमेर आदि सबै फरक रहेको बयान दिएका छन् । बयानसँगै उनले भारतीय आधार कार्ड, प्यान नम्बर कार्डको फोटो पनि पनि पेस गरेका छन् । उनी आफू भारतीय नागरिक प्रकाश क्षेत्री भएको बयान दिँदै कागजात पेस गरेका थिए । तर उनले बनाएको प्यान कार्डको मिति भने २१ मे २०१७ थियो ।

त्यही आधारमा न्यायाधीश निरौलाले सफाई दिएका व्यक्तिको सनाखत बुढाथोकीकै घर रहेको वडाका वडाध्यक्ष ङेमा लामामार्फत रातोपाटीले गराइसकेको थियो । रातोपाटीले वडाअध्यक्षसँग सनाखत गराउँदा थुनामा पठाइएका व्यक्ति र सोले भन्ने दुर्गा बहादुर बुढाथोकी एकै व्यक्ति भएको पुष्टी भएको थियो ।

त्यतिबेला वडाध्यक्षले दुवै नाम गरेका व्यक्ति एउटै भएको बताएका थिए । त्यतिबेला वडाध्यक्षले ङेमा लामाले भनेका थिए ‘तपाईले पठाउनुभएको फोटो हेरेँ । त्यो व्यक्ति मेरै टोलको हो । हामी उसलाई सोले वा कुमार भनेर चिन्थ्यौँ । खास नामचाहिँ दुर्गा बहादुर बुढाथोकी हो । फोटो दुर्गाको नै हो र उसको परिवार अहिले हरिवन नगरपालिकाको वडा नम्बर ५ मा पर्ने नयाँरोडमा बस्छ । आर्थिक अवस्था पहिले पनि राम्रो नै भएको परिवार हो । दुर्गाचाहिँ अहिले दार्जिलिङमा बस्छ भन्ने सुनेको छु । अपहरणको मुद्दाको फरार अभियुक्त हो भन्ने थाहा थियो । पछि नेपाल पुलिसले दार्जीलिङबाटै पक्रेर ल्यायो रे भन्ने सुनेको हुँ ।’

दुर्गाबहादुरले नागरिकता लिएको पुष्टि

यसैबीच, सोले भन्ने कुमार बुढाथोकीले अधिकार प्राप्त अधिकारीसमक्ष दिएको बयानजस्तै उनले सर्लाही जिल्लाबाट नागरिकता लिएको प्रमाण रातोपाटीले फेला पारेको छ । रातोपाटीलाई प्राप्त प्रमाणमा दुर्गा बहादुरले ५४९८०३०१ नम्बरबाट नागरिकता लिएको पाइएको छ ।

इलाका प्रशासन कार्यालय हरिवन सर्लाहीका अनुसार बुढाथोकीको जन्म २०३९ साल भदौ २० गते रहेको पाइएको छ । त्यसैगरी उनले २०५६ साल साउन २८ गते वंशजका आधारमा नागरिकता लिएका छन् । उनका बुवाको नाम कृतिबहादुर बुढाथोकी रहेको छ भने साविकको ढुङ्ग्रेखोला ५, सर्लाहीको ठेगानाबाट नागरिकता बनाएका छन् । उनलाई नागरिकता दिने व्यक्ति खड्गराज शर्मा हुन् र उनी शाखा अधिकृत रहेका थिए ।

हेर्नुहोस् प्रमाण

त्यसैगरी, नागरिकताको ढड्डामा पनि उनले सनाखत गरेका छन् भने उनले प्रयोग गरेको फोटो र हालका प्रकाश क्षेत्री बनाइएका दुर्गा बहादुर बुढाथोकीको फोटो पनि हुबहु मिल्ने देखिएको छ ।

अभियुक्तले स्वीकार गरेका थिए अपराध

प्रतिवादी सोले, कुमार भन्ने दुर्गाबहादुर बुढाथोकीले प्रहरी र सरकारी वकिलसमक्ष दिएको बयानमा बाबुराजा रावल अपहरण एवं शरीर बन्धक मुद्दामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका थिए ।

सीआइबीको टोलीले दार्जीलिङबाट ल्याउँदै गर्दा आफ्नै प्रयोजनका लागि लिएको भिडियो (अनअफिसियल) र सरकारी वकिलसमक्ष लिएको भिडियो अन्तरवार्तामा पनि आफ्नो संलग्नताबारे खुलेर बोलेका छन् । भिडियोमा प्रतिवादीले हाँसीहाँसी बयान दिएको देखिन्छ । उक्त बयानमा उनले उक्त घटनाभन्दा बाहिरका केही अपराधका घटनाबारे पनि बयान दिएका छन् ।

सीआइबीले पक्राउ गरिसकेपछि २०७७ साल पुस १९ गते जिल्ला सरकारी वकिल कार्यालय बबरमहल काठमाडौंमा जिल्ला न्यायाधिवक्ता सुदीपकुमार दंगालसमक्ष महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक नानीकाजी थापाले बुढाथोकीसँग वयान लिएका थिए । त्यसबेला पनि भिडियोसहितको बयान लिइएको थियो । बयानमा बुढाथोकीले अपहरणको घटनामा आफ्नो संलग्नता के कसरी थियो भन्ने उल्लेख गरेका छन् ।

बयानको सुरुआतमै प्रतिवादीले शारीरिक तथा मानसिक अवस्था कस्तो छ र बयान दिन सक्नुहुन्छ भनी सोधिएको छ । जवाफमा प्रतिवादी बुढाथोकीले आफू ठीक भएको र बयान दिन सक्ने अवस्थामा रहेका बताएका छन् । बयानका क्रममा प्रतिवादीलाई बाजे, बुवा–आमाको नामथर, वतन, पेश, धर्म, राष्ट्रियता आदि खुलाउन भनिएको छ ।

जवाफमा बूढाथोकीले यस्तो बयान लेखाएका छन् –

बाजेको नाम थाहा छैन । बुवाको शम्भु बुढाथोकी, आमाको चिनामाया बुढाथोकी र मेरो नाम दुर्गा बहादुर बुढाथोकी, उपनाम कुमार हो । साथीहरुले सोले पनि भन्ने गर्छन् । वतन सर्लाही जिल्ला साविक ढुङ्ग्रेखोला गाविस वडा नम्बर ५ र हालको बागमती नगरपालिका वडा नम्बर २ डुम्री टोलमा हो । ऐ जिल्ला हरिवन नगरपालिका वडा नम्बर ५ नयाँरोडमा घर बनाई परिवारसहित बस्छौँ । म हाल भारत दार्जीलिङमा बस्छु । वर्ष ३८ को भएँ । एसएलसी पास गरेको छु । हिन्दु धर्म मान्छु । भारत दार्जीलिङमा कपडाको व्यापार गर्छु । नेपाली हुँ । जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट नागरिकता र राहदानी लिएको छु, नम्बर थाहा छैन । श्रीमती, छोरा र मसमेतको परिवार छ । पारिवारिक तथा आर्थिक अवस्था सामान्य छ । सम्पर्क नम्बर छैन, प्रकाश क्षेत्री नामको फेसबुक चलाउँछु, अन्य सामाजिक सञ्जाल चलाउँदिनँ । गहुँ गोरो वर्ण, मझौला शरीर, ५ फिट ६ इञ्च उचाई, घाँटीमा कोठी भएको मेरो हुलिया छ ।’

सरकारी वकिलसमक्ष लिइएको बयानको सवाल नम्बर ९ मा बाबुराजा रावलको अपहरणको सम्बन्धमा के कसो भएको हो, खुलाइदिनु भनी सोधिएको छ । जवाफमा बुढाथोकीले यस्तो लेखाएका छन्– ‘प्रल्हाद महत, विष्णु जीसी, टासी गुरुङ, विकास कार्की र म समेतको संलग्नतामा मिति २०६५ पुस १ गते साँझ काठमाडौं बालाजु औद्योगिक क्षेत्र नजिकबाट हरिकृष्ण रावलको छोरा बाबुराजा रावललाई अपहरण गरी बन्धक बनाई हरिकृष्ण रावलमार्फत् १ करोड ५० लाख रुपैयाँ फिरौती लिई मिति २०६५ पुस २ गते साँझ बाबुराजा रावललाई अपहरण मुक्त गरिएको हो ।’

अपहरणको योजना कसरी बन्यो भन्ने सरकारी वकिलको सवालमा बढाथोकीले प्रल्हाद महत, विष्णु जीसी, टासी गुरुङ, विकास कार्की समेतले बाबुराजा रावललाई अपहरण गर्ने योजना बनाइसकेको, निजहरुमध्येको विकासबहादुर कार्कीसँग आफ्नो पूर्वचिनजान रहेको र उसले आफूलाई प्रल्हाद महत, टासी गुरुङ । विष्णु जिसीसँग भेट गराई परिचय गराएको बताएका छन् । भेटघाटपछि रावललाई बन्धक बनाउने घरको चौकीदार तथा रेखदेख गर्ने जिम्मा आफूलाई दिएको र सोहीअनुसारको जिम्मेवारी आफूले लिएको बताएका छन् ।

तर, यति धेरै सबुत र प्रमाण हुँदाहुँदै पनि काठमाडौं जिल्ला अदालतले अभियोग दावी नपुग्ने र फरकफरक व्यक्ति भएको भन्दै बुढाथोकीलाई सफाइ दिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप